कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा इण्डोर बास्केटबल कोर्ट तयार, राष्ट्रिय टोली बन्द प्रशिक्षणमा

प्रदीप मेन्याङ्बो

(सुनसरी) — युवा युवतीमा बढ्दो बास्केटबल ‘क्रेज’ लाई ध्यानमा राख्दै धरान उमपहानगरपालिकाले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा इन्डोर बास्केटबल कोर्ट निर्माण गरेको छ । धरान–१६ स्थित प्रादेशिक रंगशालामा निर्मित कोर्ट प्रदेश नं १ मा भने पहिलो इन्डोर कोर्ट हो । यो इण्डोर कोर्ट पोखरा पछिको दोस्रो हो । 

धरानमा इण्डोर बास्केटबल कोर्ट तयार, राष्ट्रिय टोली बन्द प्रशिक्षणमा

धरान नगर खेलकुद विकास समिति अध्यक्ष सुवास राईकाअनुसार विगतमा राखेपले उसु, तेक्वान्दो लगायत खेल आयोजना गर्न मिल्ने गरी मात्र मिनि कभर्ड हल निर्माण गरेकोमा नगर खेलकुद विकास समितिले थप लगानी गरेर बहुउपयोगी बनाउँदै इन्डोर बास्केटबल कोर्ट पनि तयार गरेको हो । उनले भने, ‘युवायुवतीमा बास्केटबल क्रेज बढेको देखियो । उनीहरुको बास्केटबल प्रतिको मोहलाई ध्यानमा राखेर नगर खेलकुद विकास समितिले २० लाख रुपैयाँ थप लगानी गरेर प्रदेश १ को पहिलो इण्डोर कोर्ट निर्माण गरेको हो ।’

अध्यक्ष राईका अनुसार फाइबर बोर्ड, रातमा पनि खेल्न मिल्ने गरी लाइट र २ सय ५० जना क्षमताको प्याराफिट पनि निर्माण गरिएको छ । महिला र पुरुषको लागि छुट्टाछुट्टै ट्वाइलेट, बाथरुम र चेञ्जिङ रुम पनि निर्माण गरिएको छ ।


कोर्ट तयार भएपछि बास्केटबल खेलाडी, प्रशिक्षक, बास्केटबल खेलप्रेमीहरु उत्साहित भएका छन् । नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष रहेका धरान बास्केटबल संघका अध्यक्ष सुरज लामाले इन्डोर बास्केटबल कोर्ट धरानमा थपिएपछि साग खेलकुदको लागि तयारी भइरहेको बताए । उनका अनुसार नेपालको राष्ट्रिय बास्केटबल टिमको बन्द प्रशिक्षण पनि धरानमा गर्ने निर्णय राखेपले गरिसकेको छ । उनले नेपालमै सबैभन्दा बढी बास्केटबल कोर्ट भएको नगर पनि धरानै भएको उल्लेख गरे ।


नवनिर्मित कोर्टको उद्घाटन तीन दिनअघि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले गरेका थिइन् । कार्यक्रममा उद्घाटन गर्दै उनले भनिन्, ‘नेपालमा आयोजना हुन लागेको १३ औं सागको तयारीको लागि धरानको इण्डोर बास्केटबल कोर्टमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणलाई लक्षित गर्दै कोर्टको निर्माण गरिएको हो ।’


उक्त कोर्डमा शुक्रबारदेखि बास्केटबलका राष्ट्रिय टोलीको महिला-पुरुष दुवै टिमको बन्द प्रशिक्षण सुरु गरिएको नगर खेलकुद विकास समिति अध्यक्ष सुवास राईले बताए । प्रशिक्षणका लागि मुलुकभरबाट छनोटमा परेका ६८ जना खेलाडी सहभागी भएको सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताए ।

प्रकाशित : श्रावण १९, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?