कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीले गुमाएको ऐतिहासिक अवसर

हिमेश

काठमाडौँ — कति नजिक, अझै कति टाढा । यो खेलकुदमा प्रायः प्रयोग हुने शब्दावली हो । यो किन दोहोर्‍याएर प्रयोग हुन्छ भने यस्तो स्थिति खेलकुदमा दोहोरिइरहेको हुन्छ । त्रिभुवन आर्मी क्लब यसपालि सहिद स्मारक लिग ‘ए’ डिभिजन उपाधि नजिक पुगेर पनि त्यसबाट अन्ततः टाढा रहनुपर्‍यो ।

आर्मीले गुमाएको ऐतिहासिक अवसर

दशरथ रंगशालामा भएको अन्तिम दिनको खेलअघिसम्म पनि आर्मीका प्रशिक्षक नवीन न्यौपाने भनिरहेका थिए, ‘हामी उपाधिबाट एक पाइलामात्र टाढा छौं ।’


त्यो एक पाइला आर्मीले चाल्नै सकेन । सबैभन्दा पहिले २०६३ सालको लिगमा फर्कौं । त्यो वर्षको फागुन २५ मा भएको खेलमा आर्मी अहिले जस्तै स्थितिमा थियो । टोलीलाई बराबरीमै लिग जित्ने अवसर थियो । खेल पुलिस क्लबविरुद्ध थियो । त्यो खेल आर्मीले २–० ले गुमायो । पुलिसका लागि रमेश बुढाथोकी र जुमनु राईले गोल गरे । पुलिसले उपाधि चुम्यो । जति बेला खेल सकियो, आर्मीका गोलरक्षक विकास मल्लले आफूलाई थाम्न सकेनन् । मैदानमै रोए ।


यसपल्ट पनि यस्तै स्थिति थियो । मछिन्द्रलाई बराबरीमा रोके पुग्नेमा आर्मी पराजित नै रह्यो । त्यो पनि आत्मघाती गोलमा । विकास तामाङको नाम सधैं गलत कारणले सम्झिने छ । जति बेला यो खेल पनि सकियो, आर्मीका लगभग सबै खेलाडी मैदानमै ढले । धेरैले आफूलाई सम्हाल्न नै सकेनन् । ‘च्याम्पियन’ को निकै नजिक पुगेर पनि त्यसबाट वञ्चित हुनुपरेको आर्मीका लागि यो दोस्रोपल्ट थियो । यस्तो स्थितिमा आफूलाई सम्हाल्न गाह्रो हुन्छ । त्यसैले त फुटबल निर्दयी खेल हो भनेर भनिन्छ ।


धेरै अर्थमा आर्मी ऐतिहासिक रूपमा चुकेको मान्न सकिन्छ । यस्तो किनभन्दा नेपाली फुटबलले ढिलोचाँडो एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेनिइङ प्रणाली लागू गर्नैपर्छ । यस्तो स्थितिमा विभागीय टिमले लिग खेल्ने सम्भावना पनि कमजोर हुनसक्छ । यो त भयो भविष्यको सम्भावना मात्रै । अहिले तत्कालका लागि भने खाली एउटै तथ्य के स्थापित भएको छ भने आर्मी फेरि एकपल्ट लिग जित्न असफल रह्यो ।


नेपालमा सफा र राम्रो नियतले फुटबल खेल्ने टिमका समर्थकका लागि आर्मी चुक्नु वास्तवमै पीडादायी रहनेछ । एउटा तथ्य के पनि यही लिगमा स्थापित भएको छ भने भलै आर्मीले उपाधि चुम्न सकेन तर पूरा प्रतियोगितामा सबैभन्दा मीठो फुटबल पस्कने टिम आर्मी नै हो । प्रशिक्षक न्यौपानेको नेतृत्वमा आर्मीले अधिकांस खेलमा अत्यन्त ‘पेस’ मा लयात्मक फुटबल खेल्यो । आर्मीले धेरैको मन जित्यो तर उपाधिमात्र जित्न सकेन ।


आर्मीले १३ खेलमध्ये ६ खेलमा ‘क्लिन सिट’ राखेको थियो । तर टोलीका लागि तीन खेलका प्रतिकूल नतिजा निकै महँगो साबित भयो । दोस्रो चरणमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित रहनुसम्म पचाउन सकिएला, तर संकटा र एनआरटीसँगको बराबरी भने स्वीकार्य रहेन । आर्मीले जुन प्रकारले थ्रीस्टारलाई चौथो चरणमा २–० ले हरायो । धेरैले त्यो खेल पछिसम्म पनि सम्झनेछन् । त्यसै खेलमा सन्तोष तामाङले प्रतिबन्धयता पहिलोपल्ट खेले र उत्कृष्ट प्रदर्शन गरे ।


उनको आगमनपछि त आर्मीको खेल अझ माझिएको थियो । पुलिससँग ४–२ को जितपछि उत्कृष्ट पुनरागमन रह्यो । एनआरटीसँग गोलरहित बराबरीपछि पनि आर्मीले लगातार ४ खेल जितेको थियो, तर अन्तिम खुड्किलो पार नै गर्न सकेन । आर्मी किन असफल रह्यो त ? यसको उत्तर ठ्याक्कै कसैले दिन सक्ने छैन । एउटा सिनेमा किन सफल हुन्छ, के त्यसको फर्मुला छ र ? उत्तर, छैन । आर्मीले पनि खेलको मैदानमा राम्रो पटकथा त बुन्यो, तर त्यसलाई सुखद अन्त्य दिन सकेन ।


आर्मीले उतारेको टिम भने एकरूपको थियो । उसले २२ खेलाडी उतारेकामा त्यसमध्ये चार खेलाडीले एकै खेलमात्र खेले । आर्मीका लागि सबै १३ खेल्ने तीन खेलाडी रहे, भरत खवास, जर्जप्रिन्स कार्की र विकेश कुथु । विकास खवासले डिफेन्स र सन्तोषले मिडफिल्डमा राम्रो गरे पनि उनीहरू उत्कृष्ट चुनिएनन्, व्यक्तिगत विधामा । सन्तोषले त ४ गोल पनि निकाले । धेरै हदसम्म जर्जप्रिन्सको खेल उनको प्रतिष्ठाअनुसार रहेन ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?