कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलाडी, प्रशिक्षक र खेल पत्रकार सम्मानित

नमिता दाहाल

काठमाडौँ — सञ्जय स्मृति समाजले भलिबल खेलाडीलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय स्तरका महिला तथा पुरुष भलिबल खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा उत्कृष्ट खेल पत्रकारलाई सम्मान गरिएको हो ।

खेलाडी, प्रशिक्षक र खेल पत्रकार सम्मानित

कार्यक्रममा लामो समयदेखि भलिबल क्षेत्रमा योगदान दिइरहेका दुई खेलाडीहरु चन्द्रबहादुर कुवँर र विनिता बुढाथोकीलाई ३० हजार नगद, प्रमाणपत्र र पाल्पाली ढाका टोपी तथा पाल्पाली खाँदासहित सम्मान प्रदान गरिएको हो ।

त्यस्तै कार्यक्रममा नेपाली भलिबल र बीच भलिबल टोलीका महिला तथा पुरुष खेलाडीहरुलाई पनि सम्मान प्रदान गरिएको छ । खेलाडीहरुलाई पाल्पाली ढाकाको टोपी तथा पाल्पाली खादाले सम्मान गरिएको हो । कार्यक्रममा उत्कृष्ट खेल पत्रकारका रुपमा काठमाडौं पोस्टका प्रज्ज्वल ओलीलाई पनि सम्मान प्रदान गरिएको छ ।

सम्मानित खेलाडी विनिता बुढाथोकी भनिन्, ‘पहिलो पटक भलिबलका कारण सम्मानित भएको छु । यस्ता कार्यक्रमहरु भइरहे अहिलेका खेलाडी तथा पछिल्लो पुस्तालाईसमेत प्रेरणा हुनेछ ।’ अर्का खेलाडी चन्द्रबहादुर पनि पुरस्कारले आफूलाई खेलमा लागिरहन थप उर्जा थपेको बताए ।

खेलाडी टोलीसँगै नेपाल भलिबल कोच तथा व्यवस्थापकलाई यस कार्यक्रममा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल भलिबल संघकी उपाध्यक्ष तथा सञ्जय स्मृति समाजकी अध्यक्ष निरोज मास्केको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, खेलकुद पत्रकार मञ्चका अध्यष्क्ष देवेन्द्र सुवेदी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संघका विभिन्न ओहोदाका व्यक्तित्वहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?