कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ए’ डिभिजन लिग : सबै सम्भावना खुला

काठमाडौँ — सहिद स्मारक लिग ‘ए’ डिभिजनले आठौं चरणको समाप्तिमा शनिबार त्यो दिशा लिएको छ, जहाँ कुनै प्रकारको पनि अनुमान गर्न गाह्रो छ । चाहे त्यो उपाधिको होड वा रेलिगेसनको । सम्भवतः रेलिगेसनमा पर्ने एक टिमका लागि धेरै क्लबको टाउको दुखाइ हुने छैन, जति उपाधि होडमा धेरै टिमले आफ्नो सम्भावना देख्नेछन् । गत वर्षको लिगमा पुछारमा रहेका मछिन्द्र र एनआरटीबाट अंक नखोसिएको भए यसपल्टको लिगमा कुनै पनि प्रकारको अनुमान अझ गाह्रो हुने थियो ।

‘ए’ डिभिजन लिग : सबै सम्भावना खुला

डर छ, कतै यही अंक खोस्ने विवादास्पद निर्णय अहिलेको लिगमा निर्णायक हुने त होइन ? पक्कै डर यसमा पनि छ । शीर्षस्थानमा रहेको आर्मीले दशरथ रंगशालामा शनिबारको खेलमा एनआरटीलाई हराउन सकेन र गोलरहित बराबरीमै चित्त बुझायो । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातार चिन्ता गरिरहेको टिमको क्षेत्र हो, फरवार्डका खेलाडी चम्कन नसक्नु । एनआरटीविरुद्ध यो समस्या चर्को रूपमै देखियो । त्यसमाथि एनआरटी गोलरक्षक अजित प्रजापतिले लिगमै अहिलेसम्मको आफ्नो उत्कृष्ट प्रदर्शन दिए । अजितले आर्मीका जर्जप्रिन्स कार्की र सन्तोष तामाङको प्रयास विफल तुल्याए र खेलका निर्विवाद उत्कृष्ट खेलाडी चुनिए । आर्मीलाई दुःख के तथ्यमा पनि हुनेछ भने एनआरटी १० खेलाडीमा समेटिएको थियो, तर त्यसको पनि फाइदा उठाउन सकिएन । भलै, त्यो इन्ज्युरी समयतिर थियो । जुनियर निकेनगुए दोस्रो पहेँलो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । प्रशिक्षक न्यौपानेले पनि माने, खेलमा अजितको प्रदर्शन लगभग निर्णायकजस्तै रह्यो, आर्मी स्पष्ट ३ अंक बटुल्न असफल भयो ।


एनआरटीका लागि यो एक अंक जित बराबर नै बहुमूल्य हुनेछ । त्यसैले एनआरटी प्रशिक्षक राजुकाजी शाक्यको भनाइ थियो, यो एक अंक शीर्ष ६ स्थानको भिडन्तमा महत्त्वपूर्ण हुनेछ । आठौं चरणको समाप्तिमा शीर्ष आठ टिमबीच ६ अंकको मात्र अन्तर छ । अबका बाँकी ५ चरणमा नतिजा जस्तो पनि आउन सक्छ । सबैभन्दा अगाडि रहेको आर्मीको १७ अंक छ भने आठौं स्थानमा रहेको पुलिससँग ११ अंक छ । त्यसबीचमा एनआरटी १२ अंक लिएर पाँचौंमा छ ।


दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा फ्रेन्ड्सविरुद्ध संकटा क्लब विजयी रह्यो । यसका लागि धन्यवादका पात्र रहे अजयी मार्टिन्स । उनले ६४ औं मिनेटमा सुवास गुरुङको कर्नरलाई हेड गर्दै पोस्टको दिशा दिए । त्यसमा मार्टिन्सलाई राम्रोसँग ‘मार्क’ गर्न नसक्नु फ्रेन्ड्सको एकमात्र निर्णायक भूल रह्यो । यो नतिजापछि संकटा १२ अंकसहित आठौं स्थानमा उक्लेको छ र अब उसले पनि लिगमा राम्रो स्थान ल्याउने सपना बन्न सक्नेछ । फ्रेन्ड्स ८ अंकसहित ११ औं स्थानमा छ ।

प्रकाशित : माघ १२, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?