कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना, मीरा र सानोदुम्मा

मीराको आँखा रसायो, माहोल यस्तो बन्यो कि मिनीबसमा पुगेको टोलीलाई कोरोना संक्रमित भइसकेको छ 
राजु घिसिङ

सानोदुम्मा, भोजपुर — काठमाडौं उपत्यका छाडेको केही घण्टामात्रै भएको थियो । बाइरोडको बाटो हुँदै भोजपुरतर्फ लाग्दै थिइन् । सिन्धुलीगढी नजिक पुग्दा मीरा राईलाई गाउँबाट फोन आयो । फोन वार्तापछि उनले भनिन्, ‘के गर्ने ? कसो गर्ने ? गाउँ आएर हेर्नुपर्छ भन्ने कुरा आयो ।’ फोन नकाटिँदै उनको अनुहारको रङ फेरिइसकेको थियो, फिक्का बन्दै गएको थियो ।

कोरोना, मीरा र सानोदुम्मा

अरु बेला हरेक भेटका दृढ आत्मविश्वासले भरिने उनको स्वर पनि केही मलिन बन्यो । कोटेश्वरबाट हुइँकिएको करिब २४ घण्टापछि पुगियो मीराको जन्मस्थल सानो दुम्मा । यस बेलासम्म मिनी बसले बाइरोड हुँदै धरान, हिले, पाख्रिबास, उनको गृहजिल्ला भोजपुरको जरायोटार, तिवारी भञ्ज्याङ र च्यांग्रे पार गरिसकेको थियो । बीचबीचमा मीराले सडक विस्तारअघि लेगुवा खोलाको पुल तरेर ५–६ घण्टाको पैदलमा घर पुगेको र थाप्लोमा नाम्लो थाम्दै नुन–तेलका लागि दुई दिनमा हिले बजार ओहोरदोहोर गरेको आफ्नो बाल्यकाल सुनाइरहेकी थिइन् ।


जिल्ला र देशबाटै आफूजस्तै साहसिक खेलाडी उत्पादन गर्न मीरा राई इनिसिएटिभ र मीरा राई फाउन्डेसनसँगै व्यक्तिगत रूपमै पनि गरिरहेको सहयोगबारे उनी भावनामा चुर्लुम्मै डुबेर कुरा गर्थिन् ।साँझ घाम डुब्न लागेको थियो । मिनी बस रोकियो । थर्पु निमावि छेवैमा निर्मित मीरा राई सामुदायिक विकास केन्द्र भवनको ‘फिनिसिङ’ भइरहेको थियो । त्यसैको प्रांगणमा काठमाडौंबाट निस्किएको ३० जनाको टोली ओर्लियो । स्थानीय युवाहरू भवन तल्तिर सम्याइएको मैदानमा फुटबल खेलिरहेका थिए, जहाँ घाँसको नमूना पनि देख्न पाइएन । सामुदायिक भवनअगाडि फाउन्डेसनका पदाधिकारी र काठमाडौंको टोली भेला भए । गाउँका गन्यमान्य थपिए ।


‘अब के गर्ने ? गाह्रो भयो । गेम (दौड) रोक्नैपर्ने भयो । हामी सरकारको खिलाफमा जान सक्दैनौं । यहाँ सरकार भनेकै स्थानीय जनप्रतिनिधि हुन् । उनीहरूको आदेश मान्नैपर्छ, नमान्ने हिम्मत हामी गर्न सक्दैनौं,’ फाउन्डेसनका अध्यक्ष खेमराज राईले भने । केहीबेरमै घाम अस्तायो । उसै गरी मीराको अनुहारको रङ पनि उडेजस्तो लाग्यो । उनी पूरै दोधारमा परिन् । सँगै पुगेका १७ धावक र सहयोगीहरू पनि दोमनमा परे ।




‘हामी काठमाडौंबाट सबै तयारी गरेर आइसक्यौं । गर्नुपर्ने सबै तयारी र काम गरिसक्यौं । अब गेम (दौड) मात्रै बाँकी छ । ५० किलो (किलोमिटर) नभए पनि गेमलाई निरन्तरता दिन १० किमिको दौड गर्नुपर्ला,’ मीरा बोलिन् । उनले के यत्ति बोलेकी थिइन्, ठूलाबडाहरूले भनिहाले, ‘हामी चाहिँ सरकारको खिलाफमा जाँदैनौं । गाउँमा कोरोना (नोभल कोरोना भाइरस) को कारण गाउँपालिकाले कार्यक्रम नगर्न आदेश दिँदै छ, केहीबेरमा त्यो निर्णय आउँछ । तिमीहरू गर्छौं भने हामी केही भन्दैनौं ।’ भोजपुर ट्रेल रेसको पाँचौं संस्करण गर्ने–नगर्नेबारे चर्काचर्कीजस्तै छलफल चलिरहेको थियो ।


