कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोनामा सेटिनलाई स्वागत

एएफपी

म्याड्रिड — बर्खास्तगीमा परेका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई प्रतिस्थापन गरी क्वेक सेटिनले बार्सिलोना प्रशिक्षकका रूपमा आफ्नो पहिलो सत्र मंगलबार सुरु गरेका छन् । केही दिनयता भाल्भर्डेले यो समय आउने संकेत पाइसकेका थिए । एककिसिमले उनी तयारी अवस्थामा थिए । उनले खेलाडीसँग बिदा मागे र आफ्नो सामान पोको पारेर बाटो लागे । 

बार्सिलोनामा सेटिनलाई स्वागत

आफ्ना प्रतिष्ठित पूर्व मिडफिल्डरले तत्कालका लागि प्रशिक्षक बन्न अस्वीकार गरेपछि बार्सिलोना व्यवस्थापन ६१ वर्षे सेटिनतर्फ मोडिएको हो, जो आफ्नो प्रशिक्षण जीवनमा रोमान्चक र पोजिसनमा आधारित फुटबलको पक्षपाती रहे । सोमबार अपरान्ह ४ घण्टासम्म चलेको क्लब बोर्ड बैठकले सेटिनको नियुक्ति निश्चित गरेको हो । उनको अनुबन्ध २०२२ को जुन महिनासम्म छ । टिमले हासिल गर्ने सफलताले उनको अनुबन्ध निर्धारण गर्नेछ ।

सन् २००३ पछि बार्सिलोनाले पहिलोपल्ट सिजनको मध्यमा प्रशिक्षक बर्खास्त गरेको हो । यसअघि लुइस भान गाललाई बर्खास्त गरिएको थियो । टिमको समग्र प्रदर्शन कमजोर अवस्थामा पनि छैन । सेटिनले टिमको सम्मानित अवस्थाबाटै ला लिगाको सुरुआत गर्नेछन् । चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग समान अंक भए पनि बार्सिलोना ला लिगाको शीर्षस्थानमै छ । अर्को महिना इटालियन टोली नेपोलीसँग च्याम्पियन्स लिग अन्तिम १६ को खेल खेल्नेछ । जुन बार्सिलोनाका लागि ठूलो चुनौती दिने प्रतिस्पर्धी होइन ।

मैदानभित्र मात्र होइन बाहिर पनि विश्व फुटबलमा बार्सिलोनाको उपस्थिति सबैभन्दा बलियो नै छ । सन् २०१८/१९ को सिजनमा कीर्तिमानी ९ सय ३७ मिलियन डलरको आम्दानीसँगै डेलोट्टीको वार्षिक फुटबल मनी लिग टेबलमा पनि सोमबारसम्म शीर्षस्थानमा छ ।

सायद यो महिना नयाँ स्ट्राइकर अनुबन्धका लागि आम्दानीको केही रकम खर्च गर्नुपर्ने हुनसक्छ । सेटिनले लुइस स्वारेजबिनाको टिमको जिम्मेवारी लिँदै छन् । स्वारेज गोलीगाँठाको चोटका कारण ४ महिना मैदानबाहिर हुनेछन् । उत्कृष्टमध्ये एक क्लबको जिम्मेवारी सम्हाल्दै गर्दा सेटिनले आफ्नो निश्चित सिद्धान्तसाथ नयाँ तरिकाबाट सफलताको प्रयास गर्नुपर्नेछ । केही विश्लेषकले सेटिनलाई बार्सिलोनाको पूर्ववत् शैली कायम राखेर नयाँ सिद्धान्तको प्रयोग गर्न सुझाएका छन् ।

‘बल सँगै जाँदामात्र तपाई एउटा फुटबल खेलाडी बन्नु हुन्छ । बलको पछि पछि कुदेर होइन,’ सेटिनले गत वर्ष भनेका थिए । उनले एकपल्ट यस्तो टिप्पणी गरेका थिए कि योहान क्राएफमातहतमा खेल्नका लागि उनी आफ्नो हातको कान्छी औंला काट्‌न तयार थिए ।


भाल्भर्डेको अधिक क्रियाशील दृष्टिकोणपछि बार्सिलोनाले आफ्नो मौलिक शैली थप परिस्कृत बनाउन सेटिनको दर्शन उपयोगी हुने विश्वास लिएको छ । ‘सेटिन स्पेनिस फुटबलमा सबैभन्दा अनुभवी प्रशिक्षकमध्येका हुन्,’ सोमबार राति क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘आफ्नो करिअरको धेरैजसो समय उनले पोजिसनमा आधारित आक्रमक फुटबलका लागि खर्चिएका छन् । जुन समर्थकका लागि आकर्षक रहिआएको छ ।’

सेटिनका लागि घरेलु मैदानमा पहिलो खेल ग्रेनाडासँग हुनेछ । जुन आइतबार खेलिनेछ । तर आगामी ६ साता उनका लागि चुनौतीपूर्ण खेलको लहर लाग्नेछ । त्यसमध्ये भ्यालेन्सिया, रियल बेटिस र मार्चको सुरुमा रियल म्याड्रिडविरुद्धको अवे खेल समावेश छ ।

एट्लेटिको म्याड्रिड र रेसिङ सान्टान्डरका यी पूर्व खेलाडीले स्पेनका लागि ३ क्याप जितेका छन् । उनले सन् २०१८ मा रियल बेटिसलाई ला लिगामा छैटौं स्थानमा पुर्‍याएका थिए ।

प्रकाशित : माघ १, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?