कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 खप्तड गोल्डकप : आयोजक सुदूरपश्‍चिम विजयी

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम आमन्त्रण खप्तड गोल्डकप फुटबलको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा मंगलबार भएको खेलमा कञ्चनजंघा फुटबल क्लबलाई ४–२ ले हराउँदै आयोजक सुदूरपश्चिम अन्तिम चारमा प्रवेश गर्‍यो । आयोजकले पहिलो खेलमा बाई पाएको थियो । 

 खप्तड गोल्डकप : आयोजक सुदूरपश्‍चिम विजयी

मंगलबार क्वाटरफाइनलमा सुदूरपश्चिम र कञ्चनजंघाबीचको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले दुई, फिलिप तामाङ र दिपेश श्रेष्ठले १–१ गोल गरेका थिए । कञ्चनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले १–१ गोल फर्काए ।


खेलको १० औं मिनेटमा विक्रमको गोलबाट घरेलु टोलीले अग्रता बनायो । उद्धव खत्रीको पासमा विक्रमले बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गरे । १९ औं मिनेटमा फिलिपले गोल गरेपछि आयोजकको अग्रता २–० ले अगाडि बढ्यो । कञ्चनजंघाका गोलरक्षक निगम सिंह अघि बढेको अवस्थामा फिलिपले सहजै खाली पोस्टमा गोल गरे । विक्रमले खेलको २३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले पुनः उद्धवको पास सदुपयोग गरे । २८ औं मिनेटमा अभिषेकको पेनाल्टी गोलबाट कञ्चनजंघाले अग्रतालाई ३–१ मा झार्‍यो ।

सुदूरपश्चिमका धनबहादुर थापाले बक्स भित्र अमिर लामालाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टीमा अभिषेकले गोल गरेका थिए । खेलको ३९ औं मिनेटमा कञ्चनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा सकिएको हो । बक्स नजिकै आयोजकका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई छिरिङले जालीको सम्पर्कमा पुर्‍याए । ४६ औं मिनेटमा दीपेशले गोल गर्दै सुदूरपश्चिमलाई ४–२ ले अगाडि बढाए । उनले गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा दर्शनीय गोल गरे । त्यसपछि दुवै टिमको गोल गर्ने प्रयास सफल हुन सकेन । म्यान अफ द म्याच आयोजकका विक्रम चुनिए । उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।


आयोजक सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले सोचेअनुसारको नतिजा भए पनि खेलाडीहरू केही नयाँ भएकाले तालमेल राम्ररी मिल्न नसकेको बताए ।


कञ्चनजंघा फुटबल क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले राम्रो खेले पनि सुरुआतमा भएका गल्तीका कारण जितबाट वञ्चित भएको बताए । ‘आफ्नै गल्तीले सुरुमै तीन गोल खायौं,’ उनले भने, ‘खेलमा कमब्याक गर्दै दुई गोल फर्काएका हौं ।’

पहिलोपल्ट सुदूरपश्चिममा गोल्डकप खेल्न आएको भारतको कञ्चनजंघा फुटबल क्लबले उद्घाटन खेलमा वाग्मती युवा क्लबलाई टाइब्रेकरमा हराएको थियो ।


अब सुदूरपश्चिम– ११ ले फाइनल प्रवेशका लागि नेपाल पुलिस र एपीएफको विजेतासँग खेल्नेछ । दोस्रो क्वाटरफाइनलमा बुधबार थ्रीस्टार र नव जनजागृति क्लब भिड्नेछन् ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?