झिसमिसे अँध्यारोमा एक स्थानीयले पाउँपालिकाको निर्णय भन्दै नेपाली कागज हातमा हल्लाउँदै ल्याए, जसमा लेखिएको थियो– नोबल कोरोना भाइरस महामारीको रूपमा फैलिइ विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गरेकोमा उक्त भाइरसको संक्रमणबाट बच्न जात्रा, पर्व, मेला, महोत्सव, सभा, समारोहलगायत भीडभाड हुने पूर्वनिर्धारित कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरिन्छ । त्यसअघि सरकारले पनि सावधानी अपनाउन सचेत गराउँदै आफ्नो निकायहरूलाई पत्राचार गरेको थियो ।


सरकार र स्वास्थ्य मन्त्रालयले ‘कोभिड १९’ को संक्रमणबाट बच्न सचेत गराएको थियो, अनुरोध गरेको थियो । तर, त्यो आग्रह पौवादुङ्मा गाउँपालिका पुग्दा भने आदेश बन्यो । दुई दिनअघि गाउँपालिकाले गरेको त्यो आदेशले फागुन २४ लाई तयारी गरिएको पाँचौं भोजपुर ट्रेल रेस तत्कालै रोकियो । भोजपुर आइरहेका धावकको फोन मीरा र उनको समूहलाई निरन्तर आइरहेको थियो । उनीहरू बीच बाटोबाटै फर्किन भनिरहेका थिए ।


स्थानीय धावकलाई दिन लगिएको ४ सय जोर जुत्ता, टी–सर्टलगायत अरु सामग्री गाउँमै थन्क्याउँदै आयोजक टोलीले छोटो दौडका लागि भए पनि एकपल्ट आग्रह गर्न गाउँपालिकाको च्यांग्रेस्थित कार्यालय जाने र प्रस्ताव इन्कार गरिए क्यारमबोर्डमा टंकी हानेजस्तै काठमाडौं फिर्ने निधो गर्‍यो । गाउँपालिका अध्यक्ष किरण राईले सुरुमा कुरा सुने । २० लाख बढी बजेटको भोजपुर ट्रेल रेसबारे आयोजक मीरा राई इनिसिएटिभकी कार्यक्रम संयोजक सन्जु जीसीले भनिन्, ‘हामी आएका छौं । स्थानीय जुटेका छन् ।


खेलाडीहरू आइसके । सबै तयार छन् । लाखौं खर्च भइसक्यो । अब दौड नगर्दा पनि जोगिने भनेको पुरस्कारमात्रै हो । त्यसैले संस्करणलाई निरन्तरता दिन ५० किमि नगरी १० किमिको दौडमात्रै भए पनि गरौं न ।’ तर, उनका शब्दहरू हलभित्र तत्कालै बिलाइ गयो । करिब २० मिनेट दिइएको समयको अन्त्यमा अध्यक्ष राई १ मिनेटजति बोले, ‘अहिले हुँदैन, कार्यक्रम सोच्न पनि सकिँदैन । हिजोमात्रै स्वास्थ्य सिविर रोक्यौं । कोरोना संक्रमण भयो भने के गर्ने ? कसले जिम्मा लिने ? बच्नतिर जाऔं, कार्यक्रम गर्नेमा होइन ।’


आँसुको मूल्य


अध्यक्ष बैठक हलबाट बाहिरिए । मीराको आँखा रसायो । माहोल यस्तो बन्यो कि मिनी बसमा पुगेको टोलीलाई कोरोना संक्रमित भइसकेको छ । गत पुसमा चीनको वुहानबाट सुरु यो भाइरसको परीक्षणमा हालसम्मै एक नेपालीमात्रै संक्रमित भेटियो र उनी पनि संक्रमणमुक्त भइसकेका छन् । तर, भोजपुरको माहोल देश कोरोनामुक्त होइन, भाइरसले पुरै खाइसके जस्तो थियो ।


गाउँपालिकाबाट लगत्तै च्यांग्रेमा घोषणा गरिएको मीरा राई अन्तर्राष्ट्रिय रंगशाला क्षेत्रमा पुगियो । डाँडामा जमिन सम्याउने काम पनि सकिएको छैन, २ करोड रुपैयाँ गइसकेछ । आफ्नो नाममा रंगशाला बन्ने मीराले पनि समाचार र सञ्चारमाध्यमबाटै थाहा पाएकी थिइन् । योजना र आर्थिक पारदर्शिताका लागि जानकारी पाउन उनले गाउँपालिकामा निवेदन दर्ता गरेकी थिइन् । तर, महिनौं बित्दा पनि उनले जवाफ पाएकी छैनन् । केहीले त्यसैको बदलाका रूपमा पनि लिए, दुई दिनअघि भोजपुर ट्रेल रेस रोक्ने गाउँपालिकाको आदेशलाई । टोली काठमाडौं हानियो ।




