कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ए डिभिजन लिग : एपीएफलाई ठूलै राहत

एपीएफ २–१ सरस्वती
हिमेश

काठमाडौं — खेलाडी छँदा राजेन्द्र तामाङ खुबै हाँसो र ख्यालठट्टा गर्नुपर्ने खालका थिए । खेलाडी छँदा के के मात्र गर्थे, त्यो अहिले सुन्दा किंवदन्ती जस्तै लाग्छ । अहिले प्रशिक्षक भएका छन् । खुबै गम्भीर देखिन्छन् । नहोस् किन पनि, उनको जिम्मामा रहेको एपीएफ क्लबलाई अहिले चलिरहेको सहिद स्मारक लिग ए डिभिजनमा रेलिगेसन चिन्ता छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल जितेपछि भने प्रशिक्षक र एपीएफ दुवैलाई ठूलो राहत प्राप्त भएको छ ।

ए डिभिजन लिग : एपीएफलाई ठूलै राहत

जति बेला यिनै राजेन्द्र पोस्टम्याच कन्फ्रेन्समा उपस्थित भए । उनी अझै चिन्तित थिए । मुखमा हाँसो थिएन । उनले बिहीबार भने, ‘आजको खेल पनि नजितेको भए, हामीलाई निकै गाह्रो हुन्थ्यो । हामी विभागीय टिम हौं, त्यसैले रेलिगेसन चिन्ता बढी हुने गर्छ ।’ उनलाई जितले दिएको सबैभन्दा ठूलो राहत हो, अब एपीएफले रेलिगेसन क्षेत्र छाडेर धेरै हदसम्म मज्जाले आफ्नो स्वाभाविक खेल खेल्न पाउँछ । राजेन्द्रको अबको काम हो, आफ्ना औसत खेलाडीबाट राम्रो प्रदर्शन निकाल्नु ।

यसपल्टको लिगमा पनि राम्रो गर्न नसकिरहेको एपीएफ अब सम्भवतः रेलिगेसनमा पर्ने छैन । टोलीको प्रतिकूलतामा नाटकीय नतिजा आएन भने । यही तनावले त हो, एपीएफको खेल तल–माथि भएको । यसको ठीक विपरीत सरस्वती क्लबमाथि भने ठूलै धक्का पुगेको छ, एपीएफसँगको खेल गुमाएर । लिगमा तल झर्नबाट बच्ने एउटै उपाय भनेको यस्तै आफू समान क्लबसँग खेल्दा राम्रो नतिजा हो । तर सरस्वती यही काममा असफल भयो । टोलीलाई यो निकै महँगो साबित हुनसक्ने छ ।


तर सरस्वतीका प्रशिक्षक प्रदीप नेपाल भने ‘क्लबलाई रेलिगेसनको चिन्ता छैन, क्लबले रेलिगेसन पर्नसक्छ भनेर सोचेको पनि छैन’ भन्छन् । ‘धेरै टिम कम अंकमै छन्, त्यसैले अहिले नै आत्तिनुपर्ने केही छैन,’ उनले भने, ‘पछि उकास्न सकिन्छ ।’ यो त भयो, हार्ने टिमभन्दा जित्ने टिमलाई भएको चिन्ताको कथा । यो त भए, सबै मैदानबाहिरको कुरा । भित्र के भयो त ? लगातार ४ हारको सामना गरेको सरस्वतीले यसअघिका खेलभन्दा राम्रो भने खेलेको थियो । उसका एकाध प्रहार पोस्टमा लाग्यो र फर्क्यो ।

त्यसैले धेरै हदसम्म सरस्वती अभाग्यशाली रह्यो । धन्न, ३ सय ६० मिनेटको खडेरीमा पनि एउटा गोल भने निकाल्न सक्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा सरस्वतीका लागि विनोद केसीले एक गोल गरे । तर त्यसले नतिजामा केही अर्थ राखेन । किनभने त्यसको ठीक एक मिनेटअगाडि एपीएफका लागि नवीन लामाको पासमा आशिष लामाले टोलीका लागि दोस्रो गोल गरे । उनैले यसअघि ६३ औं मिनेटमा पनि गोल गरे र एपीएफलाई अग्रता दिलाएका हुन् ।


पूरा खेलको सबैभन्दा उल्लेखनीय पक्ष नै आशिषको दुई गोल रह्यो । तर विश्वास गर्न के गाह्रो थियो भने उनी त्यस खेलका ‘म्यान अफ द म्याच’ भने भएनन् । अंकतालिकामा एपीएफ जितपछि १० औं स्थानमा उक्लेको छ । टोलीको ४ खेलबाट ४ अंक भएको छ । सरस्वती भने ४ खेलपछि पनि अंकविहीन छ । टोली सबैभन्दा पुछारमा छ । यही स्थितिमा सरस्वतीले रेलिगेसनबाट बच्न सोच्छ भने यसका लागि अहिलेभन्दा धेरै माथिल्लो दर्जाको प्रदर्शन चाहिने छ ।

प्रकाशित : पुस १७, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?