कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा धमाधम खेल पूर्वाधार

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिका–१५, सेमलारमा धमाधम अत्याधुनिक कभर्डहल निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय स्तरको इन्डोर खेल गर्न मिल्ने हलमा १ हजार ५ सय दर्शक अट्नेछन् । ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, कराते, तेक्वान्दोलगायत खेल गर्न मिल्नेछ । कभर्डहलले करिब ५ कठ्ठा जग्गा ओगटेको छ । त्यसको दायाँबायाँ १०–१० मिटरको खुला ठाउँ हुनेछ । हलबाहिर पार्किङ, हरियाली क्षेत्र र फूलबारी निर्माण गरिनेछ ।

बुटवलमा धमाधम खेल पूर्वाधार

२ करोड ४० लाख लागतमा बन्ने कभर्डहलमा प्रदेश सरकारले ८५ लाख रुपैयाँ लगानी गरेको छ । स्थानीय उपभोक्ताले ९ लाख जुटाएका छन् । अरू रकम उपमहानगरपालिकाले खर्चनेछ । गत वर्ष सुरु आयोजना आउँदो वर्ष सक्ने लक्ष्य छ । ‘यहाँ फुटबल, क्रिकेट, भलिबललगायत खेलका व्यवस्थित मैदान छन् । तर, इन्डोर खेलका लागि व्यवस्थित हल छैन,’ बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले भने, ‘त्यसैले अत्याधुनिक सुविधासहित कभर्डहल बनाएका हौं ।’ प्रदेशमै इन्डोर खेलका लागि यस्तो कभर्डहल छैन ।


काठमाडौंबाहिर नियमित खेल गतिविधि हुने क्षेत्र हो बुटवल । जहाँ स्थानीय वा प्रादेशिकमात्रै होइन, नियमित राष्ट्रिय प्रतियोगिताहरू भइरन्छ । यहाँ हुने यिनै खेल प्रतियोगिता र अभ्यास बढाउन भन्दै गत वर्षबाट ‘एक वडा एक खेलमैदान’ अभियान सुरु भएको हो । उपमहानगरले घोषणा गरेको कार्यक्रममा प्रदेश र संघीय सरकारले समेत सघाएका छन् । यसबाट मैदान नभएका वडामा बनाउने र भएकामा संरक्षण तथा मर्मतसम्भार गर्ने काम भएको छ । चालु आर्थिक वर्षमा मात्रै ६ नयाँ खेल मैदान तथा कभर्डहल निर्माण भइरहेका छन् । सातवटा मर्मत भइरहेको छ् । ‘बढ्दो सहरीकरणसँगै बुटवलमा खुला ठाउँमा बस्ने र खेल्ने ठाउँको अभाव छ । नयाँ खेलाडी उत्पादन र दैनिक अभ्यासका लागि खेलमैदान आवश्यक छ,’ उनले भने, ‘यही अभाव पूरा गर्न अभियानका रूपमा खेलमैदान बनाउन थालेका हौं ।’


व्यवस्थित फुटबलका लागि बुटवल–१३ को उजिरसिंह जबई मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाइँदै छ । त्यसका लागि उपमहानगरले डीपीआर तयार गरेको छ । ३३ करोड लगानीमा व्यवस्थित रंगशाला बन्ने उल्लेख छ । यसपालि ईआईएलगायतका काम हुँदैछन् । चालु आवमा निर्माण सुरु गर्न प्रदेश सरकारले ५करोड रुपैयाँ उपलब्ध गराएको छ । त्यसमा उपमहानगरले थप लगानी गर्नेछ ।


नयाँ निर्माणमात्र होइन, यहाँका पुराना खेलमैदानको मर्मतको कामसमेत सुरु भएका छन् । त्यसमध्येको हो रामनगरको खेलमैदान । बुटवल–१० मा रहेको यस मैदानमा लामो समयदेखि राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना भएको छ । तर, तारबार र संरक्षणविहीन अवस्थामा रहेको यस मैदानलाई गत वर्षदेखि मर्मतसम्भार थालिएको छ । मैदान सम्याइएको छ । वरपरबाट पर्खाल लगाएर घेरिएको छ । ‘गत वर्ष संघीय सरकारबाट छुट्याइएको १० लाख रकमबाट काम भयो,’ उपमहानगरका खेलकुद विकास समिति संयोजक नन्दु काउचाले भने, ‘यस वर्ष १५ लाख रुपैयाँ छुट्याएर तारबारको थप काम हुनेछ ।’


बुटवल–७, दीपनगरमा रहेको सिद्धेश्वरी मैदानमा समेत मर्मतसम्भारको काम चलेको छ । यो मैदानमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमा उपमहानगरको १५ लाख रुपैयाँ खर्चेर ट्र्याक बनाएको छ । यसपालि प्रदेश सरकारले मर्मतसम्भारमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसबाट तारजाली लाउने र घेर्ने काम हुनेछ ।


नहरपुर मावि नजिकै जोडिएको छ नहरपुर खेलमैदान । जहाँ हरेक महिना फुटबललगायत खेलका प्रतियोगिता हुन्छन् । दिनहुँ अभ्यास गर्ने खेलाडी भेटिन्छन् । यही व्यस्त मैदान व्यवस्थित गर्न नगरपालिकाले लगानी गरेको छ । ‘गत वर्ष १३ लाख ५० हजारबाट काम भयो,’ संयोजक काउचाले भने, ‘यस वर्ष मैदान व्यवस्थापनमा रकम मागेका छौं ।’ उपमहानगरले गत आर्थिक वर्षमा देवसिद्ध, बेलवास, तामनगर, हरियाली खेलमैदान मर्मतसम्भार गर्ने र खेलका लागि सुरक्षित बनाउने काम गरेको छ ।


बुटवलमा यसअघि नै एन्फाको सुविधासम्पन्न खेलमैदान छ । इन्डोर अभ्यास र प्रतियोगिताका लागि आधा दर्जन कभर्डहल छन् । उपमहानगरले थालेको एक वडा एक खेलमैदानले खेल संरचना अझ बढेका छन् । जिल्ला खेलकुद समितिका निवर्तमान अध्यक्ष योग गुरुङले कभर्डहल निर्माणले खेल गतिविधि बढ्ने अपेक्षा गरे । ‘खेलकुद अनुशासन हो । शारीरिक र मानसिक स्वास्थ्यका लागि औषधि हो,’ उनले भने, ‘त्यसका लागि पूर्वाधार बनाउनु पहिलो काम हो । राज्यबाट यो कुरा बल्ल बुझिँदै छ ।’

प्रकाशित : माघ ५, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?