कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूरी छोट्याउँदै मछिन्द्र

काठमाडौँ — पहिलोपल्ट लिग च्याम्पियन बन्ने लक्ष्यसहित राष्ट्रिय टोलीका अघिकांश खेलाडी समेट्दै टिम निर्माण गरेको मछिन्द्र क्लबले अपेक्षाअनुसार प्रदर्शन गर्न सकिरहेको छैन । सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणमा बुधबार मछिन्द्रले नेपाल पुलिस क्लबमाथि १–० को कठिन जित निकाल्यो । अघिल्लो खेलमा टोलीले हिमालयन शेर्पासँग २–० को अप्रत्यासित हार भोगेको थियो । यो मछिन्द्रको पहिलो हार थियो ।

दूरी छोट्याउँदै मछिन्द्र

यद्यपि बुधबार पाएको जितपछि मछिन्द्रले शीर्ष टोली त्रिभुवन आर्मी क्लबसँगको दूरी छोट्याएको छ । मछिन्द्र अंकतालिकाको दोस्रो स्थानमै यथावत् छ । अघिल्लो संस्करणमा पुछारबाट दोस्रो भएपछि बेहोरेको १ अंकको कारबाही घटाएर मछिन्द्रको ८ खेलबाट १६ अंक भएको छ । १ खेल कम खेलेको आर्मी समान अंक भए पनि गोलअन्तरमा अगाडि छ । पुलिससँगको जितपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले अघिल्लो खेलको हारले टोलीमा निराशा आएको टिप्पणीलाई इन्‍कार गरे ।


‘आज हामीले ३ अंक लियौं, खुसी छौं । तर जस्तो अपेक्षा गरेको थिएँ त्यसअनुसार खेल मैदानमा देखिएन । हामीसँग थुप्रै क्षमतावान खेलाडीको समूह छ । उनीहरूले धेरैभन्दा धेरै अवसरको सिर्जना गर्न सकेनन् । सामान्य पासमा पनि गल्ती गरिरहेका छन् । उनीहरू धेरै हतारिए जस्तो देखियो,’ मनाङ र थ्रीस्टारका पूर्व मिडफिल्डर कटुवालले भने, ‘अघिल्लो चरणमा बेहोरेको पराजयपछि मैले र क्लब प्रशासनले खेलाडीहरूलाई हार बिर्सेर अघि बढ्न भनेका थियौं ।’


अहिलेको स्थितिमा च्याम्पियन बन्ने टिमको भविष्यवाणी गर्न कठिन कार्य भएको कटुवालको ठहर छ । उनका अनुसार लिग उपाधि जित्न मछिन्द्रलाई लिगका बाँकी सबै खेल उत्तिकै महत्त्वपूर्ण छन् । ‘हाम्रा लागि बाँकी सबै खेल उत्तिकै कठिन छन् र शतप्रतिशत जितको विकल्प छैन,’ उनले थपे, ‘अंकतालिका हेर्दा अधिकांश टिमका लागि लिग खुला छ ।’


सात खेलबाट नेपाल पुलिसको ११ अंकमात्र छ । टोली अंकतालिकामा छैटौं स्थानमा छ । लिगमा तेस्रो हार बेहोरेको पुलिसका प्रशिक्षक अनन्त थापाले लिग उपाधिको दौडमा आफूलाई ठूलो धक्का लागेको स्वीकारे । ‘हाम्रा लागि यो खेल जित्नैपर्ने थियो । यसले च्याम्पियनको दौड लगभग असम्भवजस्तै बनेको छ,’ उनले भने । प्रशिक्षक थापाले आफ्नो टिमको हारको कारण गोलरक्षक शत्रुधनकुमार चौधरीको अपरिपक्व प्रदर्शन भएको बताए । ‘कर्नरछेउबाट रन्जित (धिमाल) ले हानेको फ्रिकिक मेरो गोलकिपरले रोक्न सक्ने थियो । बचाउन सक्ने बलमा ऊ चुक्‍न पुग्यो,’ थापाले भने, ‘स्कुलब्वाइ एरर जस्तो देखियो ।’ दशरथ रंगशालामा खेलको पहिलो हाफ निरस थियो । दुवै टिमले गतिलो आक्रमण आधार तय गर्न सकेनन् । मछिन्द्रले बल पोसेसनमा पुलिसलाई पछि पारे पनि आपसी तालमेलमा कमजोरी गरिरहेको थियो ।


पहिलो हाफको इन्ज्युरी समयमा रन्जित धिमालको फ्रिकिकमा पिटर सेगुनको हेड गोललाई रेफ्री प्रकाश श्रेष्ठले अफसाइड करार गरिदिएपछि मछिन्द्रले अग्रता लिन चुक्यो । दोस्रो हाफ केही चलायमान बन्यो । दुवैले एकअर्काका पोस्टमा केही आक्रमण गरेका थिए । ५३ औं मिनेटमा मछिन्द्रले अग्रता बनायो । पुलिसका डिफेन्डर अजित भण्डारीले ह्यान्ड गरेपछि दायाँ कर्नर नजिकैबाट पाएको फ्रिकिकमा रन्जितले आकर्षक गोल गरे । त्यसको ७ मिनेछपछि दायाँ कर्नर नजिकैबाट मछिन्द्रले अर्को फ्रिकिक पायो । विशाल राईको प्रहार पुलिसका गोलकिपर शत्रुधनले पन्च गरेर बचाएपछि मछिन्द्रको अग्रता दोब्बर बनाउने प्रयास असफल भयो । ८१ औं मिनेटमा मछिन्द्रको अर्को गोललाई रेफ्रीले अफसाइड लिइदिए । सुजल श्रेष्ठले बक्सबाहिरबाट गरेको प्रहार शत्रुधनले राम्ररी नियन्त्रण गर्न नसक्दा विशाल राईले रिबाउन्ड बलमा गोल गरेका थिए ।


दोस्रो हाफमा पुलिसले पनि गोलका केही अवसर पाएको थियो । ७१ औं मिनेटमा वैकल्पिक स्ट्राइकर नीरकुमार राईको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पन्च गरे पनि बल पुलिसकै सन्तोष हेमरनको टाउकोमा लागेर क्रसबार नजिकैबाट बाहिरिएको थियो । ७५ औं मिनेटमा अर्का वैकल्पिक भोला सिलवालको फ्रिकिक पनि विशालले क्लियर गरिदिए । खेलको अन्तिम मिनेटमा सौजन राईले २५ यार्डको दूरीबाट प्रहार गरेको फ्रिकिक विशालले नै पन्च गरेर बाहिर पठाएका थिए ।

आजका खेल

हिमालयन शेर्पाविरुद्ध थ्रीस्टार

समय : १२ बजे

जावलाखेलविरुद्ध एपीएफ

समय : १५ बजे

दशरथ रंगशाला

प्रकाशित : माघ ९, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?