कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रेन्ड्ससँग थ्रीस्टार स्तब्ध

फ्रेन्ड्सको थ्रीस्टारमाथि लिगमा तीन दशकयता पहिलाे जित
राजु घिसिङ

काठमाडौँ — फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्ला तीन खेलमा अपराजित रह्यो । डिफेन्डिङ च्याम्प्यिन मनाङ–मर्स्याङदीविरुद्ध १–१ खेलेपछि हिमालयन शेर्पासँग पनि अंक बाँडेको फ्रेन्ड्सले ‘ललितपुर डर्बी’मा आइतबार थ्रीस्टारलाई १–० ले हरायो ।

फ्रेन्ड्ससँग थ्रीस्टार स्तब्ध

छैटौं चरणमा आएर फ्रेन्ड्सले यो लिगमा पहिलो जित दर्ता गरेको हो । उपाधिका दाबेदार र घरेलु फुटबलकै सर्वाधिक लोकप्रिय दुई क्लबसँग फ्रेन्ड्सले अंक खोसेको तथ्यलाई विश्वास गर्न धेरैलाई गाह्रो पर्छ । किनभने सुरुका तीन खेल हारेको फ्रेन्ड्सले गतिलो टिमबिना पनि आसलाग्दो सपना बाँड्‌न थालेको छ ।

ब्राजिली फरवार्ड वांगर डे कार्मोले विश्व अधिकारीको फ्रि–किकमा १३ औं मिनेटमा हेडद्वारा गोल गरेपछि फ्रेन्ड्सले छिमेकी थ्रीस्टारलाई दशरथ रंगशालामा पराजित गरेको हो । फ्रेन्ड्सको ऐतिहासिक जित पनि हो यो किनभने उसले २०४६ सालयता थ्रीस्टारमाथि लिगमा पहिलो जित रचेको हो ।

ए डिभिजन लिगको यो आधुनिक युगमा भएको भेटमा यसअघि थ्रीस्टार हावी हुँदै आएको थियो । विगतका १७ खेलमा थ्रीस्टारले १५ जित निकालेको थियो भने फ्रेन्ड्सले दुई खेलमा मात्रै बराबरी नतिजा निकाल्न सकेको थियो । फ्रेन्ड्सले १८ औं भेटमा आएर पहिलो जित रच्यो । यी सबै तथ्यांक २०४६ सालयताका हुन् र त्यसअघिको लिगबारे भने स्पष्ट जानकारी पाइँदैन ।

कुपन्डोलका युवाहरूले २०२९ सालमा स्थापना गरेका थिए, फ्रेन्ड्स क्लब । त्यस बेला पाटनको फ्रेन्ड्स युनियन चर्चित थियो । फ्रेन्ड्सका अध्यक्ष राजीवराज पौडेलका अनुसार कुपन्डोलको फ्रेन्ड्सले फ्रेन्ड्स युनियनलाई २०३६ सालतिर पारजित गरेपछि पाटने क्लब विस्तारै सुस्तायो र त्यही पाटने फुटबलको शक्तिको रूपमा आयो थ्रीस्टार । फ्रेन्ड्सले ०३४ सालमा ए डिभिजन लिगको यात्रा थालेको थियो भने त्ययसको पाँच वर्षपछि थ्रीस्टार शीर्ष श्रेणीमा उभिएको थियो ।

थ्रीस्टार २०५४, ०६१ र ०६९ मा लिग च्याम्पियन बन्दै देशकै फुटबलको शक्ति र प्रिय क्लबमा परिणत भयो । फ्रेन्ड्स पनि २०५२ सालमै च्याम्पियन बन्ने मौका पाएको थियो । फ्रेन्ड्सलाई अन्तिम खेलमा बराबरी नतिजाले पनि च्याम्पियन बनाउनसक्थ्यो । उसलाई ५–० ले स्तब्ध पार्दै एनआरटी च्याम्पियन भयो । उपविजेतामै खुम्चिए पनि त्यो नै ए डिभिजन लिगमा फ्रेन्ड्सको सबभन्दा ठूलो उपलब्धि हो । फ्रेन्ड्स गत वर्ष ११ औं स्थानमा रहेको थियो । २०३० को उत्तरार्ध र पचासको दशक शक्तिशाली रहेको फ्रेन्ड्स २०६० सालयता भने अंक तालिकाको मध्यतिरै रुमल्लिरहेको छ ।

अध्यक्ष पौडेलले यो सिजन झन्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । २०५४ देखि झन्डै एक दशक फ्रेन्ड्सको मिडफिल्डमा छाएका रबिन व्यन्जनकार अहिलेका टिम व्यवस्थापक हुन् । आफ्नो टिमबारे उनी भन्छन्, ‘यसपालि हाम्रो खराब पक्ष के हो भने राम्रो खेलाडी राख्न सकेनौं । यी खेलाडीहरूमा राम्रो गर्ने विश्वास छ । यसो भन्दा मलाई अरूले विश्वास गर्दैन किनभने हामीले नतिजा (जित) दिन सकिरहेका छैनौं । थ्रीस्टारविरुद्धको जितले आशा देखाएको छ, विश्वास बढाएको छ । तर, उत्तिकै डर (कमजोर खेल) पनि छ ।’

यो सिजन १४ क्लबमध्ये पुछारको टिम रेलिगेसनमा पर्ने छ । आइतबारको दोस्रो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध गोलरहित नतिजा निकाल्दै पहिलोपल्ट हार टारेको सरस्वती (१ अंक) पुछारमा छ । पहिलो जितसँगै फ्रेन्ड्सले ५ अंक बनायो । हिमालयन शेर्पा र एक खेल कम खेलेको एपीएफको ४–४ अंक छ । त्यसैले फ्रेन्ड्सको लागि सातौं चरणमा सरस्वतीविरुद्धको खेल पनि महत्वपूर्ण हुनसक्छ ।

