विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा, राष्ट्रिय टोलीमा कमलसिंह ऐरीको इन्ट्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

तस्बिर सौजन्य : कौशल अधिकारी/क्रिकेटिङ नेपाल
ZenTravel

बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा भएको हो।

प्रतियोगिताका लागि कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर र ललित राजवंशी छनोट भएका छन्।

यसअघि १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। त्यसैगरी वैकल्पिकतर्फ पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो रहेका छन्।

त्रिकोणात्मक खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा यही माघ २२ देखि २९ गतेसम्म हुनेछ। खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ।

प्रकाशित : माघ १०, २०७६ १३:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पूर्व नम्बर एक वोज्‍नियाकीको सन्यास

एजेन्सी

मेलबर्न — पूर्व विश्व नम्बर एक क्यारोलाइन वोज्‍नियाकीले शुक्रबारबाट सन्यास लिएकी छिन् । अस्ट्रेलियन ओपनको तेस्रो राउन्डमा ट्युनिसियाकी ओन्स जाबेरसँग ७–५, ३–६, ७–५ हार बेहोरेसँगै वोज्‍नियाकी आफ्नो १६ वर्षे खेल जीवनबाट सन्यास लिएकी हुन् । 

२९ वर्षीया वोज्‍नियाकीले गत वर्ष मेलबर्न पार्कमा अस्ट्रेलियन ओपनबाट सन्यास लिने घोषणा गरेकी थिइन्। उनले दुई वर्षअघि मेलबर्नमा ग्रान्ड स्लाम पनि जितेकी थिइन्।

दर्शकले भरिएको मेलबर्न पार्कमा सम्बोधन गर्दै वोज्नियाकीले भनिन्, ‘म सबै प्रशंसकलाई धन्यवाद दिन चाहन्छु। कोर्टमा मैले पाएको हौसला साँच्चै अद्‍भूत थियो। म मेरो परिवार खासगरी मेरो बुवा जसले यतिका वर्ष मलाई प्रशिक्षण दिइरहनुभयो, उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु,’ आँसु र हाँसोबीच उनले भनिन्। ‘प्रायः म रुने गर्दिनँ, माफी चाहन्छु। तर मैले सम्झने क्षणहरु यिनै हुन्। यहाँसम्मको यात्रा निकै रोचक भयो। म साँच्चै नै खुसी छु। म नयाँ यात्राका लागि तयार छु,’ उनले भनिन्।

क्यारोलाइन वोज्‍नियाकी : केही तथ्य र महत्वपूर्ण उपाधि

क्यारोलाइन वोज्‍नियाकी सन् २००५ मा सिनसिनाटीमा भएको वेस्टर्न एण्ड साउदर्न ओपनबाट डेब्यू गरेकी थिइन्।
उनी ७१ हप्तासम्म विश्व वरीयताको एक नम्बरमा रहेकी थिइन्। उनले अहिलेसम्म ३० वटा डब्ल्यूटीए उपाधि जितेकी छिन्। उनले पुरस्कारमार्फत नै २७ मिलियन पाउण्ड जितेकी छिन्।

सन् २०१८ मा उनलाई बाथको समस्या पनि देखिएको थियो तर सन्यासको मुख्य कारण त्यो भने नभएको उनले बताएकी थिइन्।

उनी सन् २००९देखि २०१४ र २०१७–२०१८ मा गरी विश्व वरीयताको शीर्ष १० मा रहन सफल भएकी थिइन्।

सन् २०१८ मा युएस ओपन र अस्ट्रेलियन ओपन जितिन्।

उनी डेनमार्कका तर्फबाट तीन पटक ओलम्पिकमा पनि सहभागी भएकी छिन्।

उनी हार्वर्ड बिजनेस स्कुलमा समेत भर्ना भएकी छिन्।

प्रकाशित : माघ १०, २०७६ १२:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×