कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवीनको सपना र कोटेश्वर डोजाङ

कुशल तिमल्सिना

काठमाडौँ — नवीनकुमार श्रेष्ठ आफ्नो समयका उम्दा खेलाडी थिएनन् । उसो त उनको खेलाडी करिअर पनि उल्लेखनीय रहेन । करिब एक दशकको खेलाडी जीवनको अधिकांस समय चोटबाट गुज्रिए । चोटकै बीचमा सन् १९९४ को हिरोशिमा एसियाली खेलकुदमा सहभागी भए । उनको उल्लेखनीय अन्तर्राष्ट्रिय सहभागिता त्यही थियो । तर प्रशिक्षकका रूपमा उनको सफलता सूची लामो छ ।

नवीनको सपना र कोटेश्वर डोजाङ

ग्रासरुटबाट खेलाडी उत्पादन र तिनलाई अन्तर्राष्ट्रिय सफलता दिलाउने गरी दोहोरो जिम्मेवारी सफलतापूर्वक निभाइरहेका छन् ।

उनी राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक हुन् । उनैको नेतृत्वमा नेपालले ११ औं दक्षिण एसियाली खेलकुदमा ११ स्वर्ण जितेको थियो । तेक्वान्दोका २९ खेलाडी पदकविहीन हुनुपरेन । यो उनको एउटा पाटो हो । यी ४८ वर्षीय प्रशिक्षकको अर्को पाटोबारे पनि छ ।


नवीनको नाम सुन्नेबित्तिकै आउने अर्को नाम हो, कोटेश्वर तेक्वान्दो डोजाङ । मंसिर १५ देखि २४ सम्म काठमाडौंमा सम्पन्न १३ औं सागमा कोटेश्वर तेक्वान्दोबाट उत्पादन भएका तीन खेलाडीले स्वर्ण र दुईले कांस्य जिते ।


१३ औं सागमा भूपेन श्रेष्ठले पुरुष ८७ केजीमाथि स्वर्ण जितेपछि भनेका थिए, ‘मेरो जितको सम्पूर्ण श्रेय कोटेश्वर डोजाङलाई जान्छ । म यति सक्षम भएको त्यहींबाट हो ।’ उनले मात्र होइन काजल श्रेष्ठ र सक्षम कार्कीले पनि स्वर्ण जितेपछि यही कुरा दोहोर्‍याएका थिए । ज्ञानेन्द्र हमाल र मनोज मल्ल सेमिफाइनलमै रोकिए ।


पछिल्ला केही वर्षदेखि ग्योरोगीतर्फ जुनियर तेक्वान्दोमा कोटेश्वर डोजाङको एकल राज छ । वर्षमा ४–५ प्रतियोगिता आफैंले आयोजना गर्छ । अन्य प्रतियोगितामा त्यत्तिकै सहभागिता जनाउँछ र सफलता हासिल गरेरै छाड्छ । उत्तिकै संख्यामा प्रतिभावान खेलाडी उत्पादन गरिरहेको छ । जसले अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सकोस् भन्ने डोजाङको लक्ष्य छ । देशभरका सयौं तेक्वान्दो डोजाङ र कोटेश्वर डोजाङमा फरक के छ त ?


‘मेरो सोच जहिल्यै अरुभन्दा पृथक हुनुपर्छ भन्ने थियो । भविष्यमा नेपालको सबैभन्दा राम्रो, सफल र सुविधासम्पन्न डोजाङ बनाउँछु भन्ने सपना साँचेको थिएँ । मैले सधैं गुणस्तरलाई ध्यान दिएँ, पैसाको पछि लागिनँ,’ प्रमुख श्रेष्ठ थपे, ‘यति लामो समय तेक्वान्दोमा बिताएपछि खेलाडीको क्षमता पहिलो फाइटबाटै देखिन्छ । उनीहरूलाई प्राथमिकतामा राखेर प्रशिक्षण गराउने हो ।’


यस्तोमा उनले वर्तमान अन्तर्राष्ट्रिय खेलाडी तथा साग स्वर्णधारी भूपेनको उदाहरण दिए । जसलाई उनी आफ्नो डोजाङमा अहिलेसम्म निस्किएका सबैभन्दा उत्कृष्ट खेलाडी मान्छन् । ‘पहिलोपल्ट भूपेन साथीसँग यहाँ आए । उसको परिवारले भलिबल खेलाडी बनाउन चाहेका रहेछन् । उसको शारीरिक बनोट देखेरै मैले तेक्वान्दो खेल्ने प्रस्ताव गरें । उसले स्वीकारेपछि आजको दिन आएको हो । मेरो विचारमा ओलम्पिक खेल्नसक्ने क्षमता भएको नेपाली खेलाडी अहिलेको समयमा उहीमात्र हो,’ उनले भने ।


कोटेश्वर डोजाङको सफलता आजको भोलि नै निस्किएको होइन । त्यसका लागि करिब तीन दशकको लगानी छ । मार्सल आर्ट नेपालमा विस्तार हुने क्रममा रहँदा ब्ल्याकबेल्ट लिएलगत्तै श्रेष्ठले डोजाङ खोलेका थिए । २७ वर्षअघि डोजाङ स्थापना गरेका उनको तत्कालीन उद्देश्य अर्कै थियो । ‘अन्तर्राष्ट्रिय खेलाडीलाई अहिले त सुविधा राम्रो छैन भने त्यति बेला कल्पनाबाहिर थियो ।