राम्रो जित’

फ्रेन्ड्सले लिगको एक महिनाअघि नै तीन ब्राजिलियन खेलाडी भित्र्याएर माहोल तताएको थियो । उसले ब्राजिली प्रशिक्षक मार्कुस डान्तसलाई यो लिगका लागि जिम्मेवारी सुम्पियो । फ्रेन्ड्सले दुई वर्षअघि ललित स्मृति यू १८ च्याम्पियनसिपमा सहभागी खेलाडीलाई आफ्नो बनाइरहेको थियो । त्यसैले उसले यो लिगमा च्याम्पियन नै नभए पनि गतिलै प्रभाव देखाउने अपेक्षा गरिएको थियो । आर्मी, ब्रिगेड ब्वाइज र मछिन्द्रविरुद्ध लगातार हारेपछि प्रशिक्षक मार्कुसले भनेका थिए, ‘युवा खेलाडी आशालाग्दा छन्, भविष्यमा राष्ट्रिय टिमबाट खेल्ने प्रतिभा देखेको छु । तर, उनीहरूले खेल्नै सकेनन्, ब्राजिली खेलाडी पनि नाममात्रकै भए ।’

वास्तवमा भन्ने हो भने ब्राजिलका तीन खेलाडी (फरवार्ड वांगर, मिडफिल्डर फिलिप डे सुजा र साउलो डे अक्विलो) नाममात्रकै ब्राजिली खेलाडी देखिए । फिलिप र वांगरले विस्तारै लय समात्न थालेका छन् । यी दुवै थ्रीस्टारविरुद्ध प्रभावशाली देखिए । उनीहरू केही सहज अवसरमा भने बललाई पोस्टको दिशा दिन चुके । साउलो भने थ्रीस्टारविरुद्ध ‘बेन्च’ मै सीमित रहे । भारतीय फरवार्ड उत्तम राई मनाङसँगको खेलबाट उपलब्ध भएपछि फ्रेन्ड्स अलि सुदृढ बन्यो । थ्रीस्टारले पनि अन्त्यतिर मौका नपाएको होइन, तर सदुपयोग गर्न सकेन । उसको आक्रमणभन्दा फ्रेन्ड्सको डिफेन्स राम्रो देखियो । दुई हाफमा गरी १६ मिनेटको इन्ज्युरी समयसहितको १०६ मिनेटको प्रतिस्पर्धामा फ्रेन्ड्सका युवा खेलाडी नै छरिता देखिए, प्रभावी रहे ।

राष्ट्रिय टिमबाट खेलिरहेका अनन्त तामाङ र विक्रम लामाले थ्रीस्टारलाई उकास्न सकेनन् । उनीहरूकै प्रदर्शन पनि स्तरअनुरूप भएन । मिडफिल्डमा मिक्चेन तामाङले प्रभाव देखाउन सकेनन् । अनुभवी मिडफिल्डर रुपेश केसीको प्रदर्शन पनि फिक्का रह्यो । आर्मीविरुद्ध २–० ले हारेको खेलमाजस्तै थ्रीस्टारका खेलाडीहरू मिहिनेती भएको भए ललितपुर डर्बीमा फ्रेन्ड्सले इतिहास नलेख्न पनि सक्थ्यो । युवा खेलाडीको मिहिनेत, बांगरको अग्लो कद र थ्रीस्टारका खेलाडीहरूको सुस्त गतिले खेलको कथाले फ्रेन्ड्सलाई रोज्यो । त्यसले ‘प्लेयर बक्स’ मा फ्रेन्ड्सका खेलाडी र अफिसियलको आक्रामक रूपलाई पनि ढाकछोप गरिदियो ।

‘महत्त्वपूर्ण खेलमा राम्रो जित निकाल्यौं,’ फ्रेन्ड्सका प्रशिक्षक मार्कुसले भने । रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका उनले आफ्नै प्लेयर बक्समा देखिएको आक्रामकताबारे भने, ‘मलाई त्यस्तो मन पर्दैन । यो राम्रो होइन ।’ फ्रेन्ड्सको प्रशिक्षक उनी भए पनि ‘टचलाइन’मा एकैपल्ट तीन जनासम्म चिच्याइरहेका र आक्रोश पोखिरहेका देखिन्थे । त्यसैले त रेफ्रि कबिन व्यन्जनकारले प्लेयर बक्समै आएर तीनपल्ट पहेंलो कार्ड देखाइदिए ।

थ्रीस्टारको अन्तर

‘हामी स्कोरिङमै चुक्यौं । टिमले उत्कृष्ट खेल्न पनि सकेन,’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘आज उनीहरूको दिन रहेछ । फुटबलमा यस्तै हो ।’ दोस्रो हारसँगै थ्रीस्टारले शीर्षस्थानको रहेको मछिन्द्रसँग अंक बराबरी (१३) बनाउने अवसर गुमायो । एक खेल कम खेलेको आर्मीले संकटालाई पराजित गर्नसके थ्रीस्टार ५ अंक पछाडि पर्नेछ । उपाधि होडबारे प्रशिक्षक केसीले भने, ‘६ खेलले अर्थ राख्दैन, पहिलो दोस्रो १३ खेलबाट थाहा हुने हो । आजको हारले उपाधि होडबाट बाहिरिएको हो कि जस्तो भने भएको छ ।’

प्रकाशित : पुस २८, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?