३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

लागुऔषध प्रयोग भयावह : तीन महिनामा ७७ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — दुई साताअघि लागुऔषधको प्रयोगबाट भीमदत्त नगरपालिका र बेदकोटमा गरी दुई जनाको मृत्यु भयो । प्रहरीका अनुसार उनीहरुले ‘ओभर डोज’ प्रयोग गरेका थिए । दुवैको उमेर ३०/३५ वर्ष हाराहारी थियो ।

लागुऔषध प्रयोग भयावह : तीन महिनामा ७७ जना पक्राउ

पाँच महिनाअघि पनि भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रका एक युवकको लागुऔषधकै कारण ज्यान गएको थियो । प्रहरीका अनुसार उनको उमेर करिब २५ वर्ष थियो ।

लागुऔषध प्रयोगकर्ताको अवस्था कस्तो छ भनेर हेर्न यी दुई घटनाले पनि सहजै अनुमान गर्न सकिन्छ । कञ्चनपुरमा हरेक दिन लागुऔषधसहित एक/दुई जना पक्राउ परिरहेकै हुन्छन् । प्रहरीले भारतबाट ल्याउँदै गरेको तथा बजारमा बिक्री गरिरहेकै अवस्थामा पक्राउ गरिरहेको छ ।

‘यहाँ बरामद भएको चरेस बाहेकको लागुऔषध भारतबाटै आएको देखिन्छ,’ जिल्ला प्रहरी कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले भने, ‘प्रयोगकर्ता आफैले ल्याउने र कतिपयले बिक्री गर्न पनि ल्याउने गरेका छन् ।’ उनका अनुसार भारतीय बजारमा १० ग्रामसम्मको लागुऔषध बिक्री गर्न पाइन्छ । यही कारण नेपालीहरु त्यहाँबाट सहजै ल्याउन सक्ने उनले बताए ।

पछिल्लो ३ महिनाको अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ७७ जनालाई पक्राउ गरेको छ । फागुनमा ३०, चैतमा २४ र वैशाखमा २३ जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले चरेस, खैरो हेरोइन, फेनार्गन र ब्रोफिनलगायतका लागुऔषध बरामद गरेको हो । लागुऔषध प्रयोग गर्नेमा स्कुले विद्यार्थी बढी छन् ।

सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखहरुको नियमित बैठकमा समेत यो विषयले प्राथमिकता पाउने गरेको छ । भारतमा निर्बाध रुपमा बिक्री हुने गरेका कारण नेपालीहरु सहजै ओसार पसरा गरिरहेकाले नियन्त्रण गर्न प्रहरीले भारतीय प्रहरीलाई आग्रह गर्दै आएको छ । ‘पछिल्लो बैठकको प्रमुख एजेण्डा नै यही थियो,’ एसपी जोशीले भने, ‘उताबाट पनि सहयोग गर्छौ भन्ने आश्वासन आएको छ ।’

उनका अनुसार भारतीय प्रहरीले पनि लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेको जानकारी आएको एसपी जोशीले बताए । यसबारे जानकारी पनि आइरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ २, २०८१ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?