कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच सेटको रोमान्च

काठमाडौँ — क्लब भलिबलमा पछिल्लो तीन वर्षयता न्यु डायमन्ड र एपीएफकै दबदबा रहँदै आएको छ । पछिल्ला हरेक प्रतियोगिताको फाइनलमा यी दुईको भेट हुने गर्छ । शुक्रबार काठमाडौंमा सुरु आरबीबी–एनभीए कप क्लब च्याम्पियनसिप भलिबलमा भने न्यु डायमन्डलाई अर्को विभागीय टोली नेपाल पुलिस क्लबले कठिन चुनौती दियो । दुईपल्ट पछि परेको स्थिति उल्टाउँदै न्यु डायमन्डले खेलमा जितेको हो । महिला भलिबलमा तीन विभागीय र न्यु डायमन्डकै दबदबा छ ।

पाँच सेटको रोमान्च

एपीएफ र न्यु डायमन्ड अघि–अघि, त्रिभुवन आर्मी र पुलिस पछि–पछि हुन्थे । राष्ट्रिय टोलीका युवा खेलाडीहरू पुनम चन्द र उषा विष्टलाई अनुबन्ध गरेको पुलिस आफ्नो विरासत फर्काउने लक्ष्यमा छ । तर अनुभवी खेलाडीको अभाव प्रस्ट छ । राष्ट्रिय टोलीका तीन सदस्य (सेटर अरुणा शाही, लिबेरो सलिना श्रेष्ठ र स्पाइकर प्रतिभा माली) प्रेरित न्यु डायमन्डले पहिलो सेट १७–२५ ले गुमायो । मुख्यतः यिनै तीन खेलाडीको भरमा रहेको न्यु डायमन्डको कमजोर ब्लकको फाइदा पुलिसले लिएको थियो ।


दोस्रो सेट २५–१८ ले जितेर खेल बराबरीमा ल्यायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा कुनै समय न्यु डायमन्डले ११–१५ को अग्रता बनाइसकेको थियो । त्यसलाई जोगाउन नसक्दा २३–२५ ले सेट गुमाउन पुग्यो र खेलमा पुनः पछि पर्‍यो ।


चौथो सेटमा सुरुमै पछि परेको डायमन्डले पुनरागमनसहित २५–१८ ले नै सेट जित्यो । अन्तिम तथा निर्णायक सेटमा भने सुरुदेखि नै अग्रता बनाएको उसले अन्तिमसम्म कायम राख्न सफल रह्यो । अन्तिम सेट न्यु डायमन्डले १५–११ ले जित्यो । टोलीले समूह ‘बी’ मा विजयी सुरुआत गरेको छ । पुरुषतर्फ साबिक विजेता त्रिभुवन आर्मी र एपीएफले आफ्नो खेलमा जितका छन् । पहिलो खेलमा आर्मीले आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–९, २५–१६, २५–९ को सेटमा खेल जित्यो ।


बुलबुले रारा क्लबलाई ३–१ को सेटमा हराउन एपीएफलाई भने हम्मेहम्मे पर्‍यो । स्तरीय तीन विदेशी खेलाडीसहित पहिलोपल्ट प्रतियोगितामा सहभागी बुलबुले क्लबले पहिलो सेट २३–२५ ले जितेको थियो । तर त्यसपछि तीन सेटमा एपीएफले सम्हालिएको खेल प्रदर्शन गर्‍यो । एपीएफले पछिल्ला सेट २५–२३, २५–२०, २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । शनिबार महिलामा एपीएफ र जावलाखेल तथा भरतपुर महानगर र आर्मी तथा पुरुषतर्फ आरजी ग्रुप र नयाँबजार तथा पुलिस र पार्वती भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ४, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?