कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

सूर्य नेपाल वेस्टर्न ओपन : धनबहादुरले लिए अग्रता

कान्तिपुर संवाददाता

पोखरा — सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन बिहीबार धनबहादुर थापाले ३६ होल टुंगिँदा २ अन्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन् । पहिलो दिन लेभल पार खेल्दै गतिलो सुरुआत गरेका आर्मीका गल्फर धनले शिवराम श्रेष्ठमाथि चार स्ट्रोकको अग्रता बनाए । 

सूर्य नेपाल वेस्टर्न ओपन : धनबहादुरले लिए अग्रता



अन्तिम दिनको प्रतिस्पर्धा बाँकी छ । धनले दोस्रो दिन २ अन्डर ६७ को स्कोर कार्ड बनाउँदै अग्रता लिए । उनी ३ र ८ औं होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाइन २ अन्डरको स्थितिबाट अगाडि बढे । ब्याक नाइन भने लेभल पारमा टुंग्याए । १२ औं बोगी खेपेका उनले १५ औं होलमा त्यसको क्षतिपूर्ति पूरा गरे । १७ औं मा बर्डी हिर्काउँदै स्ट्रोक जोगाउने लय देखाए पनि अन्तिम होलमा भने बोगीको सामना गरे । १८ औं होलमा बल बंकरमा खसेपछि समस्या हुन पुग्यो । ‘ढिस्कोलाई आधार मानेर हिर्काउँदा ढिस्कोमै ठोकिएर बल बंकरमा झर्‍यो । ढिस्को पार गरेको अवस्थामा ओबी हुन्थ्यो । झन् समस्या आउँथ्यो,’ उनले भने, ‘बंकरबाट हल्का चिप गरें । ग्रिनबाट सहज पट गर्दै थप स्ट्रोक हान्नबाट जोगाएँ ।’


दोस्रो दिन खराब लयमा देखिएका शिवराम दोस्रो स्थानमा झरे । उनले बिहीबार ३ ओभर खेल्न पुग्दा समग्रमा २ ओभर १४० को स्थितिमा रहे । उनको फ्रन्ट नाइन खराब रह्यो । तीन ओभर ३७ को स्थितिबाट ब्याक नाइन सुरु गरेको शिवरामले १ अन्डर खेल्दै ३६ होल पूरा गर्दा १ ओभर १३९ मा छन् । उनले अघिल्लो दिन एक अन्डरसँगै अग्रता लिएका थिए । उनले फ्रन्ट नाइनमा ७, ८ र नवौं होलमा बोगी खेपे । ब्याक नाइनमा १०, १५ र १६ होलमा बर्डी हिर्काउँदै लेभल पारको संघारमा रहे पनि १२ औंमा बोगी खेप्दा केबल एक अन्डरमा झर्न पुगे ।


शुक्र राईले शिवरामसँग टाई खेलेका छन् । पहिलो दिन १ ओभरमा ७० मा टुंग्याएका शुक्रले दोस्रो दिन पनि १ ओभर ७० को कार्ड बनाउँदै लयलाई निरन्तरता दिए । पार फाइभको १० औं होलमा उनले ९ स्ट्रोक हिर्काउँदै तनाव झेल्न पुगे । १३, १४, १५ औं होलमा बर्डी हिर्काउँदै खेलमा फर्किए । यद्यपि ब्याक नाइन एक ओभर ३६ मा टुंग्याउँदा उनको फ्रन्ट नाइनमा हानेको २ अन्डरले उत्साह जोगाइराख्यो । शिवराम र शुक्रसँगै जयराम श्रेष्ठले पनि खेल टुंग्याउँदा २ ओभर १४० को कार्ड बनाए ।


अघिल्लो दिन ३ ओभर ७२ को कार्डबाट सुरु गरेका उनले दोस्रो दिन भने सुधारिएको प्रदर्शन गरे । फ्रन्ट नाइनलाई लेभल पार खेल्दै उत्कृष्ट सुरुआत गर्दा ब्याक नाइन भने अझ प्रभावशाली प्रदर्शन गरे । ब्याक नाइनमा उनले १ अन्डर खेल्दै समग्रमा २ ओभर १४० को कार्डमा रहे । उनले ११ औंमा बोगी खेप्दा १५ र १७ औं होलमा बर्डी हिर्काएका थिए ।


पाँचौं स्थानमा नीरज तामाङ छन् । उनले दोस्रो दिन २ ओभर ७१ को कार्ड खेले । ३६ होलको खेल टुंग्याउँदा ३ ओभर १४१ को स्कोरमा छन् । उनले बिहीबार फ्रन्ट र ब्याक नाइन दुवैमा एक–एक ओभर खेल्दै टुंग्याए । पहिलो दिन उनी एक ओभर ७० को कार्डमा थिए ।


भुवन नगरकोटी, भुवनकुमार रोका र सञ्जय लामा समान ४ ओभरसहित टाइमा छन् । समान २ ओभर ७१ को स्कोर बनाउँदै पहिलो दिनको १८ होलबाट विश्राम लिएका उनीहरू बिहीबार २ ओभर ७१ को कार्डमै खेल्दै टाइमा छन् । भुवन रोकाले फ्रन्ट नाइनलाई १ ओभर ३५ मा टुंग्याउँदा ब्याक नाइन गतिलो सुरुआत गरे पनि १८ औं होलमा डबल बोगी खेपेपछि उनको स्कोर १ अन्डर ३४ मा रहँदै दोस्रो दिन लेभलपार खेले ।


रवि खड्का ६ ओभर १४४ कार्ड सहित नवौं स्थानमा छन् । रविले नवौं र १४ औं होलमा डबल बोगी खेपेपछि दोस्रो दिन खराब नजितासँगै नवौं स्थानमा पुग्दै कट जोगाएका हुन् । रामकृष्ण श्रेष्ठ ७ ओभरसहित १४५ को कार्डमा रहँदै १० औं स्थानमा छन् ।


एमेच्योरतर्फ जितेन्द्र राई १३ ओभर १५१ को कार्डसहित शीर्षस्थानमा यथावत् छन । दोस्रो स्थानमा भने प्रज्ज्वल गुरुङ छन् । उनले १५ ओभर १५३ को कार्डमा खेलिरहेका छन् । दोस्रो दिन खेल टुंगिँदा २४ प्रो कट जोगाउँदै उपाधि यात्रामा छन् । १६ एमेच्योरमध्ये केवल ६ गल्फर मात्रै कट जोगाउँदै उपाधि होडमा छन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?