कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी उपाधितिर

वेदराज पौडेल

इटहरी — त्रिभुवन आर्मी क्लब बुधबार मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । आर्मी क्लब मेची नेत्रालय झापालाई ४–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । आर्मीको भेट फाइनलमा मनाङ मस्र्याङदी र पुलिस क्लबमध्ये एकसँग हुनेछ ।

आर्मी उपाधितिर


आर्मीका सन्तोष तामाङले सुरुको १० औं मिनेटमा प्रहार गरेको बल बचाउन खोज्दा झापाका ओलु सोलाले आफ्नो पोस्टमा गोल गरेका थिए । आत्मघाती गोल मदतमा आर्मीले सुरुआती अग्रता लियो । भरत खवासले १८ औं मिनेटमा पेनाल्टी बक्सभित्र सन्तोष तामाङलाई दिएको बल झापाका डिफेन्डरले गोललाइनबाट क्लियर गरिदिए । त्यसको तीन मिनेटपछि प्राप्त फ्रिकिक पेनाल्टी बक्स नजिकबाट झापाका विश्वास श्रेष्ठले प्रहार गरे । तर सफल भएन ।


खेलको ३१ औं मिनेटमा झापाका टंक गुरुङको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पन्च गरेर गोल हुनबाट जोगाए । लगत्तै नीराजन खड्काको प्रहार पनि विकेशले बचाएर झापाको बराबरी गर्ने अवसर विफल पारे । ४० औं मिनेटमा आर्मीका सुमन अर्यालले वान भर्सेस वानमा पाएको बललाई पोस्टलक्षित गर्न सकेनन् । उनको प्रहार पोस्ट नजिकबाट बाहिरियो । पहिलो हाफको इन्ज्युरी टाइममा भरत खवासको पासमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए ।


मध्यान्तरपछि आक्रामक शैलीमा उत्रिएको झापाले धेरै अवसर सदुपयोग गर्न सकेन । १३ औं मिनेटमा आर्मीका भरतले गरेको प्रहारलाई झापाका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे । १५ औं मिनेटमा झापाका खामिर गिल्सन कन्दङाको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।

दोस्रो हाफको १७ औं मिनेटमा भरत खवासकै पासमा वैकल्पिक खेलाडी विवेक बस्नेतले गोल गरेपछि आर्मीको अग्रता ३–० बन्यो । विवेकको प्रहार गोललाइनबाट रोक्ने अफ्रिकी मूलका झापाका खेलाडी ओलुको प्रयास असफल भयो ।


त्यसको दुई मिनेटपछि दीप श्रेष्ठको पासमा खामिर गिल्सनले गोल गरेपछि झापाले गोलअन्तर घटायो । खेलको ३५ औं मिनेटमा आर्मीका भरत पेनाल्टी बक्सभित्र पाएको बलमा गोल गर्न चुकेका थिए । झापाका नीराजनलाई फाउल गर्दा प्राप्त फ्रिकिकलाई गिल्सनले सदुपयोग गर्न सकेनन् । इन्ज्युरी टाइममा आर्मीका टंकले नीराजनलाई फाउल हाने । त्यसमा प्राप्त झापाको फ्रिकिक प्रहार विकेशले सहजै नियन्त्रणमा लिए ।


इन्जुरी टाइमको अन्तिम मिनेटमा भरत खवासले एक गोल थप्दै खेल टुंग्याए । भरतले तीन अवसरपछि यसलाई सदुपयोग गरेका हुन् । म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ भए ।

आर्मीका टिम म्यानेजर टेकबहादुर बुढाथोकीले पाएको अवसर सदुयोग गर्न सकेकाले नै जित सम्भव भएको बताए । मुख्य प्रशिक्षक टिममा नभए पनि मैदानमा खेलाडीले उत्कृष्ट प्रर्दशन गरेको उनले सुनाए । झापाका प्रशिक्षक मीनबहादुर बस्नेतले खेलाडीहरू धेरै घाइते हुनु र पहिलो गोल नै आत्मघाती भएकाले निकै दबाबमा खेल्नुपरेकाले सोचेजस्तो नतिजा नआएको बताए ।

प्रकाशित : माघ १७, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?