कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१०४ बलमै खेलको छिनोफानो

‘गुड आफ्टरनून भन्‍न नपाउँदै सकियो खेल सकियो’
विनोद पाण्डे

काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि मैदानको ओसिलो पिच बुधबार सुक्न भ्याइसकेको थिएन । टिकट काटिसकेका दर्शकहरू मैदान छिर्न दौडादौड गरिरहेकै थिए । तर क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली नेपाल र अमेरिकाबीचको अन्तिम खेल १०४ बलमै छिनोफानो भइसकेको थियो । उद्‍घोषकले भनेजस्तै ‘गुड आफ्टरनून’ भन्न नपाउँदै खेल सकिएको थियो ।

१०४ बलमै खेलको छिनोफानो

नेपालले अमेरिकालाई ३५ रनमै समेट्दै जित प्राप्त गर्दा थुप्रै कीर्तिमानलाई स्थापित गराइदियो । नेपाल आएर खेल्नुअघि अमेरिका ६ जितसाथ क्रिकेट विश्वकप लिग २ को शीर्षस्थानमा थियो । नेपालले प्रतियोगिताको तीनवर्षे यात्रा सुरु गरेकै थिएन । त्यही अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रियको न्यून स्कोरमा समेट्दै नेपालले कीर्तिमानी जित हात पारेको हो ।


नेपालले टस जितेपछि ब्याटिङमा आएको अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो । नेपालले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रियकै न्यून स्कोरमा समेटिदियो । श्रीलंकाले सन् २००४ मा जिम्बावेलाई हरारेमा ३५ रनमै अलआउट गरेको थियो । त्यही न्यून स्कोरको नकारात्मक कीर्तिमान अमेरिकाले बराबरी गर्‍यो ।


नेपालले अझ अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम बल खेल्ने कीर्तिमानमा पनि स्थापित गरिदियो । अमेरिकाले एकदिवसीयमा सबैभन्दा कम बलको सामना गरेको कीर्तिमान पनि बनाएको हो । जिम्बावे सन् २०१७ मा अफगानिस्तानसँग ५४ रनमा अलआउट हुँदा १३.५ ओभर खेलेको थियो । अमेरिका नेपालसँग त्योभन्दा ११ बल कम खेल्दै अलआउट भएको हो ।


नेपालले ५.२ ओभरमै विजय लक्ष्य पूरा गर्‍यो । अर्थात् ६ सय बलको खेल केबल १०४ बलमै सकिएको थियो । बिहान साढे ९ बजे सुरु खेल ११ बजेर ९ मिनेटमा सकिसकेको थियो । कमेन्टेटर सचिन तिमल्सेना पुरस्कार वितरण समारोहमा भन्दै थिए, ‘गुड आफ्टर नून पनि भन्न नपाई सकिएको यस खेलको पुरस्कार वितरण समारोहमा यहाँहरूलाई स्वागत छ ।’ अमेरिकाका प्रशिक्षक जिम्मी पेमेन्टले ‘यस्तो हारमा विकेट कन्डिसनलाई दोष लगाउन नमिल्ने’ भन्दै आफ्नो टोलीले लज्जास्पद प्रदर्शन गरेको जनाए ।


यसअघि सन्दीप लामिछानेले ६ र सुसन भारीले ४ विकेट लिएपछि अमेरिका तहसनहस भएको हो । सन्दीपले ६ ओभरमा एक मेडन राख्दै ६ रन खर्चेर एकदिवसीय क्रिकेटमा नेपाली बलरको सर्वोत्कृष्ट प्रदर्शन गरे । सोमपाल कामीले गत वर्ष दुबईमा यूएईविरुद्ध ३३ रन खर्चेर ५ विकेट लिनु नेपाली बलरले यसअघि एकदिवसीयमा ५ विकेट लिएको कीर्तिमान हो । सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए, जुन नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । अमेरिकाबाट जेभियर मार्सलले २२ बल खेली २ चौकासहित १६ रन बनाए । अन्य कुनै खेलाडीले ५ रन पनि बनाउन सकेनन् । पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० तथा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बनाएपछि नेपालले सजिलै विजय लक्ष्य पछ्यायो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो चाडो लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो । यसअघि श्रीलंकाले जिम्बावेलाई २००१ मा कोलम्बोमा र श्रीलंकाले नै क्यानडालाई २००३ मा पराजित गर्दा विजय लक्ष्य क्रमशः ४.२ र ४.४ ओभरमा पूरा गरेको थियो ।


