कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियन टिम आउँदै

मनमोहन स्मृति

इटहरी — सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल लिग (एमएमएल) एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्न मलेसियाको टिम आउने भएको छ । बिहिबार दिउँसो मलेसियन टोली नेपाल आइपुग्दै छ । मलेसियाले पहिलो खेल पुस २६ मा सुदूरपश्चिमसँग खेल्नेछ । 

मलेसियन टिम आउँदै

दोस्रो खेल पुस २८ मा गण्डकी प्रदेशसँग हुनेछ । घरेलु लिगमा विदेशी राष्ट्रिय टिमले भाग लिने भएसँगै क्रेज बढेको छ । खेलाडीहरूसमेत निकै उत्साही भएका छन् । दर्शक सहभागिता बढ्ने आयोजकको अपेक्षा छ । अन्यथा दर्शकबिनै खेल भइरहेको छ । मनमोहन स्मृति क्रिकेट सेन्टर प्रदेश १ का अध्यक्ष विप्लव घोषले निकै कठिनाइका बाबजुद मलेसियाको राष्ट्रिय टोली नेपाल ल्याउन सफल भएको बताए । ‘विदेशी टिमलाई घरेलु लिगमा सहभागी गराउन सक्यौं,’ उनले भने, ‘५० ओभरको एकदिवसीय खेल गराउनु निकै कठिन छ । तर हामीले सफल गर्‍यौं ।’

यसपालि मलेसियाबाट अम्पायर पनि ल्याउने आयोजकको लक्ष्य थियो । तर सम्भव नभएपछि मलेसिया टिमलाई मात्र घरेलु लिगमा सहभागी गराएको हो । गत वर्ष आयोजकले प्रदेशस्तरको भारतीय सुपलगोरा टिमलाई सहभागी गराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले अनुमति दिएपछि मलेसियालाई सहभागी गराउन सम्भव भएको जनाइएको छ । डेढ महिनाको लगातार प्रयास सफल भएको आयोजक अध्यक्ष घोषले बताए । होटल, खेल मैदान, सुरक्षाजस्ता पक्ष व्यवस्थापनपछि मलेसिया टोलीलाई नेपाल ल्याइने भएको हो । त्यति मात्र होइन मलेसियाले राष्ट्रिय टोलीसँग खेल्ने वातावरण तय भए मात्र आउने भनेको थियो । घरेलु मैदानमा विदेशी टोलीलाई उतार्न क्यान सकरात्मक देखियो । नेपाली टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने वातावरण बनाइदिएका कारण मलेसियालाई सहभागी गराउन सकिएको घोषले बताए ।

मलेसियाले नेपालसँग तीन एकदिवसीय खेल पोखरामा खेल्ने तय भएको छ । तर तालिका भने सार्वजनिक गरिएको छैन । विदेशी टिमलाई नेपाल भित्र्याउन आयोजकले करिब १२ लाख खर्च गरेको जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च लाग्ने आयोजकले अनुमान छ ।


पुलिसको सानदार जित


कर्णाली प्रदेशविरुद्ध सानदार अर्धशतक बनाएपछि कुशल भूर्तेल । तस्बिर : सुम्निमा/कान्तिपुर

मनमोहन स्मृति लिग (एमएमएल) राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सानदार जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत बुधबार पुलिसले कर्णाली प्रदेशलाई २ सय ६७ रन अन्तरले हरायो ।

इनरुवा रंगशालामा टस जितेर कर्णालीले फिल्डिङ रोजेको थियो । ब्याटिङ गर्न आएको पुलिसले ३ सय ४६ रन जोड्यो । ३ सय ४७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २७.१ ओभरमा ७९ रनमै समेटियो ।

पुलिससामु कर्णाली प्रदेशको सुरुबाटै कमजोर प्रदर्शन रहयो । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजभण्डारी, मन्जित श्रेष्ठ र सागर ढकालले २–२ विकेट लिए । दीपेन्द्र, पवन सर्राफ, ललितनारायण राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए । कर्णलीका लागि राज शाहले २३ रन बनाए । टेक सलामीले १४, हेमन्त ओली र दिवान पुनले समान १० रन बटुले । अन्य ब्याट्सम्यान क्रिजमा टिक्नै सकेनन् ।

पहिलो इनिङ्समा पुलिसले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३ सय ४६ रन जोडेको थियो । कुशल भूर्तेलले ७८, सुनील धमलाले ७०, अनिल शाहले ३६ र दीपेन्द्रसिंह ऐरीले २५ रन बनाएका थिए । दिलीप नाथ र पवन सर्राफले समान १५ र मन्जित श्रेष्ठले १८ रनको योगदान गरे ।

कर्णालीका रवीन्द्रजंग शाहीले ३ विकेट लिए । युनिस सिंह र राज शाहले २–२ विकेट हात पारे । म्याद अफ द म्याचमा कुशल भूर्तेल घोषित भए । उनले ३ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे । बिहीबार प्रदेश २ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २४, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?