कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिदिम मैदानमा प्यारापिट थपिँदै

ज्ञानु घिमिरे

पाँचथर — सदरमुकामस्थित फिदिम उच्चमाविको खेलमैदान व्यवस्थित पार्ने काम धमाधम भइरहेको छ । प्यारापिट निर्माण गरिँदै छ । मैदानमा हरियो दुबो रोप्ने काम अन्तिम चरणमा पुगेको छ । 

जिल्ला फुटबल संघ इलाम र जिल्ल्लाका विभिन्न खेलकुद संस्था मिलेर प्रदेश सरकारको ५० लाख रुपयाँ लागतमा मैदानमा निर्णाण गरिएको हो । १६ सय दर्शकक्षमताको प्यारापिट निर्माण र दुबो रोप्ने कामसहित मैदान व्यवस्थित पार्न लागिएको संघका अध्यक्ष सुजन नेम्वाङले बताए ।


हाल मैदानको प्यारापिट निर्माण भइसकेको भए पनि दुबो रोप्ने काम केही दिन लाग्ने नेम्वाङको भनाइ छ । फिदिम उच्च माविका प्रधानाध्यापक विनोद ठाकुरका अनुसार विद्यालयको खेलमैदानलाई पहिलेबाट नै राष्ट्रिय मापडण्डअनुसार निर्माण गर्न लागिएको र विद्यालयले समेत अनुमति दिएको भए पनि जग्गा अभावमा यो पूर्ण साइजको निर्माण हुन सकेको छैन ।


उनले भने, ‘विद्यालयको मात्र नभएर जिल्लाकै सबै कार्यक्रम हुने एकमात्र खेल मैदान यही हो यसलाई व्यवस्थापन र विकास गर्ने संस्थाहरू निस्कँदा विद्यालयले नकार्ने सक्दैन । तत्कालीन राजा वीरेन्द्रको पालामा १६ हजारमा माविले १३ रोपनी १२ आना जग्गा खरिद गरी मैदान निर्माण गरेको भन्ने किंवदन्ती छ ।’ उनले थपे, ‘यसलाई राष्ट्रिय मापडण्डअनुसारको खेलमैदान बनाउने कुरा पनि आएका छन् । यसलाई विद्यालयले गौरव ठानेको छ ।’


यस मैदानमा दुई दशकयता प्रायः जिल्लाका सबै खेलकुद गतिविधि, सांस्कृतिक, मनोरन्जनात्मक, राजनीतिक कार्यक्रम हुने गरेको स्थानीयको भनाइ छ । विद्यालयको क्षेत्राधिकारभित्र पर्ने गरी जिल्लाका विभिन्न संघसंस्थाले वर्षौंअघिबाट यस मैदानलाई व्यवस्थित गर्ने भन्ने योजना नबनाएका होइनन् । तर पछिल्लो समय प्रदेश सरकारले यसलाई पुनर्निर्माण र व्यवस्थापन गर्ने रकम छुट्याएको हो ।

प्रकाशित : श्रावण १४, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?