कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ए’ डिभिजन लिग : ‘थ्रीस्टार उपाधि होडबाट बाहिर’

राजु घिसिङ

काठमाडौँ — मछिन्द्र कठिन प्रतिद्वन्द्वी मानिएको थ्रीस्टारलाई २–० ले पन्छाउँदै सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा पुगेको छ । छैटौं जितसँगै मछिन्द्रले एक खेल कम खेलेको आर्मीमाथि २ अंकको अग्रता लिएको हो । हारसँगै ५ अंक पछाडि परेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको प्रशिक्षक मेघराज केसीले बताए ।

‘ए’ डिभिजन लिग : ‘थ्रीस्टार उपाधि होडबाट बाहिर’

तेस्रो हारपछि १४ अंकमा सीमित बनेको थ्रीस्टारका प्रशिक्षक केसीले भने, ‘यो नतिजाले हामी उपाधि दौडबाट छुट्यौं ।’ ४ जित र २ बराबरी खेलेको उनको टिम यसअघि आर्मी र फ्रेन्ड्ससँग हारेको थियो । ‘अब शीर्ष ६ को लागि प्रतिस्पर्धा गर्नुपर्नेछ,’ उनले भने, ‘आज (मछिन्द्रसँग) को प्रदर्शनलाई निरन्तरता दिइयो भने आगामी खेलमा राम्रो नतिजा आउने आशा गरेको छु ।’ थ्रीस्टार तीनपल्टको ए डिभिजन लिग विजेता हो । उसले पछिल्लोपल्ट २०६९ सालमा उपाधि जितेको थियो ।


यो लिगमा कुनै पनि क्लबको प्रदर्शन एकरुपको नभइरहेको अवस्थामा प्रशिक्षक केसीले भने, ‘खेल चाहिँ एकदमै राम्रो खेल्यो । दुवै टिमले स्तरीय खेले । खेलअनुसार गोलहरू भएन । मछिन्द्रले २गोल त गर्‍यो । तर, राम्रो मुभहरू बनाएर सिर्जित अवसरमा भएको उत्कृष्ट गोलहरू होइन । हाम्रो खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नै छु । जित–हार आफ्नो पाटो छ ।’ सरस्वती, च्यासल, एनआरटी र संकटासँग खेल्न बाँकी रहेको थ्रीस्टार गणितीय रूपमा उपाधि होडमै रहेको छ ।


खेल प्रतिस्पर्धात्मक रह्यो । मनाङ र थ्रीस्टारबाट नाम चलेका खेलाडीहरू बटुलेर पहिलोपल्ट ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने अभियानमा रहेको मछिन्द्र बलियो देखियो । डिफेन्सहरू पिटर सेगुन, रन्जित धिमाल र विजय धिमाल आफ्नै पूर्वक्लबको आक्रमण रोक्ने मछिन्द्रको जर्सीमा जिम्मेवारी पाए । दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफमा फरवार्ड बुद्ध चेम्जोङ पनि पूर्वक्लब थ्रीस्टारविरुद्ध उत्रिए । माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्न उडेका फरवार्ड अभिषेक रिजाल र दुई पहेंलो कार्डको कारण निलम्बनमा परेका मिडफिल्डर योगेश गुरुङबिना पनि मछिन्द्रले थ्रीस्टारविरुद्ध ३ अंक जोडेको हो ।


फरवार्ड दीपक राईलाई २८ औं मिनेटमै चोट लागेपछि प्रशिक्षक प्रवेश कटुवालले रेजिन सुब्बालाई मैदानमा पठाए । उनै रेजिनले ३७ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । रन्जित धिमालले प्रहार गरेको फ्रि–किकपछिको ‘मुभ’मा पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका रेजिनले सुजलको पासमा ‘सेकेन्डबार’ च्याप्दै गोलको खाता खोलेका थिए । रेजिनलाई निगरानीमा राख्न नसक्नुको मूल्य थ्रीस्टारले चुकाउनुपरेको हो ।


दोस्रो गोलमा पनि मछिन्द्रका खेलाडीले खुबै मिहिनेत गरे पनि थ्रीस्टारको गल्ती मुख्य कारण बन्यो । सुजल श्रेष्ठले दिएको बलमा एडेलाजा सोमिडेको प्रहार निकै फितलो बन्यो र त्यो बल थ्रीस्टारका डिफेन्डर निशान खड्काले रोक्न पुगे । निशानकै नियन्त्रणमा बल रहेको बेला उनी कप्तान विक्रम लामाबाट धकेलिन पुगे र ‘सिक्स यार्ड बक्स’ मा पाएको त्यो अवसरलाई विशाल राईले गोलमा परिणत गर्दै ९० मिनेटमा मछिन्द्रको जित पक्का गरिदिए ।


