कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीप्यान अवार्डमा समानता

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रिकेट खेलाडी संघ (सीप्यान) ले आफ्नो अवार्डमा समानता ल्याएको छ । चैत २१ गते राजधानीको प्रज्ञा भवनमा हुने एनसीसीएस–सीप्यान क्रिकेट अवार्डमा महिला र पुरुषतर्फको विजेताले समान पुरस्कार रकम पाउने भएका छन् । 
क्रिकेट खेलाडीहरूको हकहितका लागि बनेको सीप्यानले गत वर्षबाट यो अवार्डको सुरुआत गर्दा पुरुषतर्फको विजेता सन्दीप लामिछानेले १ लाख ३२ हजार पुरस्कार रकम पाएका थिए । 

सीप्यान अवार्डमा समानता

त्यसको विपरीत महिलातर्फको विजेता सीता रानामगरले नगद ६६ हजार मात्र पाएकी थिइन् । शिक्षा क्षेत्रमा क्रियाशील एनसीसीएस समूहको सहकार्यमा सीप्यानले यसपल्टको अवार्डमा पुरुष र महिलातर्फको विजेतालाई समान १ लाख ३२ हजार दिने भएको छ ।


सीप्यानले यसबाहेक वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम एचिभमेन्ट अवार्डबाट पनि पुरस्कृत गर्नेछ । यी तीन विधाको विजेताले समान ६६ हजार पाउने छन् । गत वर्षको मार्चदेखि यस वर्षको मार्चसम्म नेपाली क्रिकेट खेलाडीले गरेको प्रदर्शनलाई आधार मानेर अवार्ड प्रदान गरिने भएको हो ।


‘गत वर्षको तुलनामा यस वर्ष हामीले अवार्डमा समानता ल्याउन खोजेका छौं, गत वर्ष अवार्डपछि हामीले पाएको पाएको प्रतिक्रियाका आधारमा हामीले यो निर्णय गरेका हौं,’ सीप्यानका अध्यक्ष मनीषराज पाण्डेले भने, ‘त्यसैका आधारमा वर्षको उत्कृष्ट क्षणलाई अझ प्रभावकारी बनाउन खोजेका छौं ।’ उनले अवार्डको दोस्रो संस्करणमा आइपुगे पनि अझै सुरुआती चरणमा रहेको जनाउँदै भविषयमा अन्य विधाहरू पनि थपिन सकिने जनाए ।


वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीका साथै उदीयमान खेलाडीका लागि जुरी बनाइएको छ भने वर्षको उत्कृष्ट क्षण अनलाइन भोटिङबाट तय हुनेछ । त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड सीप्यानले चयन गर्नेछ । गत वर्ष उदीयमान खेलाडी रोहितकुमार पौडेलले र लाइफटाइम एचिभमेन्ट अवार्ड कोमल पाण्डेले पाएका थिए । वर्षको उत्कृष्ट क्षणमा करण केसीको क्यानाडासँगको इनिङ्स चुनिएको थियो ।


‘शिक्षा क्षेत्रमा क्रियाशील भएकाले हामीलाई खेलकुदबारे खासै केही थाहा छैन, तर सीप्यानले हामीलाई सहकार्यका लागि सम्झँदा हामी उत्साहित छौं । क्रिकेट खेलाडीलाई अहिले पनि हौसला जरुरी रहेको हामीले महसुस गरेका छौं,’ एनसीसीएस समूहका अध्यक्ष शंकरराज जोशीले आइतबार पत्रकार सम्मेलनमा भने ।


सीप्यानका महासचिव एवंम राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले खेलकुदलगायत अन्य अवार्डले आफूहरूलाई यो अवार्ड गर्न प्रोत्साहित गरेको जनाए ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?