कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सताक्षी गोल्डकप : आर्मीलाई मछिन्द्रको झट्का

अर्जुन राजवंशी

बिर्तामोड — विभागीय टोली त्रिभुवन आर्मी क्लब लिग च्याम्पियन मछिन्द्र क्लबसँग एक सातामै लगातार दोस्रो पटक पराजित भएको छ । मछिन्द्रले शुक्रबार झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा आर्मीमाथि २–० को जित हासिल गर्‍यो । अघिल्लो साता आर्मीलाई हराएर राजधानीमा मछिन्द्रले ‘ए’ डिभिजन लिग जितेको थियो ।

सताक्षी गोल्डकप : आर्मीलाई मछिन्द्रको झट्का

सताक्षी गोल्डकपको फाइनलमा थ्रीस्टार र मछिन्द्र भिड्ने भएका छन् । फाइनल आइतबार हुनेछ । शिवसताक्षी नगरपालिका–११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा शुक्रबार मछिन्द्रले रेजिन सुब्बाको गोलबाट अग्रता बनायो । एक गोल भने आर्मीबाटै उपहार मिलेको थियो । २१ औं मिनेटमा आर्मीका गोलकिपर विवश चौधरी बिट भएको अवस्थामा रेजिनले आकर्षक गोल गरेका थिए । ७४ औं मिनेटमा आर्मीका विकास खवासले आत्मघाती गोल पुगे । विशाल राई ‘बी’ को प्रहार आर्मीका गोलकिपर विवशको खुट्टामा लागेर फर्कियो । त्यसलाई विकासले क्लियर गर्न खोज्दा आफ्नै पोस्ट गोल भएको थियो ।


आर्मीले खेलको पहिलो मिनेटमै आक्रमण बुनेको थियो । कप्तान जर्जप्रिन्स कार्कीको कडा प्रहार पोस्ट माथिबाट बाहिरियो । छैटौं मिनेटमा मछिन्द्रका विमल घर्तीमगरले २५ यार्ड टाढाबाट गरेको प्रहार आर्मीका किपरले पन्च गरेर बचाए । २४ औं मिनेटमा मछिन्द्रका एडेलाजा सोमिडेले आर्मीका चार डिफेन्डरबाट छक्याएर गरेको प्रहार विवशले कठिनसँग जोगाए । खेलमा मछिन्द्रका गोलकर्ता रेजिन सुब्बा म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।


खेलाडी सम्मानित

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रका सात खेलाडी र प्रशिक्षक पुरस्कृत भए । झापा गोल्डकप आयोजक समितिले मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल र खेलाडीहरू कप्तान विराज महर्जन, विशाल राई ‘ए’, विशाल राई ‘बी’, देवेन्द्र तामाङ, योगेश गुरुङ, रेजिन सुब्बा र विमन राईलाई नगदसहित पुरस्कृत गर्‍यो ।


समितिले प्रशिक्षक कटुवाललाई २५ हजार र खेलाडीलाई जनही १५ हजार प्रदान गर्‍यो । कप्तान विराजबाहेक प्रशिक्षक र पुरस्कृत ६ खेलाडी झापा ११ का पूर्व खेलाडी हुन् । क्लबका खेलाडीले मछिन्द्रबाट लिग खेलेर विजेता हुन सफल भएकामा सम्मान गरिएको अध्यक्ष महेन्द्र गिरीले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?