जितसँगै मछिन्द्रले ९ खेलबाट १९ अंक बनायो भने एक खेल कम खेलेको आर्मी १७ अंकमा छ । मछिन्द्रले एपीएफ, आर्मी, संकटा र सरस्वतीविरुद्ध खेल्न बाँकी छ । आर्मी एन्फा कम्प्लेक्समा मंगलबार जावलाखेललाई पराजित गर्नसके शीर्षस्थानमा फर्किने छ । अपराजित मनाङ ८ खेलमा १६ अंकसहित तेस्रोमा छ ।


‘सबैभन्दा राम्रो खेल’

‘प्रदर्शन सोचेअनुरुप भयो किनभने हाम्रो टिम बलियो हो,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘थ्रीस्टारविरुद्ध जित्ने रणनीतिअनुसार आएका थियौं । प्रदर्शनले पनि ९ खेलमध्ये यो नै टिम र प्रशिक्षकलाई सबैभन्दा सन्तुष्टि हो । अझै केही गल्तीहरू छन्, त्यसलाई सुधार गर्दै राम्रो प्रदर्शन गर्न चाहन्छौं ।’


उनले कप्तान विराज महर्जनलाई पनि ‘बेन्च’ मा राख्दै खेल सुरु गरे । ‘विराजलाई ग्रोइनको समस्या थियो,’ उनले भने, ‘नामभन्दा जो फिट छ, लयमा छ त्यसैलाई जित्नका लागि खेलाउनुपर्ने हुन्छ ।’ उनले थपे, ‘विराजमा अलिकति त गल्ती छ । तर, मैले हेर्दा सबै खेलाडी एउटै स्तरका छन्, जहाँ गल्ती हुन्छ त्यहाँ परिवर्तन गर्दै खेलाइरहेको छु । विजय (धिमाल) त्यस्तो ठूलो स्टार नभए पनि अनुशासित खेलाडी हो, प्रशिक्षकले भनेको प्रयोग गर्छ, त्यहीअनुसार खेल्दा सजिलो भएको छ ।’


सुरुमा विराजको स्थान राइट–ब्याकमा विजयलाई खेलाए पनि प्रशिक्षक कटुवालले ७५ औं मिनेटमा रेजिन निकाल्दै विराज मैदानमा पठाएपछि विजयलाई विंगरको भूमिका दिएका थिए । ‘दीपक घाइते, अभिषेक माल्दिभ्स, हेमन (गुरुङ) अस्ट्रेलियातिर । धेरै समस्या छ,’ कटुवालले भने, ‘योगेश निलम्बनमा हुँदा विजयलाई विंगर खेलाउनुपर्‍यो । सुजल पनि नखेल्ने अवस्थामा थिए, खेलको एक घण्टाअघि फिजियोको सल्लाहअनुसार खेलाइएको हो । शतप्रतिशत दिएर खेल्छन्, त्यो राम्रो पक्ष हो ।’ उनले थपे, ‘तलको टिमविरुद्ध भने लापरबाही गर्छन्, अब त्यस्तो हुँदैन, जितेका छौं, उत्साही भएर खेल्छन् । लापरवाही गर्‍यो भने गाह्रो हुन्छ ।’

अभिषेक माल्दिभ्स गएकाबारे उनले भने, ‘अभिषेक एक महिनाको अनुबन्ध गरेर गएको हो । उनकै आग्रहअनुसार क्लबले रिलिज दिएको छ ।’ उनले थपे, ‘खेलाडीहरू धेरै खर्च गरेर क्लबले बोलाएको हो । हेमन पनि गए । यसरी धेरै गाह्रो हुन्छ ।’



पुलिस डर्बी

‘पुलिस डर्बी’मा जनपद प्रहरीको टिमसँग १–० ले हारेपछि सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई रेलिगेसनको डर कायम रह्यो । दिनको पहिलो खेलमा भोला सिलवालले १३ औं मिनेटमा पेनाल्टीमा परेको गोल पुलिसलाई चौथो जित दिलाउन पर्याप्त रह्यो ।


यससँगै पुलिसले थ्रीस्टार समान १४ अंक बनायो । तर, दोस्रो चरणमा थ्रीस्टारविरुद्ध १–० ले हारेको पुलिस ‘हेड टु हेड’ को आधारमा पछाडि परेपछि पाँचौंमा रह्यो । उनीहरूलाई एक खेल कम खेलेका एनआरटी, जावलाखेल र संकटा (समान १२ अंक) ले उछिन्न सक्छन् । सातौं हारसँगै एपीएफ (५ अंक) १४ क्लबमध्ये १३ औं स्थानमा छ । एपीएफभन्दा पछाडि छ सरस्वती क्लब (१ अंक) । यो लिगमा अन्तिम स्थानमा रहनेमात्रै रेलिगेसनमा पर्नेछ ।


आजका खेल

हिमालयन शेर्पाविरुद्ध सरस्वती क्लब

११:३० बजे

जावलाखेलविरुद्ध आर्मी क्लब

१५:०० बजे

एन्फा कम्प्लेक्स

प्रकाशित : माघ १४, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?