कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलाममा दुवैलाई अवसर

विप्लव भट्टराई

इलाम — माईभ्याली गोल्डकप फुटबलको छैटौं संस्करणमा आयोजक माईभ्याली फुटबल क्लब उपाधिका लागि शनिबार मैदान उत्रँदै छ । क्लबका लागि यो ऐतिहासिक अवसर हो । अर्कोतर्फ आयोजकले राष्ट्रिय टोली र ए डिभिजनका क्षमतावान खेलाडीसहित यो सिजन सफल देखिएको मछिन्द्र क्लबलाई प्रतिद्वन्द्वी पाएको छ ।

इलाममा दुवैलाई अवसर

मछिन्द्रले पहिलोपल्ट इलाम यात्रामा गरेको हो । मछिन्द्र पहिलो यात्रालाई चियाबारीको गाउँमा उपाधिसँगै स्मरणीय बनाउन चाहन्छ । आयोजक माईभ्याली पनि उपाधि आफ्नै पोल्टामा राख्दै क्लबको पहिचान उँचो राख्ने ध्याउन्नमा छ ।


मछिन्द्रसँगको भिडन्त माईभ्यालीका लागि चुनौतीपूर्ण रहनेमा दुईमत नहोला । तर यसलाई अवसरको रूपमा परिणत गर्ने माईभ्यालीको दृढता छ । माईभ्यालीका प्रशिक्षक दर्शन भक्तराज आफूहरूका लागि फाइनल चुनौतीभन्दा पनि बढी अवसर रहेको बताउँछन् । क्लबले टिम निर्माणदेखि नै उपाधिसम्मको लक्ष्य बनाएकाले सफलता प्राप्त भएको भक्तराजको दाबी छ ।


पहिलो खेल खेलेपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा जानुपरेका कारण छिरिङ गुरुङ र दर्शन गुरुङले बाँकी खेल खेल्न पाएनन् । वर्कपरमिट सकिएकाले आर्मीविरुद्ध दुई अफ्रिकन खेलाडी र मनीष थापासमेत अनुपस्थित थिए । यो अवस्थामा स्थानीय खेलाडीलाई समेटेर बिहीबार आयोजकले आर्मीमाथि ऐतिहासिक जित निकालेको थियो । राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएकाले छिरिङले फाइनल खेल्ने पक्का भएको छ । एक अफ्रिकनसहित केही स्थानीय र ‘ए’ डिभिजन क्लबका खेलाडीसहित इलामे टिम फाइनलमा उत्रनेछ ।


पहिलो खेलमा सिक्किमको गान्टोक सिटीलाई २–० ले पराजित गरेको आयोजकले क्वाटरफाइनलमा कोलकाताको मोहम्मडन स्पोर्टिङलाई १–० ले हराएको थियो । आर्मीलाई सडनडेथमा हराएर माईभ्यालीले फाइनल तय गरेको हो । यता सहिद स्मारक लिग च्याम्पियन बनेयता नवलपरासीको राइनो कप उचालेर इलाम आएको मछिन्द्रले रूपन्देहीको गोर्खा ब्वाइजलाई टाइब्रेकरमा पाखा लगाएर सेमिफाइनल प्रवेश गरेको हो । दार्जिलिङको मानेभन्ज्याङ फुटबल क्लबलाई ३–० ले रोक्दै मछिन्द्रले फाइनलमा इलाम प्रतिद्वन्दी पाएको छ ।


घरेलु दर्शक र मैदानको फाइदा उठाउने ध्याउन्नमा रहेको इलामलाई मछिन्द्रले पनि उति कमजोर नआँक्ने जनाएको छ । ‘उपाधि जित्ने लक्ष्यले नै इलाम आएका छौं,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने । तीन अफ्रिकनसहित अनुभवी खेलाडीले समेटिएको मछिन्द्रका केही खेलाडी घाइते भएकाले भने समस्या हुनसक्छ । विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन २४, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?