धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन् । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् ।
उपनेता थापाका अनुसार बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप पनि जारी गरेको छ । ‘विश्वासको मत दिने, तर सरकारमा नजाने निर्णय भएको छ,’ संसदीय दलका उपनेता थापाले भनिन् ।
एमालेकै समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ ।
