कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ए’ डिभिजन लिग : एकै दिन ३ खेल, १३ गोल

सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरण (१३ औं) बिहीबार सुरू भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तीन खेल सम्भव भए । गोलको कमी भएन । विशेषगरी सरस्वती युवा क्लबको बिदाइका लागि यो दिनलाई सम्झिइने छ । 
कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहानै ८ः४५ बजे पनि खेल सुरु भइरहेको छ, जुन घरेलु फुटबलमै बिरलै हो । त्यसैले बिहानी खेललाई लिएर ‘ब्रेकफास्ट लिग’ पनि भन्न थालिएको छ यसपालिको संस्करणलाई । अन्तिम चरणको खेल बिहीबार सुरु भयो । यो दिन सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तीन खेल सम्भव भए । गोलको कमी भएन, निस्किए ३ खेलमा १३ गोल ।

‘ए’ डिभिजन लिग : एकै दिन ३ खेल, १३ गोल

अन्तिम अर्थात् १३ औं चरणको पहिलो दिनलाई विशेषगरी सरस्वती युवा क्लबको बिदाइका लागि सम्झिइने छ । एक खेल बाँकी छँदै दोस्रो डिभिजनमा झर्ने निश्चित भइसकेको सरस्वतीले औपचारिक बिदाइको प्रतिस्पर्धामा पनि अत्यासलाग्दो हार बेहोर्‍यो । ८ वर्षपछि घटुवा भएको सरस्वतीलाई संकटाले ६–२ ले पराजित गर्‍यो ।


संकटाले दुवै हाफमा तीन–तीन गोल गर्‍यो । अफ्रिकी मूलका खेलाडी मेसोके ओलोमोउले पाँचौं मिनेटमै गोलको खाता खोले । उनले नै ३५ औं मिनेटमा संकटाको अग्रता दोब्बर बनाए । सुभाष गुरुङले ३८ औं मिनेटमा गोल गरेपछि संकटा ३–० ले अघि बढ्यो । दोस्रो हाफमा टीकाराज गुरुङले ५६ र रोशन पहारीले ८३ औं मिनेटमा गोल थपे । सरस्वतीका पूर्णबहादुर श्रेष्ठले ६५ औं मिनेटमा आत्मघाती गोल गरेपछि यो लिगको एउटै खेलमा सर्वाधिक ६ गोल संकटाले पनि गर्‍यो ।


यसपालिको लिगमै पहिलोपल्ट एउटै खेलमा ८ गोल भएको दिनको अन्तिम प्रतिस्पर्धामा सरस्वतीका लागि दोस्रो हाफमा मैदान छिरेका काजिम बुसारीले ७९ औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो । त्यसअघि संकटाका अर्नेस्ट टेम्पीको आत्मघाती गोल पनि बुसारीकै प्रयासमा भएको थियो । सरस्वती १३ खेलमा एक जित, एक बराबरी र ११ हारसँगै मात्र ४ अंक बनाएर पुछारमा रहँदै घटुवामा परेको हो । संकटा १८ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।


यसअघि पुलिसका जुमनु राईले दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै प्रहार गरेको ह्याट्रिकले पनि चर्चा पायो । फ्रेन्ड्सविरुद्ध पुलिसले हात पारेको ३–० को जितमा सबै गोल यी भेट्रान फरवार्डले गरे ।


जुमनुले हेमन्त थापामगरको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए । त्यसको तीन मिनेटपछि नै उनले रिबाउन्ड बललाई पोस्टको दिशा दिँदै गोलको खाता खोले । उनले दोस्रो गोल ५६ औं मिनेटमा गरे । उनले कठिन कोणबाट दर्शनीय गोल गर्दै ८५ औं मिनेटमा पुलिसलाई ३–० को अग्रता दिलाएर ह्याट्रिक पूरा गरे ।


पुलिसलाई २०६६–६७ र २०६८ को लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका जुमनु यो सिजनको लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् । यसअघि थ्रीस्टारका संजोक राईले दसौं चरणमा सरस्वतीविरुद्ध ४–० को जितमा ह्याट्रिक गरेका थिए । जितसँगै पुलिस २० अंक बनाएर पाँचौं स्थानमा उक्लियो । फ्रेन्ड्स १४ अंकसहित दसौंमा छ ।दिनको दोस्रो खेलमा एपीएफले ब्रिगेड ब्वाइजसँग १–१ खेल्दै अंक बाँडे । आशिष लामाले ४४ औं मिनेटमा गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएपनि विजय गुरुङले इन्ज्युरी समयमा गोल गरेपछि ब्रिगेड ब्वाइजले अंक जोडेको हो । थ्रीस्टारका पूर्व खेलाडी विजयले ५ मिनेटको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै ब्रिगेड ब्वाइजको हारको शृंखलालाई ५ खेलमा पूर्णविराम लगाइदिए ।


एपीएफका फरवार्ड आशिष लामा अन्तिम खेलमा गोल गरेसँगै सर्वाधिक गोलकर्ताको सूचीमा २ गोलले अगाडि बढेका छन् । उनले ९ गोल गरेका छन् । उनीपछि च्यासलका सन्तोष साहुखल (७ गोल) छन् । आर्मीका नवयुग श्रेष्ठ, मनाङ मर्स्याङदीका विमल राना र अन्जन विष्टले ६–६ गोल गरेका छन् ।


कुल १४ क्लब सहभागी लिगमा रेलिगेसनमा परेको सरस्वतीभन्दा ५ अंकमाथि छन्, ब्रिगेड ब्वाइज र एपीएफ । दुवैले ९–९ अंक बटुले । एउटामात्रै टिम रेलिगेसनमा पर्ने व्यवस्था गरिएको यसपालिको लिग शनिबार सकिँदै छ । आर्मी र मछिन्द्रबीच हुने अन्तिम खेलले ‘ए’ डिभिजन लिगमा नयाँ च्याम्पियनको निर्णय गर्नेछ ।


आजका खेल

हिमालयन शेर्पाविरुद्ध एनआरटी

८:४५ बजे

थ्रीस्टारविरुद्ध च्यासल

१२:१५ बजे

जावलाखेलविरुद्ध मनाङ

१५:३० बजे

एन्फा कम्प्लेक्स, सातदोबाटो

प्रकाशित : फाल्गुन २, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?