कीर्तिमानी विजयका बाबजुद नेपाली ओपनिङ ब्याटिङ समस्या यथावत् नै रह्यो । ओपनरद्वय कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए । यही कमजोरीमा यस त्रिकोणात्मक शृंखलामा नेपालले ओमानसँगको दुई खेलमा हार भोगेको थियो । लिग २ मा शीर्षस्थानमा रहेर शृंखला सुरु गरेको अमेरिका सबै ४ खेलमा पराजित भयो । नेपालले अमेरिकासँगको दुवै खेल जित्यो । ओमान सबै चार खेल जित्दै लिग २ को शीर्षस्थानमा पनि पुगेको छ ।


ज्ञानेन्द्रले सोचेभन्दा राम्रो र चाँडो खेल जित्न सकिएको बताए । ‘यस शृंखलाको अन्तिम खेल भएकाले हामी जितसाथ नै अन्त्य गर्न चाहन्थ्यौं, जसरी हाम्रो बलिङको सुरुआत भयो, जसरी सन्दीप र सुसनले बलिङ गरे, त्यसले हामीलाई सोचेभन्दा पनि राम्रो र चाँडो नतिजा दियो,’ ज्ञानेन्द्रले भने, ‘ब्याटिङ गर्दा सजिलो जित हात पार्‍यौं । हामीले यो शृंखलाबाट धेरै सिक्ने विषय पाएका छौं । नयाँ खेलाडीहरूको भएको देख्यौं । एकदिवसीय अन्तर्राष्ट्रियको यो सर्कलमा हामीले अझ गृहकार्य गर्न बाँकी छ । अमेरिका जस्तो टोलीलाई हराएकाले अझ राम्रो गर्न सकिन्छ ।’


सन् २०२३ को विश्वकप छनोटको आधार रहेको यस प्रतियोगितामा सहभागी ७ राष्ट्रले ३ वर्षभित्र समान ३६ खेल खेल्नेछन् । त्यसबाट शीर्ष ३ टोली विश्वकप छनोटमा पुग्नेछन् । नेपालले घरेलु मैदानमा पहिलो लिग २ आयोजना गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय घरेलु मैदानमा खेलेको हो । नेपाल लिग २ को बाँकी त्रिकोणात्मक शृंखलाका लागि नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र यूएई भ्रमणमा जानेछ । त्यस्तै २०२१ को फेब्रुअरीमा नेपालले यूएई र पपुवा न्युगिनी तथा नोभेम्बरमा नामिबिया र स्कटल्यान्डसँग घरेलु मैदानमा खेल्नेछ ।


‘सबै हिसाबमा हामी निराश छौं र हामीले आफ्नो स्तरअनुरूप खेल्न सकेनौं । प्राविधिक पक्ष एउटा कारण हुन सक्ला र हाम्रो टोलीमा अरू धेरै समस्या पनि छन्,’ अमेरिकाका कप्तान गौरव नेत्राभाल्करले भने, ‘यस्तो विकेटमा टस जितेको म पनि बलिङ नै गर्थें होला । तर यसो भनेर नेपाललाई यसको श्रेय नदिइरहन सकिन्न । उनीहरूले सही स्थानमा बल फालेका थिए । दुई बलर (सन्दीप र सुसन) ले ड्रिम स्पेल बलिङ गरे । हामीसँग हारको अरू कारण छैन, हामी निराश छौं ।’

प्रकाशित : फाल्गुन १, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?