२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अन्ततः रेलिगेसनमा सरस्वती

हिमेश

काठमाडौँ — कम्तीमा पनि सरस्वती युवा क्लबले अन्तिम खेलको नतिजा यति ठूलो हारमा सकिन्छ भनेर चिताएको थिएन । सरस्वती युवा संकटाको हातबाट ६–२ ले पराजित रह्यो । यो लिगकै सर्वाधिक गोल भएको खेल रह्यो ।

अन्ततः रेलिगेसनमा सरस्वती

दोस्रो अन्तिम खेलमै रेलिगेसनमा पर्ने तय भइसकेको थियो, सरस्वती । जति बेला रेफ्री श्रवण लामाले यसपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ८७ औं खेल टुंगिएको संकेत गरे, औपचारिक रूपमै सरस्वतीको नाममा जोडिएको ‘ए’ डिभिजनको मान्यता टुंगियो ।


दुःखको संयोग कस्तो रह्यो भने सरस्वतीका पूर्णबहादुर श्रेष्ठले ६५ औं मिनेटमा गरेको आत्मघाती गोल नै यसपालिको लिगको दुई सय गोल रह्यो । पूरा लिगमा सरस्वतीले यस्तो यात्रा तय गरेको थियो कि धेरैलाई लागिरहेको थियो, यो नै त्यो अभागी टिम हो । जुन एकमात्र रेलिगेसनमा पर्ने टिम हुनेछ । नभन्दै त्यही भयो । सुरुका तीन खेलमा कुनै गोल नै गर्न सकेको थिएन । त्यसो त प्रशिक्षक प्रदीप नेपालले सुरुदेखि नै दाबी गरिरहेका थिए, अझै केही खेल बाँकी छन् । सरस्वती सम्हाल्न सफल रहनेछ तर सरस्वतीले सम्हाल्नै सकेन ।


नवौं चरणको खेलमा हिमालयन शेर्पालाई ४–३ ले पराजित गर्दा झिनो आस तयार भएको थियो । त्यसपछि टिम लगातार ४ खेलमा पराजित भयो । ‘क्लब र मेरा लागि सरस्वती रेलिगेसनमा पर्नु निकै दुःखद हो,’ प्रशिक्षक नेपालले स्विकारे, ‘यो पीडादायी छ ।’ वास्तवमै सरस्वती किन रेलिगेसन किन पर्‍यो त ? यसमा उनको जवाफ थियो, ‘हाम्रो अग्रपंक्ति नै चल्न सकेन अनि निर्णायक मोडमा हाम्रो डिफेन्स पनि कमजोर साबित भयो ।’


प्रदीप नेपाल, प्रशिक्षक- सरस्वती युवा क्लब


नेपालले थपे, ‘मैले फुटबल खेल्दा पर्याप्त पैसा थिएन । तर हामी निकै परिश्रम गरेर खेल्थ्यौं । अहिले पैसा धेरै छ, तर खेलाडीले मिहिनेत नै गर्दैनन् । मेरो अनुभवमा अहिलेका पुस्ताका खेलाडीमा त्यो भावना नै छैन । जस्तो हामीमा थियो र हामी त्यसैअनुसार खेल्थ्यौं ।’ हुन पनि पूरा लिगमा जम्माजम्मी १० गोल गरेर कुन टिमबाट धेरै अपेक्षा गर्न सकिन्छ र ? यसमा ६ गोल कजिम एडेगोडेले गरे । विनोद केसीको नाममा दुई गोल रह्यो । बरु उल्टै सरस्वतीले ३६ गोल खायो । १३ खेलबाट ४ अंकमै चित्त बुझायो ।


यसपल्ट सरस्वतीले गरेको सबैभन्दा ठूलो भूल रह्यो, धेरै प्रयोग गर्नु । उसले लिगमा २५ खेलाडी उतारेको थियो । यो प्रतियोगितामा कुनै टिमले प्रयोग गरेको सबैभन्दा बढी खेलाडी रह्यो । यसमध्ये खाली दुई खेलाडीले मात्र सबै खेल खेले । त्यो डिफेन्डरद्वय सुसन लामा र विनोदको थियो । त्यसमाथि विदेशी खेलाडी अनुबन्ध गर्न पनि सरस्वतीले हतार गरेको थियो, जसका कारण उसका विदेशी खेलाडी अपेक्षाअनुसार रहेनन्, तिनले औसत नै खेले । यही लिगकै क्रममा सरस्वतीमाथि ‘म्याच फिक्सिङ’ को कुनै न कुनै रूपमा कालो धब्बा पनि लाग्यो । उसका दीपेश श्रेष्ठले ख्याल–ख्यालमै सही होला हिमालयनका गोलरक्षक किशोर गिरीलाई मिलेर खेल्ने प्रस्ताव राखेको थियो । यही कारण कारवाहीस्वरूप दीपेशले अन्तिम तीन खेल खेल्ने पाएनन् । यसअघि यी मिडफिल्डर सरस्वतीका लागि १० खेलमा पूरा ९० मिनेट खेल्ने एकमात्र खेलाडी थिए । सरस्वतीलाई बरू उल्टै एपीएफ र फ्रेन्ड्सबीचको खेलको नतिजामा गुनासो रह्यो ।


त्यो खेल एपीएफले ५–२ ले जितेको थियो । त्यसलगत्तै सरस्वती च्यासलको हातबाट २–१ ले पराजित रह्यो । ‘मलाई एपीएफ जितेको त्यो खेलको नतिजामा चित्त दुखेको छ,’ घुमाउरो पारामा प्रशिक्षक नेपालले पनि माने । सरस्वतीका केही पदाधिकारीले सामाजिक सन्जालमै सही, भनेका छन्, ‘हामी फेरि ‘ए’ डिभिजनमा फर्कने छौं ।’ तर यो काम त्यति सजिलो हुने छैन । अनि तय के पनि छ भने सरस्वतीको व्यवस्थापनले अहिले जसरी काम गरेको छ, त्यो ‘ए’ डिभिजनमा टिकिरहन पर्याप्त छैन ।


सरस्वतीका लागि खेलेका खेलाडी

राज शाही, दीपेश श्रेष्ठ, सुसन लामा, रमेश तामाङ, विनोद केसी, मनीष थापा, वर्षात गुरुङ, सन्तबहादुर गुरुङ, विष्णुकुमार केसी, हिसुब थपलिया, दीपक भुसाल, तीर्थबहादुर बस्नेत, दीपक गुप्ता, कृष्ण रानाभाट, सविन खड्का, पूर्णबहादुर श्रेष्ठ, प्रदीप भण्डारी, मेसक एबेल, एमबेइ एन्ड्रे, राजकुमार घिसिङ, निशान माझी, कृष्णगोपाल श्रेष्ठ, निमान तामाङ, कजिम एडेगोडे र सुनील घलान ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?