कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

प्रभावशाली ओमान

‘मेरो अहिलेसम्मकै सबैभन्दा राम्रो अनुभूति हो, चार विकेट लिएँ, फेरि घाइते भएँ । घाइते भएपछि मैदानमा आउने कुनै सम्भावना नै थिएन । तर टिमका प्रशिक्षक, व्यवस्थापक सदस्यले जाउ तिमीले खेल्न सक्छौं भन्नु र त्यसमा शतक बनाउनुको अनुभूति छुट्टै छ।’ 
विनोद पाण्डे

काठमाडौँ — अकिब इल्यासको शतकमा ओमानले सानदार ब्याटिङ प्रदर्शन गर्दै आइतबार क्रिकेट विश्वकप लिग २ मा नेपाललाई सजिलै ८ विकेटले पराजित गरेको छ । नेपाल भ्रमणमा लगातार तेस्रो विजय हात पारेपछि ओमान अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । 

प्रभावशाली ओमान

उपकप्तान इल्यासले १ सय ८ बलमा १ सय ९ रन बनाएपछि ओमानले २ सय ५० रनको लक्ष्य त्रिवि क्रिकेट मैदानको कठिन पिचमा १६ बल अगावै सजिलै पुरा गरेको थियो । शृंखलाको पहिलो तीन खेलको तुलनामा आइतबार विकेट केही सहज देखिएको थियो र अकिबसहित ओमानका ब्याट्सम्यानले त्यसको भरपुर फाइदा उठाए । इल्यासलाई साथ दिदैं कप्तान जिसन मक्सुदले अविजित ६८ रन बनाए ।


इल्यासको इनिङ्स एकदिवसीय अन्तर्राष्ट्रियमा ओमानी खेलाडीको पहिलो शतक हो । उनले आफ्नो इनिङ्समा १२ चौका र १ छक्का प्रहार गरे । ‘हामीले निकै राम्रो खेल्यौं । नेपालले पनि ब्याटिङमा राम्रो गरेको थियो । तर जब हामी ब्याटिङमा आयौं हामीले अझ राम्रो खेल्यौं । मैले र कप्तानले मजासँग रन बनायौं, उनीहरूलाई कुनै मौका दिएनौं र सजिलै नेपालको हातबाट खेल झिक्यौं,’ इल्यासले भने, ‘समग्रमा भन्नु पर्दा दुवै टोलीका लागि खेल राम्रो रह्यो । तपाईं यसलाई हामीले अहिलेसम्म पछ्याएको सबैभन्दा राम्रो खेल पनि भन्न सक्नु हुन्छ किन भने हामीले २ विकेट मात्र गुमाई राम्रो बलर भएको नेपालीविरुद्ध टर्निङ विकेटमा २ सय ५० रन बनाएका छौं ।’


इल्यासले मक्सुदसँग १ सय ६३ रनको अविजित साझेदारी गरे । उनी फिल्डिङका क्रममा घाइते भएका थिए । त्यसअघि नै उनले चार विकेट लिइसकेका थिए । उनले नेपालका दाहिने ब्याट्सम्यानलाई लेग स्पिनर र देब्रेहाते ब्याट्सम्यानलाई अफ स्पिन बल फालेका थिए । नेपालले उत्कृष्ट सुरुआत गरे पनि उनले चार विकेट लिँदै नेपाललाई अझ ठूलो स्कोरमा पुग्नबाट रोकेका थिए । नेपालबाट सर्वाधिक रन बनाएका कप्तान ज्ञानेन्द्र मल्ल ५६ रन बनाई इल्यासको पहिलो बल सामना गर्दा आउट भए । ‘मेरो अहिलेसम्मकै सबैभन्दा राम्रो अनुभूति हो, चार विकेट लिए, फेरि घाइत भए । घाइते भएपछि फेरि मैदानमा आउने कुनै सम्भावना नै थिएन । तर टिमका प्रशिक्षक, व्यवस्थापक सदस्यले जाउ तिमीले खेल्न सक्छौं भन्नु र त्यसमा शतक बनाउनुको अनुभूति छुट्टै छ,’ इल्यासले भने, ‘प्रशिक्षक आएर सकारात्मक भएर मात्र खेल्नु, गलत शट नखेल्नु त्यसपछि रन आफै बन्छ भन्नु भएको थियो । हाम्रा सबैजसो ब्याट्सम्यान उत्कृष्ट फर्ममा छन् र उनीहरूले पनि त्यसै अनुसार खेले ।’ इल्यासले आफूहरूले अघिल्लो दुई खेलमा खेलेको भन्दा आज निकै पिच निकै राम्रो रहेको र विकेट दिन प्रतिदिन राम्रो भइरहेको जनाउँदै त्यसलाई राम्रो संकेत भएको बताए ।


