कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोटेनहमलाई अर्कोपल्ट झन् गाह्रो

द गार्डियन

लन्डन — आरबी लेप्जिगको हातबाट अन्तिम १६ मै टोटेनहमको चुनौती टुंगिएपछि व्यवस्थापक जोसे मोउरिन्होले चेतावनी दिएका छन्, अर्को सिजन टोटेनहमलाई युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन पनि निकै गाह्रो छ । टोटेनहम समग्रमा ४–० ले पराजित रह्यो ।

टोटेनहमलाई अर्कोपल्ट झन् गाह्रो

स्पर्स लेप्जिगको छेउछाउ पनि रहेन र जर्मन क्लबले रेडबुल एरिनामा भएको मंगलबार रातिको खेल ३–० ले जित्यो । अब टोटेनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ । त्यसअघि चोटग्रस्त खेलाडी मैदानमा फर्कने कुनै छाँट छैन ।


खासमा यस सिजन टोटेनहमका लागि स्थिति दिन प्रतिदिन नाजुक हुँदै गइरहेको छ । कमजोर घरेलु लयका कारण उसको च्याम्पियन्स लिगमा छनोट आफ्नो हातबाट बाहिरिइसकेको छ । मोउरिन्होले पनि माने, ‘अहिले हामीसँग जस्तो प्रकारको टिम छ, त्यसले राम्रो गर्न निकै गाह्रो छ । हाम्रो समस्या आजभोलि नै टुंगिने खालको पनि छैन । हामीले गर्न सक्ने भनेको खाली सिजनको अन्त्यसम्म संघर्ष गर्ने मात्र हो । प्रिमियर लिगमा पनि हामी अंक जित्न संघर्षरत छौं ।’


म्यानचेस्टरको सामना गर्नुअघि आफ्ना कोही पनि चोटग्रस्त खेलाडी तयार नहुने स्विकार्दै उनले भने, ‘हाम्रो लागि एउटै फाइदाको पक्ष भनेको अबको चार दिन आरामले तयारी गर्न सक्छौं । कम्तीमा खेलाडीले केही समय आफूलाई स्थितिअनुकूल बनाउन सक्छन् ।’ लेप्जिगविरुद्ध टोटेनहमले स्टेभन बर्गजिन, बेन डेविडस, ह्यारी केन, डेभिनसन सान्चेज, मुसा सिसिको र सन ह्युङ–मिनबिना खेलेको थियो । त्यसैले मोउरिन्होले फेरि दोहोर्‍याएर भने, ‘स्थिति वास्तवमै गाह्रो छ ।’


उनले थपे, ‘आजको खेलअगाडि म केही सकारात्मक थिएँ, किनभने यो नै एकमात्र विकल्प थियो । तर वास्तवमा स्थिति जे छ, त्यसले सकारात्मक हुन पनि दिन्न । लेप्जिग निकै बलियो टिम थियो र क्वाटरफाइनल प्रवेश गर्नका लागि यो टिम हकदार पनि थियो । कुनै पनि टिमलाई आफ्ना ६ देखि ७ प्रमुख खेलाडीको अनुपस्थितिमा खेल्न गाह्रो हुन्छ । यो नै वास्तविक स्थिति हो । मेरो विचारमा लेप्जिगका जति पनि खेलाडी बेन्चमा थिए, ती सबै हाम्रोबाट खेले । पहिलो रोजाइका खेलाडी हुन्थे ।’


गत वर्षको उपविजेता टोटेनहम यसपल्ट यति चाँडै नकआउट चरणबाट बाहिरिनुमा भने प्रमुख खेलाडी डेल अलीको फरक धारणा रह्यो । उनको तर्क थियो, ‘खेलाडी मानसिक रूपमा बलिया रहेनन् ।’ उनले भने, ‘यो स्तरको प्रतियोगितामा कुनै टिमले राम्रो गर्न सकेन भने पाउने भनेकै सजायमात्र हो । हामीले लेप्जिगविरुद्ध राम्रो गर्न कडा मिहिनेत गर्नुपर्ने थियो, तर त्यति पनि गर्न सकेनौं । म यो खेल हेर्न आएका हाम्रा सबै समर्थकसँग माफी माग्न चाहन्छु ।’


इलिसिच एक्लैको चार गोल

एटलान्टा वास्तवमै इतिहास बनाउन त सफल रह्यो । यसक्रममा टोलीले निकै आकर्षक फुटबल पनि खेल्यो । तर दुःख के भने यी सबै दृश्य हेर्ने कोही पनि दर्शक थिएनन् । जियान पिएरो गास्पेरिनीको टिम भ्यालेन्सियासँग समग्रमा ८–४ ले अगाडि रहेर क्वाटरफाइनल पुग्न सफल रह्यो । सान सिएरोमा भएको पहिलो लेगको खेल ४–१ ले जितेको एटलान्टा दोस्रो लेगमा भने ४–३ ले विजयी रह्यो । खेल सकिएलगत्तै एटलान्टाका सबै खेलाडी एकै स्थानमा भेला भए ।


उनीहरूको टी–सर्टमा ‘बेर्गामो, कहिले पनि हरेश नखानु’ लेखिएको थियो र त्यसलाई देखाएर तस्बिर खिचाए । बेर्गामो कोरोना भाइरसबाट सबैभन्दा ग्रसित इटालीको सहर हो । यसो गदै गर्दा भ्यालेन्सियाका खेलाडी चुपचाप आफ्नो बाटो लागिसकेका थिए र टिम आफैं पनि प्रतियोगिताबाट बाहिरिइसकेको थियो । कोरोना भाइरस संक्रमणको डरले खेल बन्द रंगशालामा खेलिएको थियो । भ्यालेन्सियाका केही दर्शक भने आफ्नो टिमको समर्थनमा रंगशालाबाहिर भेला भएका थिए ।


प्रतियोगिताको लिग चरण सुरु हुनुअगाडि एटलान्टा एकप्रकारले धेरैका लागि अज्ञात टिम थियो । भलै यसले गत सिजन दुई मिलान क्लबलाई उछिनेर तेस्रो स्थान कब्जा गरेको थियो । समूह ‘सी’ का सुरुआती तीन खेल गुमाएपछि तय जस्तै देखिएको थियो, एटलान्टाको च्याम्पियन्स लिगमा डेब्यू सिजन लामो चल्ने छैन । तर चौथो खेलमा म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेपछि जाग्रेब र साख्तर डोनेस्कलाई हराएर एटलान्टा अन्तिम १६ पुगेको थियो ।


अब भने एटलान्टा निकै आत्मविश्वासी भएको छ । त्यसकै छनक देखाउँदै चार गोल गरेका जोसेप इलिसिचले भने, ‘अब हामी रोकिन चाहन्नौं । अझ धेरै लामो यात्रा गर्ने इच्छा छ । एटलान्टा अब अपरिचित टिम पनि रहेन । अहिले हाम्रो टिमले निकै राम्रो फुटबल खेलिरहेको छ । हामी यहाँसम्म पुग्न पूर्णतः हकदार पनि छौं । खासमा हामी रमाएर फुटबल खेलिरहेका छौं । हामीलाई अब कसकोविरुद्ध खेल्नुपर्ने हो, त्यसको पनि डर छैन । खाली हामी अगाडि बढ्न चाहन्छौं ।’


-यो लेख द गार्डियनमा ज्याकोब स्टेनबर्गले लेखेका हुन् ।

प्रकाशित : फाल्गुन २९, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?