कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ए डिभिजन लिग : त्रिभुवन आर्मी ३ अंकले अगाडि

राजु घिसिङ

काठमाडौँ — आर्मीले छैटौं चरणमा संकटासँग बराबरीमा रोकिँदा २ अंकको स्पष्ट अग्रतासहित शीर्षस्थानमा पुग्ने अवसर गुमाएको थियो । त्यसपछि आर्मीलाई प्रतिस्पर्धीहरूको नतिजाले साथ दियो । डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदीसँग थ्रीस्टारले अंक बाँड्यो । मछिन्द्रको अपराजित यात्रालाई हिमालयन शेर्पाले पूर्णविराम लगाइदियो । त्यसैले आर्मी ३–० ले च्यासललाई पन्छाउँदै ३ अंकको अग्रता लिएर सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।

ए डिभिजन लिग : त्रिभुवन आर्मी ३ अंकले अगाडि

प्राय:जसो हरेक चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेकाले पनि आर्मीलाई फाइदा भएको हुनसक्छ । ‘हामीले अरुको खेल हेर्न पाइरहेका छौं,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘संकटाविरुद्ध जित्नैपर्ने दबाब थियो (१–१ भएको खेल) । त्यसपछि थ्रीस्टार–मनाङ बराबरी र मछिन्द्र हार्दा फाइदा हामीलाई भएको छ ।’

उनले थपे, ‘३ अंक लिनु थियो । अब अगाडि कठिन खेलहरू छन् । एनआरटी, पुलिस, मछिन्द्रलगायत अरुसँग खेल्नै बाँकी छ । हरेक खेल महत्त्वपूर्ण छ । हामीले पाएका अवसरहरू उपयोग गर्न सकिरहेका छैनौं, त्यसैमा केन्द्रित भएर अझ बलियो हुन चाहन्छौं ।’


सातौं चरण समाप्तिमा आर्मी (५ जित, १ बराबर, १ हार) १६ अंकसँगै शीर्षस्थानमा उक्लियो । मनाङ (३–४–०) र गत वर्ष १ अंक घटुवामा परेको मछिन्द्र (४–२–१) ले १३–१३ अंक जोडेका छन् । गत वर्ष २ अंक घटुवामा परेको एनआरटी (४–१–२) सहित पुलिस (३–२–२) र थ्रीस्टार (३–२–२) को समान ११ अंक छ ।

पहिलोपल्ट ए डिभिजन लिग च्याम्पियन बन्ने आर्मीको अभियानबारे प्रशिक्षक न्यौपानेले भने, ‘शीर्षस्थानमा पुग्न कति गाह्रो हुन्छ, त्यो ठाउँमा पुगेपछि टिक्न झन् धेरै गाह्रो हुन्छ । आगामी दिनमा त्यसैलाई (शीर्षस्थान) कायम राख्दै उपाधि जित्ने सोचेका छौं ।’


कप्तान भरत खवासले पनि कमी–कमजोरी सच्याएर उपाधि जित्न प्रयास गर्ने बताए । उनी च्यासलविरुद्ध म्यान अफ द म्याच चुनिए । दोस्रो चरणमा मनाङविरुद्ध १–० ले हारेको उनको टिमले फ्रेन्ड्स, हिमालयन शेर्पा, थ्रीस्टार, सरस्वतीपछि ओरालो लागेको च्यासलविरुद्ध पूरा अंक जोडेको हो ।


दोस्रो हाफको प्रभाव

दशरथ रंगशालामा पहिलो हाफ प्रतिस्पर्धात्मक देखिए पनि दोस्रो हाफमा पूर्णतः आर्मी हाबी भयो । कप्तान भरत खवासले सेसेहाङ आङदेम्बेको पासमा आकर्षक गोल गर्दै आर्मीलाई ५८ औं मिनेटमा अग्रता दिलाए । सेसेहाङको प्रहार च्यासलका गोलकिपर एलन न्यौपानेले रोके पनि त्यही रिबाउन्डमा नवयुग श्रेष्ठले बललाई पोस्टको दिशा दिएपछि आर्मी ७३ औं मिनेटमा २–० ले अघि बढ्यो । डिफेन्डर छिरिङ गुरुङले नवयुगलाई पेनाल्टी क्षेत्रमा फाउल गर्दै लडाएपछि प्राप्त पेनाल्टीमा सन्तोष तामाङले गोल गरेर आर्मीलाई ३–० को अग्रता दिलाए । सन्तोषको पेनाल्टीमा एलनको हात छुँदै बलले जाली चुमेको थियो । आर्मीले अर्को पेनाल्टीको मौका पनि पायो । छिरिङले इन्ज्युरीको चौथो मिनेटमा छिरिङले दिनेश हेन्जनलाई लडाएपछि पाएको पेनाल्टीमा नवयुगले प्रहार गरेको बल पोलमा लाग्दै बाहिरियो । यसबीच नवयुग दुईपल्ट सहज अवसरमा चुकिसकेका थिए ।