मक्सुद ७९ बल खेल्दै ८ चौका प्रहार गरे । यसअघि जतिन्दर सिंह र खावर अलीले १२ ओभर भित्र ४८ रन जोडी ओमानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । जतिन्दरलाई २३ रनमा कुशल मल्लले बोल्ड गरे । अलीले ५६ बल खेली ६ चौकासहित ४१ रन बनाए । उनलाई सुसन भारीले बोल्ड गरे । त्यसपछि नेपाली बलरमाथि इल्यास र मक्सुद मजाले जमेर खेले । ३७ रनमा पाएको जिवनदानको इल्यासले भरपुर फाइदा उठाए । करण केसीको बलमा इल्यासको प्रहारलाई आरिफ शेखले ब्याकवार्ड प्वाइन्टमा क्याच छाड्न पुगे ।


यसअघि टस हारेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ४९ रन जोडेर पहिलो इनिङ्समा आफ्नो उच्च स्कोर बनाएको थियो । कप्तान ज्ञानेन्द्रले अर्धशतक बनाएपछि नेपालले चुनौतीपूर्ण स्कोर बनायो । ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक अर्धशतक बनाएका हुन् । ७६ बलमा ५६ रन बनाउने क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे । उनले ओपनर सुवास खकुरेलसँग पहिलो विकेटमा १४ ओभरमा ४८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । सुवास २२ रन बनाई एलबीडब्लू आउट भए । ४२ बल खेलेका उनले १ चौका प्रहार गरे । ज्ञानेन्द्रले पूर्व कप्तान पारस खड्कासँग दोस्रो विकेटमा ५९ रन जोडे । पारसले ३४ बल खेली ६ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाए । दीपेन्द्रसिंह ऐरी लगातार दोस्रो खेलमा शून्यमा आउट भए । कुशल मल्ल र आरिफले समान २८ रन बनाए । अघिल्लो दिन डेब्यु गर्दै सबभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडी बनेका कुशलले लगातार दुई छक्का प्रहार गरेका थिए र उनले २४ बलको इनिङ्समा २ चौका प्रहार गरे । आरिफले ४५ बल खेली १ चौका प्रहार गरे ।


करण १० रनमा आउट भए । विनोद भण्डारी ४७ बलमा ५ चौका प्रहार गरी ३५ रनमा रनआउट भए । सन्दीप लामिछाने १० र ‘डेब्यु’ गरिरहेका कमलसिंह ऐरी ९ रन बनाई अविजित रहे । इल्यासले १० ओभरमा ३६ रन खर्चेर नेपालको महत्वपूर्ण चार विकेट लिए । ज्ञानेन्द्रसहित आरिफ, कुशल र करण उनकै बलमा आउट भएका थिए । ज्ञानेन्द्रले आफ्नो विकेट पनि खेलको निर्णायक क्षण भएको जनाए । मोहम्मद नदिमले ३ विकेट लिए ।


‘२ सय ४९ रन राम्रो स्कोर हो, १५ रन जति अझै कम भएको जस्तो लाग्यो । एउटा निश्चित समयमा हाम्रो योजना र तालमेल मिलेन,’ ज्ञानेन्द्रले भने, ‘जसरी उनीहरूले ब्याटिङ गरे हामीले त्यसपछि दबाब नै राख्न सकेनौं । हरेक ओभरमा हाम्रा बलरले बाउन्ड्री खर्चिरहेका थिए । त्यस्तो अवस्थामा आक्रामक हिसाबमा खेल्न पनि नमिल्ने । अन्तिम ओभरसम्म पनि हामीले स्लिप राखेका थियौं ।’ नेपाली खेलाडीहरूले धेरै पचास ओभरको खेल नखेल्ने भएकाले उनीहरूलाई यो राम्रो अनुभव भएको प्रशिक्षक उमेश पटवालले बताए ।