काठमाडौंमा घरजग्गा भए पनि हामी आर्थिक अभावमै हुर्किएका हौं,’ कोटेश्वर–जडिबुटीका स्थानीय श्रेष्ठले सम्झिए, ‘पाकेट खर्चको जोहो पनि हुने र टोलमा प्रतिष्ठा पनि देखिने भएपछि डोजाङको अवधारणा बन्यो । मैले मासिक १ सय शुल्क लिएर कोटेश्वर महादेवस्थानको सरस्वती मावि प्रांगणमा तेक्वान्दो सिकाउन सुरु गरें ।’


उनले सुनाए, ‘खेल सामाग्रीको अभाव त्यस्तै हुन्थ्यो । किन्छुभन्दा पनि नपाइने । किकप्याड, किकबेल्ट त अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा मात्र देख्न पाइन्थो । चप्पलको किकप्याड बनाएर खेलाएँ । बोरामा बालुवा हालेर प्रशिक्षण गराएँ । टोलका साथीलाई पनि सिकाउथेँ । ४०–५० जना हुन्थे । ब्ल्याकबेल्ट लिने बेलामा मुस्किलले १ वा २ जनामात्र हुने, धेरैले बीचैमा छाड्थें ।’ अहिलेका राष्ट्रिय टिमका सक्षम कार्कीका बुवा भैरव कार्कीलाई आफूले तेक्वान्दो सिकाएको उनले स्मरण गरे ।


हिरोशिमा एसियाडमा सहभागिता हुनुअघि नै उनले डोजाङ स्थापना गरेका थिए । एसियाली खेलकुदबाट फर्किएपछि घुँडाको चोटले उनी थलिए । खेलकुद परिषद्बाट प्रशिक्षकको नियुक्ति लिए र आफ्नै डोजाङको स्तरोन्नतिमा तल्लीन भए । आफूजस्तै प्रतिभा उत्पादनको खोजीमा उनले आफ्नै भाइहरूमा प्रयोग गरे । भाइहरू थिए निर्मल र निरञ्जन श्रेष्ठ । निर्मल सरस्वती क्लबबाट फुटबल खेल्थे । दुवैलाई प्रशिक्षण दिन सुरु गरे । ३ वर्षमा भाइहरूले दाइको सपना पूरा गरेर देखाए । निरञ्जनले खेल्न छाडेकामा उनलाई अहिले पनि अपसोच छ । करिअरको उच्च लयमा हुँदैमा भाइ अमेरिका पलायन भएको उनलाई मनपरेको छैन ।


‘चोटबाट फर्किएपछि नेपालमै आठौं दक्षिण एसियाली खेलकुद (साफ) का लागि गरेको प्रयास असफल भएपछि मैले खेलाडी जीवनबाट अघोषित संन्यास लिएँ,’ उनले भने, ‘त्यति बेला निर्मल र निरञ्जनले भने छनोटमात्र होइन, दुवैले स्वर्ण जितेर मेरो सपना पूरा गरिदिए ।’ दाइको परीक्षण सफल भयो । उनी निर्मल र निरञ्जनजस्ता खेलाडीको उत्पादनमै केन्द्रित हुनथाले । प्रथम युथ ओलम्पिकमा सहभागी रन्जन श्रेष्ठ पनि उनकै उत्पादन हुन् । सबैभन्दा धेरै खेलाडी छनोट भएको र स्वर्ण जितेको भने यसपालि हो ।

कोटेश्वर सरस्वती माविबाट सुरुभएको डोजाङले कुनै समय एयरपोर्टको चौरमा पनि प्रशिक्षण दियो । धेरै समय जडिबुटी आसपास अल्झियो । आर्थिक उपार्जनका लागि श्रेष्ठले व्यायाम र स्नुकर पनि सन्चालन गरे । जसले डोजाङको आर्थिक हैसियत उकासेको श्रेष्ठ पनि स्वीकार्छन् ।


पेप्सीकोलाको यती टोल अहिलेको ठेगाना हो । २ रोपनी जग्गा लिजमा लिएर एकेडेमी र जिम हाउस सुरु गरेको ४ वर्ष भयो । अहिले पनि दैनिक १ सयभन्दा धेरै केटाकेटीले तेक्वान्दो सिक्दैछन् । मासिक शुल्क १ सयबाट बढेर १ हजार पुगेको छ । डोजाङ प्रमुख श्रेष्ठ भन्छन्, ‘पहिले १ सय रुपैयाँ लिँदा धेरै कमाएको थिएँ अहिले घाटामै छु ।’


उनको डोजाङमा भर्ना भएकामध्ये तीन चौथाइभन्दा बढीले बीचैमा छाड्छन् । उनको मात्र होइन, अधिकांश डोजाङको समस्या यही हो । उनका अनुसार सफलताका लागि धेरै कुरा मिल्नुपर्छ । लगनशील खेलाडी, स्तरीय प्रशिक्षण र पारिवारिक सहयोग भएमा प्रतिभा उत्पादन हुन समय लाग्दैन ।


करिब एक वर्षयता राष्ट्रिय टोलीमा प्रमुख प्रशिक्षकको जिम्मेवारीका कारण श्रेष्ठले डोजाङलाई पर्याप्त समय दिन सकिरहेका छैनन् । ‘मलाई राष्ट्रिय टिमको महत्त्वपूर्ण जिम्मेवारी छ । अहिले यसैमा केन्द्रित हुनुपर्छ । राष्ट्रिय खेलाडीको छनोटका लागि हालै सार्वजनिक आह्वान गरेका छौं, अन्तर्राष्ट्रियस्तरमा नेपाली तेक्वान्दोको स्तर अझै माथि लाने जिम्मेवारी छ,’ उनले तेक्वान्दोको लक्ष्य सुनाए ।

प्रकाशित : माघ १२, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?