कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घोडाघोडीमा घट्दै जलपन्छी

अर्जुन शाह

धनगढी — घोडाघोडी रामसार क्षेत्रमा दुई दशक अवधिमा जलपन्छीको संख्या घटेको पाइएको छ । अध्ययनकर्ताका अनुसार सन् २००३ घोडाघोडी क्षेत्रमा २० हजारको संख्यामा जलपन्छी रहेको पाइएको थियो । अहिले आएर १ हजार २ सय ३१ मा सीमित भएको पाइएको हो । 

घोडाघोडीमा घट्दै जलपन्छी

सरकारले सन् २००३ अगस्त १३ गते घोडाघोडीलाई विश्व रामसार सूचीमा सूचीकृत गरेको थियो । नेपाल पन्छी संरक्षण संघका चराविद् हिरुलाल डगौराले घोडाघोडीमा त्यसबेला २० हजार जलपन्छी रहेको बताए । यस वर्ष भइरहेको जलपन्छी गणनामा १ हजार २ सय ३१ सयमा सीमित भएको पाइएको उनले बताए ।

घोडाघोडी क्षेत्रलाई रामसारमा सूचीकृत गर्ने बेला सरकारले पेस गरेको प्रतिवेदनमा यस क्षेत्रमा रैथाने र पाहुना गरी २० हजार जलपन्छी रहेको उल्लेख छ । नेपालमा मात्र पाइने चरामध्ये हरिहाँस, बगाले सीमकुखुरा र नादुन हाँसले घोडाघोडीमा प्रजनन गर्ने उक्त प्रतिवेदनमा उल्लेख थियो । सन् १९८७ देखि बर्सेनि सीमसारमा आश्रित पानीचराको गणना गरिँदै आएको छ । गणनाले जलपन्छीको अवस्था संकट उन्मुख देखाएको छ ।

संरक्षणकर्मीहरू पन्छीको संख्यामा फेरबदल हुनु पारस्थितिकीय प्रणालीमा आएको परिवर्तन मुख्य कारण हो । ‘साथै मानवनिर्मित संकटहरू पनि बढे । पन्छीका वासस्थान नष्ट हुँदै गए, आहारका दायरा साँघुरिए,’ डगौराले भने ‘चरा घट्ने कुरा सामान्य होइन । मानवजीवनमा पनि असर गरिरहेको हुन्छ । यसले समग्र इकोसिस्टममा समस्या आइरहेको दर्शाउँछ ।’ प्रजाति अनुसार फरक–फरक बासस्थान र आहार चाहिन्छ ।

‘कुनै चरा पानीमा बस्छन्, कसैलाई दलदल र पानी दुवै चाहिन्छ,’ डगौराले भने, ‘अहिले घोडाघोडीमा कि त दलदले क्षेत्र मात्रै छ, कि पानी भएको ठाउँ मात्र । यसले उनीहरूको बासस्थानमा असर परिरहेको छ ।’ अर्कोतिर, खुला क्षेत्र, मानव चहलपहल हुने क्षेत्र बढ्दै जानु पनि असरको कारण भएको संरक्षणकर्मीहरू बताउँछन् । उनीहरूका अनुसार कतिपय चरा एकान्त मन पराउने हुन्छन् । तर पछिल्ला वर्षमा घोडाघोडीमा त्यो वातावरण प्रभावित छ ।

जलपन्छीको संख्या घट्नुको अर्को प्रमुख कारण आहारको समस्या पनि हो । संरक्षणकर्मीहरूका अनुसार प्रजाति अनुसार फरक–फरक आहार हुन्छ । केहीले जलघाँस खान्छन्, केहीले जलघाँसमा हुने किरा खान्छन् त केहीले माछालाई आफ्नो आहार बनाउँछन् । ‘अहिले पहिला जस्तो आहारको उपलब्धता छैन,’ डगौराले भने ।

उनले पानी, खेतमा विषादीको प्रयोग र जलवायु परिवर्तन पन्छी प्रजाति र संख्या घट्नुको अर्को कारण भएको बताए । डगौराले भने, ‘चोरीसिकारीले पनि पन्छी प्रजातिलाई अस्तित्व संकटमा धकेलेको छ,’ उनले भने ।

घोडाघोडीमा एक वर्षअघिको गणना भन्दा अहिले भने जलपन्छीको संख्या बढेको छ । ‘गत वर्षको गणनामा ८ सय ५५ जलपन्छी भेटिएका थिए । यस वर्ष १ हजार २ सय ३१ वटा भेटिएका छन्,’ डगौराले भने ।

साथै, पोहोर साल यसै अवधिमा गरिएको गणनामा १७ प्रजातिका जलपन्छी भेटिएकामा यस वर्ष ३६ प्रजातिका भेटिएका छन् । ३६ प्रजातिमध्ये सिसिले हाँस, नाडुन हाँस, बगाले सिमकुकुरा, लामऔलेलगायत १३ प्रजाति रैथाने प्रजातिका हुन् ।

रैथानेमा नट्टा हाँस २०१८ पछि देखिएको छैन । आगन्तुकमा कैले टाउके हाँस, बिजुला गैरी हाँस, सुनजुरे हाँस, सिन्दुरे हाँस, खडखडे हाँस, हरियो टाउके हाँस लगायतका हुन् । सुइरेपुछ्रे हाँस २०१४ यता घोडाघोडीमा देखिएको छैन ।

उत्तरी ध्रुवमा हिमपात सुरु भएसँगै त्यहाँका चराहरू बसाइँ सर्न थाल्छन् । चीन, रुस, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एसियाका तुर्कमिनिस्तान, किर्किस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् ।

यहाँ बर्सेनि १ सय ५० बढी प्रजातिका चरा आउने गरेको अभिलेख छ । चिसोले त्यहाँ आहारविहार र खानपानमा समस्या भएपछि जाडो छल्न नेपाल आउँछन् । सेप्टेम्बरको अन्तिम सातादेखि आउन सुरु गर्ने ती चराहरू मार्चमा फर्किन्छन् ।

नेपाल पन्छी संरक्षण संघका अनुसार घोडाघोडीमा जलपन्छी, वन क्षेत्रमा बस्ने चरा, घाँसे मैदानमा हुने चरा, खेतबारी र खुला स्थानमा बस्ने गरि ३ सय ८० प्रजातिका चरा रहेको अभिलेख छ । कैलालीमा भइरहेको जलपन्छी गणना नेपाल पन्छी संरक्षण संघको अगुवाइमा डिभिजन वन कार्यालय पहलमानपुर र चरा संरक्षण नेटवर्कका गरी १७ जना संरक्षणकर्मी सहभागी छन् ।

विभिन्न प्रजातिका चराहरूको बासस्थान रहेको घोडाघोडी नेपालकै पहिलो चरा आरक्ष पनि हो । पन्छी संरक्षणकर्ताहरूकै पहलमा २०७८ मा सुदूरपश्चिम प्रदेश सरकारले यस क्षेत्रलाई चरा आरक्ष क्षेत्र घोषणा गरेको थियो । हाल नेपालमा यो सहित दुई वटा मात्र चरा आरक्ष छन् । अर्को पन्छी आरक्ष कपिलवस्तुमा छ । लुम्बिनी प्रदेश सरकारले २०७९ मा कपिलवस्तुको जगदीशपुर ताललाई पन्छी आरक्ष घोषणा गरेको थियो ।

प्रकाशित : माघ ३, २०८० २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?