ओमानको छलाङ


नेपाल आएर लगातार तेस्रो विजय हात पार्दै ओमान लिग २ को शीर्ष स्थानमा उक्लेको छ । यस त्रिकोणात्मक शृंखलामा नेपालले अघिल्लो दिन अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । नेपाल र अमेरिका दवबैलाई उनीहरूको पहिलो खेलमा ओमानले पराजित गरेको थियो । ओमानले ९ खेलमा ७ विजय हात पार्दै १४ अंक जोडिसकेको छ । अमेरिकाले १० खेलमा ६ मा विजय हात पारी सात राष्ट्र सहभागी प्रतियोगिताको अंकतालिकामा दोस्रो स्थानमा छ । नेपालले ३ खेलमा एकमा मात्र विजय हात पारेको छ । लिग २ का शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने छन् । ओमानले यसअघि स्कटल्यान्डमा पपुवा न्यु गिनीमाथी २ र स्कटल्यान्डमाथि १ तथा यूएईमाथि एक विजय हात पारेको थियो । नेपालमा ब्याटिङमा पाएको सफलताले ओमानलाई शीर्ष स्थानमा पुर्‍याउन मद्दत गरेको हो । नेपाल आउनुअघि ओमानका कुनै खेलाडीले एकदिवसीयमा शतक बनाउन सकेका थिएनन् । ओमानी खेलाडीको पहिलो शतकमा इल्यासले आइतबार खेलेको इनिङ्स कीर्तिपुर मैदान साक्षी बन्यो ।


लिग २ को अघिल्लो शृंखलामा यूएईमाथि विजय हात पार्दा इल्यासले बनाएको अविजित ८० रन ओमानी ब्याट्सम्यानको यसअघिको उच्च स्कोर थियो ।


दर्शकको न्यानोमा विदेशी


अघिल्लो दिनको तुलनामा आइतबार त्रिवि क्रिकेट मैदानमा दर्शक निकै कम रहेका थिए । ओमानसँग नेपालले बुधबार प्रतियोगितामा पहिलो खेल खेल्दा ४ हजारभन्दा बढी दर्शक टिकट काटेर हेर्न मैदान आएका थिए । अमेरिकासँग शनिबार नेपालको खेल हेर्न ६ हजार दर्शक आएका थिए । ओमानसँग दोस्रो पटक खेल्दा आइतबार टिकट काटेर हेर्ने दर्शक २ हजार ६ सय १३ मात्र थिए ।


त्यही दर्शकले घरेलु टोलीलाई मात्र नभई लिग २ त्रिकोणात्मक शृंखलामा प्रतिस्पर्धा गरिरहेका अन्य दुई टोली अमेरिका र ओमानलाई पनि हौस्याइरहेका छन् । ओमानका अकिब इल्यासले शतक बनाएपछि ब्याट आफ्नो टोली रहेको पेभेलियनतर्फ देखाउनुभन्दा पनि दर्शकतर्फ देखाएका थिए । इल्यासले खेल सकिएपछि दर्शकको हुलमा गएर आफ्नो स्विटर दिएका थिए ।


‘हामीले यस्तो आश्चर्यजनक दर्शक कतै देखेको थिएनौं, मैले आफ्ना जिवनमा देखेको सबैभन्दा उत्कृष्ट क्षण नै यही हो । जुन खेलाडीले तपाईको टोलीलाई निराश बनाएको छ, त्यही खेलाडीलाई समर्थन गरेको देख्न पाउनु साँच्चैको उत्कृष्ट क्षण हो । मैले आफ्नो टोलीका लागि फेरि पनि यस्तै गरिरहौंला तर नेपालमा आएर कहिले खेल्छु थाहा छैन, त्यसैले मैले दर्शकका लागि खेले,’ इल्यासले आफ्नो शतक नेपाली समर्थकलाई समर्पण गर्दै भने, ‘हामी ४८ डिग्री आर्द्रता भएको देशबाट आएका हौं र हामी त्यस्तो गर्मीमा अभ्यास गर्थ्यौं । लगातार जस्तो खेल्दा थकाई पनि लाग्छ । यहाँ भने चिसो मौसम छ, पसिना पनि आउँदैन । निकै राम्रो वातावरण छ । हुनसक्छ दर्शकको प्रत्येक दिनको समर्थनले यो न्यानो पन अनुभव गराएको छ ।’


ओमानसँग बुधबार नेपाल पहिलो खेलमा १८ रनले पराजित हुँदा पनि म्यान अफ द म्याच प्रदर्शन गरेका मोहम्मद नदिमले नेपाली दर्शकको खुबै प्रशंसा गरेका थिए । ‘दर्शकले दुवै टोलीलाई समर्थन गरेको देख्दा निकै खुसी लाग्यो । प्राय गरी अरु देशमा यस्तो देख्न पाइँदैन, तर नेपाली दर्शकहरू फरक छन् म विपक्षी टोलीको ब्याट्सम्यानले अर्धशतक बनाउदा पनि उनीहरूले ताली बजाएर सम्मान दिएका थिए । उनीहरूको प्रशंसा गर्नैपर्छ,’ उनले भनेका थिए ।

प्रकाशित : माघ २७, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?