कोरोना प्रभाव : विश्‍वकप छनोटका खेल स्थगित- खेलकुद - कान्तिपुर समाचार

कोरोना प्रभाव : विश्‍वकप छनोटका खेल स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासले विश्वभरका खेलकुद प्रतियोगिता प्रत्यक्ष परोक्ष प्रभावित भएका छन् । एसियाका सबैजसो देशमा फैलिसकेको कोभिद–१९ नाम दिइएको यस भाइरसले फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत मार्च र जुन महिनामा हुने समूह चरणका खेलहरू स्थगित गरिएका छन् । 

एसियाली फुटबल महासंघ (एएफसी) का सदस्य राष्ट्रबीचको आपसी समझदारीमा विश्वकप छनोटलगायत जुन महिनासम्म तय भएका सबै अन्तर्राष्ट्रिय फुटबल गतिविधि स्थगित गरिएको छ । त्यसमा ओलम्पिक महिला फुटबल छनोट, एएफसी फुटसल च्याम्पियनसिपलगायत समावेश छन् । यस प्रतियोगिता फिफा फुटसल विश्वकपको छनोट चरण पनि हो ।


विश्वकप छनोटअन्तर्गत मार्च २६ देखि ३१ सम्म हुने तय भएका ३२ खेल यसअघि नै स्थगित भएका छन् । छनोट चरणको समूह ‘बी’ मा रहेको नेपालले मार्च २६ मा चाइनिज ताइपेई र मार्च ३१ मा अस्ट्रेलियासँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा होम खेल खेल्ने तालिका थियो ।


अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले एएफसीसँगको छलफल तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार मार्चमा हुने खेल आयोजना गर्न नसकिने जवाफ पठाएपछि स्थगितको निर्णय भएको बताए । ‘सरकारले नै सभा सम्मेलन र भिडभाड हुने गतिविधि नगर्न भनेको कुरा हामीले एएफसीलाई पठाएर मार्चमा हुने दुवै खेल आयोजना गर्न नसक्ने जानकारी गराएका थियौं,’ उनले भने ।


महासचिव तुलाधरका अनुसार दुई देशको आपसी सहमतिमा खेल आयोजना गर्ने निर्णय भएमा एएफसीले म्याच अफिसियल पठाउन सक्ने जनाएको थियो । जुन ४ देखि ९ सम्म हुने अर्को चरणका ३२ खेल पनि एएफसीले सोमबार नै स्थगित गर्ने निर्णय गरेको छ । जसमा जुन ४ मा नेपालले जोर्डनसँग होम म्याच दशरथ रंगशालामै खेल्नुपर्ने थियो । कोरोना भाइरसको त्रास कम भएपछि एएफसीले नयाँ तालिका सार्वजनिक गर्ने जनाइएको छ ।


एन्फाले जोर्डनसँगको खेल आयोजना गर्न सक्ने/नसक्नेबारे एएफसीलाई आधिकारिक जानकारी पठाएको छैन । ‘हामी एएफसीका प्रतिनिधिसँग नियमित सम्पर्कमै छौं । उनीहरूले जुनमा हुने खेलहरू पनि स्थगित गरेका छन् । तर हामीले जोर्डनसँगको खेल आयोजना गर्न सक्दैनौं भनेका छैनौं । दुई देशबीचको आपसी सहमतिमा खेल आयोजना गर्न सकिने व्यवस्थाअनुसार जोर्डनसँगको खेल नियमित तालिकामै हुनसक्छ,’ तुलाधरले भने ।


नियमित तालिकामा रहेका खेलहरू स्थगित गर्नुअघि एएफसीका प्रतिनिधिले सम्बन्धित देशका पदाधिकारीसँग पर्याप्त छलफल गरेका थिए । स्थगित भएका खेल एएफसीले सम्भवतः यसै वर्षको अक्टोबर र नोभेम्बरमा आयोजना गर्ने गरी तालिका निकाल्न सक्छ । यसबारे सहभागी सबै देशको ऐक्यवद्धता आइसकेको छैन । महासचिव तुलाधरले भने, ‘चाइनिज ताइपेई र अस्ट्रेलियाले अक्टोबरमा खेल्ने गरी तालिका बनाउन प्रस्ताव गरेको एएफसीबाट जानकारी आएको छ । यसमा हामीले सहमति जनाइसकेका छैनौं ।’


घरेलु मैदानमा हुने खेलका लागि एन्फाले मार्च १ देखि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । प्रशिक्षक योहान कालिनले २९ सदस्यीय प्रारम्भिक टोली पनि छनोट गरेर प्रशिक्षण सुरु गरेका थिए । तर खेल स्थगित भएपछि प्रशिक्षण स्थगित गरिएको छ । अहिले राष्ट्रिय टोलीका खेलाडी मोफसलमा आयोजित नकआउट प्रतियोगिताहरूमा व्यस्त छन् ।