जुन दिन भोजपुर ट्रेल रेस हुनुपर्ने थियो, त्यो दिन पाथीभरा (ताप्लेजुङ) र राजधानीको दौड प्रतियोगिता भने पूर्वयोजनाअनुसारै भयो । धावकहरू बिना प्रतिस्पर्धा फर्किनुपरेपछि भनिरहेका थिए– पाथीभरा गएको भए वा एडिडास रोड रेसमा दौडेको भए हुन्थ्यो, बेकार भोजपुर आइएछ ।’ थर्पु स्कुलबाट बस हुइँकिने बेलै मीराको कानमा सिउरिएको लालीगुराँसको फुल झरेको थिएन, पाख्रिबास नपुग्दै उनको आँखाबाट आँसु खसिरहेको थियो । उनलाई सम्झाइरहेकी थिइन् सन्जु । मुहार छोप्दै मीराले भनिन्, ‘यो रेस आयोजना गर्न भ्याइनभ्याइ, खाइनखाइ गरेको दुःख मलाई पो थाह छ । मैले त आफ्नै गाउँका लागि गर्न चाहेको थिएँ । तर, सबैकुरा सोचेजस्तो नहुने रहेछ । यसरी फिर्दा साह्रै चित्त दुख्ने रहेछ ।’


भोजपुरको विकल्प !


मीराकै सक्रियतामा गाउँका बालबालिकाहरू हरेक शनिबार ५ किमि र १० किमि दौड्ने गर्छन् । यसले सानोदुम्माको माहोल नै बेग्लै बनाएको छ । भोजपुर ट्रेल रेस पनि २०७२ सालमा त्यसैगरी सुरु भएको थियो, जसरी बाल्यकालमै माओवादी लडाकुका सहयोगी बन्न घर छाडेकी मीरा साहसिक दौड (ट्रेल रनिङ) मा ‘स्काइर रनिङ वर्ल्ड सिरिज’ को सफलतासँगै विश्वमै चर्चित भएकी थिइन् । उनको सम्मानमा थर्पु स्कुलले आयोजना गरेको कार्यक्रममा १२ विद्यार्थी खाली खुट्टै ३ किमि दौडेर घोर्लेवनस्थित मीराको घर पुगेका थिए । त्यो नै भोजपुर ट्रेल रेसको पहिलो संस्करण बन्यो । गत वर्ष भएको चौथो संस्करणमा ५ देशबाट आएकासहित ३५० जना दौडिएका थिए ।


यसपालि धेरै देशका ५० जना बढी विदेशी धावक आउने भनिए पनि अन्तिम समयमा कोरोनाकै त्रासले उनीहरूले नेपाल यात्रा स्थगित गरेका थिए । वर्ल्ड सिरिजका रेस जितेका भीम गुरुङ र तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन विजेता सुमन कुलुङसहित नितु तामाङ, अनिता राई, सिर्जना राई, लाबमुी लामा, खेन्दु लामा, जुम्लाकी मन्जु राउत पनि सानोदुम्मा पुगेका थिए । मीरा आफैं क्यानडा यात्रा छोट्याएर जन्मस्थल फर्केकी थिइन् । अघिल्ला संस्करणका उत्कृष्टहरूलाई मीराको अगुवाईमा विदेशमा दिइएको अवसरले पनि भोजपुर ट्रेल रेसले धावकको ध्यान तानेको हो ।


मीराको घरको माथिल्लो कान्लामा कच्ची सडक भर्खरै पुगेको छ । तर उनको मन भने यसपालि पहिलेकै बाँदर लड्ने बाटोभन्दा पनि कमजोर बनेको छ । राजधानी फर्केपछि मीराले भनिन्, ‘भोजपुरमै पाँचौं संस्करण यसैपालि गर्ने सम्भावना देखेको छैन । राजधानी हुन्छ वा अन्त कतै, यो रेसलाई निरन्तरता दिन विकल्प खोज्दै छु ।’ भोजपुर ट्रेल रेस नै अन्तै हुने भयो भने विश्वकै विजेता धाविकाको रूपमा अर्को मीरा बन्ने सपनासहित हरेक शनिबार खाली खुट्टै दौडिरहेका सानोदुम्माका बालबालिकाले के लक्ष्य बनाउँलान् ?


अनि गत वर्ष प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरी प्रदेश सरकारकै ३० लाखमा निर्मित सामुदायिक भवनको उपयोग स्थानीयले कसरी गर्लान् ? वैदेशिक रोजगारमा मलेसियाको भिसा रोक्दै हङकङ, फ्रान्सको दौडमा च्याम्पियन भएर विश्वकै ध्यान खिचेकी मीराको जन्मस्थलका लागि केही गर्ने संकल्प कहींकतै बिलाइजाने पो हो कि !

प्रकाशित : चैत्र १, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?