‘पहिलो हाफमा अलि कमजोरी देखियो, चिसो मौसमको कारण हुनसक्छ । जुन गतिमा खेल्नुपर्ने त्यो देखिएन,’ मनाङका प्रशिक्षक न्यौपानेले भने, ‘दोस्रो हाफमा राम्रो गोलबाट अग्रता लियौं । त्यसपछि विपक्षी चढेर (अगाडि बढेर) खेल्न थाल्यो र हामीलाई सजिलो भयो । त्यसैले काउन्टर मुभमा दोस्रो गोल भयो । विपक्षी अगाडि बढेको स्थानलाई हामीले उपयोग गर्‍यौं । खेल जितेर शीर्षस्थानमा पुग्नु थियो, त्यो पूरा भएको छ, यसलाई निरन्तरता दिँदै जाने कोसिस गर्नेछौं ।’


संकटमा च्यासल

पहिलो खेलमै गत वर्षको उपविजेता संकटालाई पराजित गरेको च्यासल युवा क्लब त्यसयताका ६ खेलसम्म जितविहीन छ । यो लिगमा तेस्रो हार बेहोरेको च्यासल ६ अंक (१–३–३) सहित १२ औं स्थानमा छ । उसलाई एपीएफ (५) र रेलिगेसन क्षेत्रमा रहेको सरस्वती (१) ले पछ्याइरहेको छ ।

‘अंकतालिकाले हामी रेलिगेसन प्रतिस्पर्धामै भएको देखाउँछ । टिमले पनि । गेम पनि त्यस्तै भइरहेको छ,’ च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘जबसम्म हामीले खेल जित्दैनौं, तबसम्म यो गर्छु त्यो गर्छु भनेर फाइदा छैन । यस्तै खेल्यौं भने जुनै टिमसँग पनि गाह्रो हुन्छ, गोल निस्किएन भने खेलाडी आफैं निरास भइरहेका हुन्छन् ।’ हरेक खेल महत्त्वपूर्ण भएको पनि उनले बताए ।

सन्तोष साहुखलसँगै जापानबाट ल्याइएका तीन खेलाडी, सुनील बल, हेमन्त थापामगरसहित राम्रै खेलाडीलाई समेटर च्याम्पियन बन्ने लक्ष्य बनाएको च्यासल सातौं चरणमा आइपुग्दा मैदानमा कमजोर देखिन थालेको छ । ‘निरास छौं,’ आर्मीविरुद्ध हारेपछि प्रशिक्षक साहुखलले भने, ‘टिममा धेरै समस्या छ । जति खेल बढ्दै गएको छ त्यति समस्या ।’


समस्या चाहिँ के हो त ? उनले भने, ‘हाम्रो टिम १–२ खेलाडीमा मात्रै निर्भर भयो । अरु खेलाडीले खेल्न सकेनन् । एकदम समस्या छ हाम्रो टिममा । समस्या प्रतिबद्धताकै हो एउटा टिमको रूपमा । तेस्रो–चाथो खेलबाट टिमको सेटअपमा खेल्न नखोज्ने, आफ्नै तरिकाले खेल्न खोज्ने देखियो । एक–दुई खेलमा त्यसमा सुधार भए पनि पछि त्यस्तै गल्ती दोहोरियो । यस्तो हुँदा आर्मीजस्तो टिमसँग खेल्न गाह्रो हुन्छ ।’

उनले थपे, ‘पहिलो हाफमा मौका बनाएका थियौं तर उपयोग भएन । मुख्यतः आफ्ना पक्षमा नतिजा नआउनेबित्तिकै खेलाडी निरास हुने र आफ्नै दिमागले खेल्न थाल्ने देखियो ।’


ब्रिगेड ब्वाइज ०–० संकटा

एन्फा कम्प्लेक्स, सातदोबाटोमा ब्रिगेड ब्वाइज र संकटाले गोलरहित खेल्दै अंक बाँडेका छन् । संकटा पछिल्ला तीन खेलमा अपराजित रह्यो भने ब्रिगेड ब्वाइजले लगातार दोस्रो खेल गोलरहित टुंग्याएको हो । संकटा (९ अंक), ब्रिगेड ब्वाइज र फ्रेन्ड्स (दुवैको ८ अंक) शीर्ष दशमा छन् ।

प्रकाशित : माघ ७, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?