कोरोना त्रासका कारण सरकारी अनुरोधअनुसार एन्फाले मोफसलमा नयाँ प्रतियोगितालाई मान्यता नदिने यसअघि नै बताइसकेको छ । जारी प्रतियोगिताहरू सकिएपछि नयाँ प्रतियोगिता आयोजना हुने छैनन् । एन्फाकै आयोजनामा राजधानीमा सहिद स्मारक ‘बी’ डिभिजन लिग भने चलिरहेको छ । ‘एएफसीले आफ्नो देशको अवस्था हेरेर निर्णय लिने अधिकार दिएको छ । मोफसलमा हुने ठूला प्रतियोगिता स्थगित गर्न भनिसकेका छौं । आवश्यक पर्दा बी डिभिजन लिग पनि स्थगित गर्न सक्छौं,’ तुलाधरले कान्तिपुरसँग भने ।

प्रकाशित : फाल्गुन २८, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

सुक्खा क्षेत्रमा खेती नभएपछि पशुपालन

आनन्द गौतम

(कुम्यायक, पाँचथर) — कुम्यायक–१ का गनबहादुर घिमिरेको घरको दायाँपट्टि काठ र बाँसले बनाएको खोर छ । फराकिलो यो खोर खसी र बाख्राका लागि बनाएका हुन् । २३ वटा खसी–बाख्रा उनी बिहान–बेलुका खोर र दिउँसो बारीमा बाँधेर राख्छन् ।

घटबढको क्रम चलिरहन्छ । तौल पुगेका खसी बेच्छन् । पाठा ल्याएर बाँध्छन् । तिनलाई हुर्काईबढाई फेरि बजार पुर्‍याउँछन् । धेरै त घरैबाट बिक्छ । मतानको फेदमा एक माउ भैंसी र गाई पालेका छन् । दुवै दुहुना हुन् । दूध बेच्न टाढा पुग्नुपर्ने भएकाले घिउ बनाउँछन् र बेच्छन् । यहाँका भक्तबहादुर कार्कीले पनि १७ वटा बाख्रा पालेका छन् । एक माउ भैंसी, गाई, हल गोरु पनि उनको गुवालीमा छन् । प्रत्येक बिहान खेती र जंगलबाट घाँसको भारी ल्याउने कार्की दिनभर भने जंगलमा चरनमा लैजान्छन् । तमोर नदीको तीन/चार किलोमिटरमाथि घर भएका उनी पशुचौपाया चराउन नदी किनारसम्म पनि पुर्‍याउँछन् । खासगरी पानी पिलाउनका लागि नदीसम्म पुर्‍याउनैपर्छ ।

गाउँभरिका हरेकजसो घरले कम्तीमा एउटा भैंसी, एक/दुई गाई, एक हल गोरु र एक/डेढ दर्जन खसी, बोका, बाख्रा पालेका छन् । सुक्खाग्रस्त यो क्षेत्रमा खेतबारीमै पनि खेती लगाउन नसक्ने अवस्था भएपछि पशुपालनलाई प्राथमिकतामा राखेका हुन् । सबैले बिहान–बेलुका घाँस दिन्छन् । दिउँसो खेतबारीमा चराउँछन् । चैत/वैशाखजस्तो खडेरीका लागि रूखरूखमा खरुकीजस्ता घाँस टाँगेका छन् । डाले घाँस यो सिजनमा मात्रै खुवाउँछन् । पानी परेर खेती लगाइहाले त्यसको नरुवालाई जोगाएर राख्छन् । खेती नभए पशुचौपाया त्यही ठाउँमा लगेर चराउँछन् । डाले र खरुकीजस्ता काटेको घाँस अलिअलि पानीमा भिजाएर दिन्छन् । ‘जिउनु त पर्‍यो नि होइन हजुर,’ गनबहादुरले भने, ‘यिनै बाख्रा ब्याउँछन्, पाठा हुर्कायो, खसी पार्‍यो, हुर्कायो बेच्यो गर्‍छौं ।’

हरेकजसो घरले पशुपालन बढाएको उनले सुनाए । यो क्षेत्रमा टाँकी, कुटमिरो, बडहरजस्ता डाले घाँसका बुटाहरू प्रशस्तै छन् । खानेपानीका पनि समस्या रहेको क्षेत्रमा डेढ दुई घण्टासम्म धाएर पानी बोकेर पिउनु र पिलाउनुपर्ने बाध्यता छ । अहिले भने लिफ्टिङ प्रविधिबाट पानी ल्याइएको छ ।

प्रत्येक घरमा जडान गरिएको मिटरका आधारमा पानीको बिल तिर्नुपर्ने प्रावधान छ । तमोर नदीबाट ल्याइएको पानीले अब मान्छे र बस्तुभाउलाई काम दिने हर्कबहादुर कार्की बताउँछन् । सुक्खाले ग्रस्त भएको ठाउँमा त्यति मात्रै भए पनि राम्रै मान्नुपर्ने उनले सुनाए । ठूलाठूला टार बारी र खेत रहेको क्षेत्रमा पशुपालन मात्रै गर्न सके पनि खानका लागि मागी हिँड्नु नपर्ने बुझाइ स्थानीयको छ ।

प्रकाशित : फाल्गुन २८, २०७६ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×