कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँसबारीको लक्ष्य ए डिभिजन

कान्तिपुर संवाददाता

काठमाडौँ — बाँसबारी क्लबले ‘ए’ डिभिजन लिगको फुटबलमा उक्लने लक्ष्यसहित तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल फागुन ११ बाट सुरु गर्ने घोषणा गरिसकेको र त्यसका लागि टोली तयार रहेको बाँसबारीले दाबी गरेको छ । 

बाँसबारीको लक्ष्य ए डिभिजन

यसैक्रममा बाँसबारीले अराउन्ड द हिमालयजसँग मुख्य प्रायोजन सम्झौता गरेको छ । प्रमुख प्रायोजक भए वापत पर्यटन व्यवसायमा आबद्ध अराउन्ड द हिमालयजले बाँसबारीलाई १० लाख उपलब्ध गराउने छ भने बाँसबारीको जर्सीको अगाडिको भागमा अराउन्ड द हिमालयजको लोगो हुनेछ । बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र अराउन्ड द हिमालयजका प्रबन्ध निर्देशक सुदामा कार्कीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।


बाँसबारीका अध्यक्ष थापाले ‘बी’ डिभिजन लिगको तयारी लागि एन्फाले घोषणा गरेको १० लाख प्रदान गर्ने निर्णय गरेकोमा धन्यबाद दिँदै क्लबको ३५ लक्ष्यको बजेट रहेको सुनाए । त्यसमा काठमाडौं महानगरपालिकाले ३ लाख प्रदान गरेको थापाले जनाए । ‘हाम्रो ए डिभिजनमा उक्लिने मात्र नभई टिकिरहने पनि लक्ष्य छ, बी डिभिजनको तयारी हामीले अलिक अगाडिदेखि गर्दै आएका छौं । ए डिभिजनमा टिकिरहनका लागि अलिक आर्थिक दायरा फराकिलो बनाउनुपर्छ, त्यो हामीले बुझेका छौं,’ बाँसबारी अध्यक्ष थापाले भने ।


अराउन्ड द हिमालयजका कार्कीले प्रायोजन व्यावसायिक लाभका लागि नभई, छरछिमेकको क्लब र समाजिक दायित्व निभाउनका लागि भएको जनाए । उनले डिभिजन क्लबहरूले आफ्नो खेलाडी उत्पादनमा जोड दिनुपर्ने जनाए । बी डिभिजन लिगको विजेताले १५ लाख, उपविजेताले ८ लाख र तेस्रो स्थानमा हुनेले ५ लाख पाउँदै छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बी डिभिजन लिगका लागि क्लबहरू आत्तुर रहेको र त्यसले अर्को वर्ष हुने ए डिभिजन लिगमा राम्रो प्लेटफर्म बनाउने दाबी गरे । उनले महिलातर्फ दुई चरणको लिग गराउन लागेको जानकारी गराए ।


चार दशक पुरानो बाँसबारी क्लबका द्वितीय उपाधयक्ष मधुसूदन उपाध्यायले ए डिभिजनमा खेलेका खेलाडी पनि रहेकाले बी डिभिजनमा सफलता हात पार्ने लक्ष्य सफल हुने दाबी गरे । बाँसबारीले पूर्व राष्ट्रिय खेलाडी युगलकिशोर राईलाई मुख्य प्रशिक्षक र निशान श्रेष्ठलाई सहयाक प्रशिक्षकको जिम्मेवारी दिइएको छ । कन्डिसनिङ प्रशिक्षकमा भारतका कपिल फोगाटलाई नियुक्त गरेको छ ।


अन्जन देवकोटाको कप्तानीमा रहने बाँसबारीका अन्य खेलाडीहरूमा टंकप्रसाद गुरुङ, सुलेमान थापामगर, अनिल गुरुङ, अनुज भण्डारी, अमृत श्रेष्ठ, भीष्मराज घिमिरे, शिव गुरुङ, निशान सुनार, सजिन थापामगर, सुरेश कुमाल, विशाल स्याङतान, सुदिश जबेगु, केशव खड्का, विपिन गुरुङ, रोशन नेपाल, सञ्जय सुब्बा, अजय राजवंशी, दिपांशु राउत, मकरध्वज गुरुङ, कमल खबास र अमृत गुरुङ छन् ।


महानगरको सहयोग


ललितपुर महानगरपालिकाले महानगरभित्रका ए, बी र सी डिभिजन क्लबलाई प्रोत्साहन रकम दिएको छ । मेयर चिरिबाबु महर्जनले महानगरभित्रका पाँचवटा ए डिभिजन, चारवटा बी र दुईवटा सी डिभिजनका प्रत्येक क्लबलाई क्रमशः चार लाख, तीन लाख र दुई लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।


ए डिभिजनअन्तर्गत थ्रीस्टार, जावलाखेल, फ्रेन्ड्स्, ब्रिगेड ब्वाइज र च्यासल क्लब, बी डिभिजनअन्तर्गत खुमलटार, सातदोबाटो, झम्सिखेल र पुल्चोक र सी डिभिजनअन्तर्गत खालीबारी र सानेपा फुटबल क्लब छन् ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तीन खेलमा प्रथम स्थान हासिल गरेबापत थ्रीस्टार क्लबलाई १२ लाख रुपैयाँ, च्यासललाई दुईवटा खेलमा प्रथम स्थान हासिल गरेबापत ८ लाख रुपैयाँ पाएका छन् । महानगरले गत वर्षदेखि महानगरभित्रका ए, बी र सी डिभिजन क्लबहरूलाई प्रोत्साहन रकम हस्तान्तरण गर्दै आएको जनाएको छ ।


मेयर चिरिबाबु महर्जनले आगामी नगरसभाबाट निर्णय गराएर फुटबल क्लबहरूलाई दिइने प्रोत्साहन रकम वृद्धि

गरिने बताए । ‘गत वर्षजस्तो धेरै पदक महानगरपालिकाका फुटबल क्लबले हासिल गर्न सकेनन्,’ उनले भने, ‘यो हाम्रा लागि दुःखको कुरा हो, आगामी वर्ष बढीभन्दा बढी पदक ल्याउन सफल हुनुहोस् ।’

प्रकाशित : फाल्गुन ५, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?