कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारंगाले ललितपुरबाट खेल्ने

काठमाडौँ — श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थारंगाले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणमा साबिक विजेता ललितपुर प्याट्रियट्सबाट खेल्ने भएका छन् । आयोजक ईपीएल प्रालिले सोमबार थारंगालाई विदेशी खेलाडी कोटाबाट ललितपुरले अनुबन्ध गरेको जनाएको हो । ईपीएल चैत १ देखि १५ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

थारंगाले ललितपुरबाट खेल्ने

सन् २००५ को अगस्टदेखि श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका ३४ वर्षे थारंगा बायाँहाते ब्याट्सम्यान हुन् । उनी विकेटकिपर पनि हुन् । श्रीलंकाका लागि २ सय ३५ एकदिवसीय, ३१ टेस्ट र २६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । टेस्टमा ३ र एकदिवसीयमा १५ शतक बनाएका छन् ।


थारंगा र श्रीलंकाली महान क्रिकेटर सनथ जयासूर्याले सन् २००६ मा पहिलो विकेटमा गरेको २ सय ८६ रनको कीर्तिमानी साझेदारी सन् २०१८ मा मात्र तोडिएको थियो । उनीहरूले इंग्ल्यान्डविरुद्ध लिड्समा त्यो साझेदारी गरेका थिए । उनी गत जुन/जुलाईमा इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपमा श्रीलंकाली टिममा स्थान बनाउन असफल भएका थिए ।


ललितपुरका टिम मालिक किशोर महर्जनले थारंगाको उपस्थितिले आफ्नो टिमका युवा खेलाडीलाई मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरे । ‘ईपीएलको यो सिजन अझै सानदार हुनेवाला छ । किनभने हामीसँग विस्फोटक ओपनिङ ब्याट्सम्यान र विकेटकिपर छन् । उनले टिमभित्र युवा खेलाडीलाई प्रोत्साहन गर्नेछन् । निश्चित रूपमा हाम्रा खेलाडीले उनीजस्ता क्रिकेटरबाट धेरै कुरा सिक्न पाउनेछन् ।’


श्रीलंकाको यू–१५, यू–१७ र यू–१९ को टिमबाट नियमित खेलेका उनले सिनियर टिमबाट एकदिवसीय अन्तर्राष्ट्रियमा २१ खेल र ट्वान्टी–२० मा ६ खेलमा कप्तानीको भूमिका निभाएका छन् । एकदिवसीय क्रिकेटमा सातपल्ट २ सयभन्दा बढीको साझेदारी गर्ने उनी विश्वकै दोस्रा ब्याट्सम्यान हुन् ।


‘ईपीएलका लागि ललितपुर प्याट्रियट्सले मलाई छनोट गरेकोमा खुसी छु । नेपालमा बढ्दो क्रिकेट संस्कार र त्यसको हिस्सा हुन पाउनु अर्को खुसी हो । नेपालको सुन्दरता नियाल्न आतुर छु । नेपाली क्रिकेटको नयाँ पुस्तामाझ आफ्नो ज्ञान बाँड्न तयार छु,’ अनुबन्धपछि थारंगाले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : माघ १४, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?