कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खप्तड गोल्डकप : एपीएफ सेमिफाइनलमा

मोहन बुढाऐर

धनगढी — विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा रोक्दै एपीएफ क्लब बिहीबार सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

धनगढी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा साबिक विजेता पुलिस क्लब टाइब्रेकरमा ४–३ गोलले हार बेहोरको थियो । पुलिसले पहिलो खेलमा वाइ पाएको थियो ।

निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरवाट निर्णय हुँदा एपीएफ बाजी मारेको हो ।


टाइब्रेकरमा एपीएफका सुदीप सिख्राकार, आशिष लामा, प्रवीण स्याङतान र दिनेश राजवंशीले गोल गरे । एपीएफका नवीन लामाको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारेका थिए ।

पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्धबल तामाङले मात्र गोल गरे । कप्तान भरत शाहको प्रहार पोलमा लागेर फर्कियो भन अजित भण्डारीको प्रहार गोलरक्षक रोमन रसाइलीले विफल पारे ।


खेल सकिन केही मिनेट मात्रै बाँकी रहँदा एपीएफले राजु नगरकोटीको सट्टा रोमन रसाइली र पुलिसले शत्रुधन चौधरीको सट्टा रोशन खड्कालाई मैदान छिराएका थिए । खप्तड गोल्डकपको सेमिफाइनल पुगेको एपीएफले सहिद स्मारक लिगमा पुलिससँग भागेको हारको बदला लिएको छ । लिगमा एपीएफ १–० ले पराजित भएको थियो । म्यान अफ द म्याच एपीएफका आशिष लामा चुनिए । उनले १० हजार रुपैयाँसहित ट्रफी पाए ।

एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले पाएका मौका सदुपयोग गर्न नसक्दा खेलमा गोल हुन नसक्दा जितका लागि टाइव्रेकरसम्म कुर्नुपरेको बताए । ‘खेलमा फिफ्टी फिफ्टीको चान्स थियो । हामीले गोल गर्ने धेरै मौका गुमायौं,’ उनले भने, ‘तर किपरमा विश्वास थियो । त्यहीअनुसार किपर परिवर्तन गरे पनि खेल जित्यौं ।’


प्रशिक्षक श्रेष्ठले अब सेमिफाइनलमा आयोजक सुदुरपश्चिम–११ सँग खेल्दा घरेलु दर्शक र मैदानले फरक पार्ने भन्दै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा व्यक्त गरे ।

नेपाल पुलिस क्लबका म्यानेजर सन्जिव जोशीले लगातार टिमले प्रतियोगिता खेलेर आराम गर्न समय नपाउँदा समस्या भएको बताए ।


एपीएफले फाइनल पुग्नका लागि शनिबार आयोजक सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हिमालयन शेर्पाले गोर्खा ब्वाइज क्लब रूपन्देही प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : फाल्गुन १५, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?