कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम खोज्दै चिसोमा भारततिर

‘नेपालमा नेता आफू मात्रै बने, देश बनाउने होइनन्, हामी भारत जानेको पीडा कसले बुझ्छ ?’
मोहन बुडाऐर

धनगढी — कैलालीमा मंगलबार दिनभर घाम झुल्केको थिएन्, चिसो बढेको थियो । कठ्यांग्रिँदो चिसोमा साना केटाकेटी बोकेर त्रिनगर–गौरीफन्टा नाकाबाट केही नेपाली भारत पस्दै गरेका थिए । यो दृश्य निकै पीडादायी देखिन्थ्यो ।

काम खोज्दै चिसोमा भारततिर

सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाबाट बसको यात्रा गरेर लालाबालासहित भारत पस्न लागेका नेपालीले अझै गन्तव्यमा पुग्न १० देखि १६ घण्टासम्म बस र ट्रेनको यात्रा तय गर्नुपर्नेछ । घरबाट स्वस्थ अवस्थामा निस्केका बालबालिका गन्तव्यसम्मको यात्रा पार गर्दासम्म चिसोले बिरामी पर्ने डर अभिभावकमा छ । लालाबालासहित चिसो मौसममा पनि घरबाट रोजगारीका लागि भारतका सहरमा कष्टकर यात्रा गरी निस्कनुपर्ने आफूहरूको बाध्यता रहेको उनीहरू सुनाउँछन् ।

डोटी सिलगडीका ६० वर्षीय हर्कबहादुर विष्ट मंगलबार कैलालीको त्रिनगर भन्सार नाकामा भारत पस्दै गर्दा भेटिए । सोमबार रात्रि बस चढेर उनी धनगढी आइपगेका हुन् । दिनभर धनगढीमा घाम झुल्केन । चिसोले

कठ्यांग्रिँदै उनी भन्सार नाका दिउँसो ४ बजे पुगे । भन्सार नाकापारि गौरीफन्टाबाट १० घण्टा राति बस चढेर उनी भारतको दिल्ली पुग्ने छन् । त्यहाँबाट रेलको यात्रा गर्दै भारतको आन्ध्रप्रदेशको तेलंगना सहर रोजगारीका लागि जाने छन् । विष्ट त्यहाँ बजारको चौकीदारी गर्छन् । तेलंगना सहरमा चौकीदारी गरेको उनलाई २० वर्ष पुग्न थालिसक्यो । जीवनको साठी पुग्दा उनले भारतमा ४० वर्ष काम गरेर आफूमाथि आश्रित परिवारको पेट पाल्न सकेको बताए । ‘जीवन भारतकै सहरमा काम गर्दागर्दै बित्ने भयो,’ उनले भने, ‘घरको आम्दानीले नपुग्ने भएपछि भारत पस्ने हाम्रो बाध्यता हो ।’

आमनिर्वाचन अघि उनी घर आएका थिए । भोट हालेर पुनः भारत पस्न लागेका हुन । नेपाली नागरिक भएको नाताले भोट खसाल्न जहिले नै देश फर्कने गरेको उनले बताए । ‘जति जोगी आए नि कानै चिरेकै भने जस्तै नेपालमा नेता आफू मात्रै बने, देश बनाउने होइनन्, हामी भारत जानेको पीडा कसले बुझ्छ ?’ उनले भने, ‘तर पनि गाउँघरमा चुनावी रौनक चलिरहँदा धेरै भेटघाट र नेतालाई कुरा सुनाउने अवसर जुट्ने भएकाले घर फर्कन्छु ।’ उनले यसपालि आफ्नो क्षेत्रबाट चुनाव लडेका सबै दलका नेतालाई निकै आक्रोश पोखेर फर्कन लागेको समेत बताए ।

ज्वाइँ नाता पर्ने डोटी सिलगढीकै ३८ वर्षीय तेजबहादुर बलायर पनि उनीसँगै भारत पसिरहेको बताए । ‘यहाँ रोजगारीका सम्भावना केही छैन,’ उनले भने, ‘बेरोजगार भएर घरपरिवार चल्दैन ।’ उनले चिसो मौसमको पीडादायी यात्रा होस् वा कोरोना महामारीको भय जे भए पनि काम गर्न जानुपरेको सुनाए । पेटका लागि चाहिने भोजन र भोजनका लागि चाहिने पैसा, पैसा कमाउन चाहिने रोजगारीका लागि भारत हामी सुदूरपश्चिमेलीको पुर्खौली दुःख कहिले जाने हुन् ? थाहा नभएको बताए । उनका अनुसार आफू मात्रै आफ्ना बाजेदेखि कामका लागि भारत जाँदै गरेको बताए ।

कैलाली साढेपानीका दिलबहादुर साउदले नेपालमा अब बन्ने सरकारले भारतसँगको सम्बन्धलाई राम्रो बनाउनुपर्ने धारणा राखे । कहिलेकाहीं सीमालगायत विभिन्न कारणले दुई देशबीच तिक्तता पैदा भएपछि त्यसको प्रत्यक्ष असर भारतमा काम गरिहरेका नेपालीले समेत भोग्नुपर्ने उनको अनुभव छ । ‘भारतले नाकाबन्दी गरेको बेला भारतमा रहेका नेपालीले धेरै हेपिनुपरेको थियो,’ उनले भने, ‘नेपालको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई विकास गर्दै भारतमा काम गर्ने नेपालीका समस्याका विषयमा बोली दिनुपर्छ ।’ उनका अनुसार नेपाल सरकारले भारतमा काम गर्दै आएका नेपालीको मुख्य समस्या भनेको लुटिनु पिटुनु, ज्याला तथा श्रम नपाउनु र भारत सरकारबाट नेपाली श्रमिकले भारतीय श्रमिकसरह सुविधा नपाउनु रहेको बताए ।

कैलालीको त्रिननगर भन्सारबाट दिनहुँ तीन देखि चार सय नेपाली भारतका विभिन्न सहरमा काम गर्न गइरहेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) मीनबहादुर ऐरले बताए । ‘चुनावपछि भारत पस्नेको लर्को ह्वात्तै बढेको छ,’ उनले भने, ‘दिनहुँ ३/४ सय गइरहेका छन् ।’ गौरीफन्टा नाकामा २० वर्षदेखि नास्ता पसल सञ्चालन गर्दै आएका प्रेमबहादुर महरले यस्तो चिसोमा पनि कोखे बच्चासहित नेपाली भारत पस्ने गरेको पीडादायी दृश्यलाई नियाली राख्नु हाम्रो पनि नियति भइरहेको बताए ।

असई महरका अनुसार उहिले उहिले नेपालीहरू चाडबाड र खेतीपातीको सिजन सकेर भारत पस्ने गर्थे । ‘अहिले त त्यस्तो देखिंदैन, दिनहुँ हरेक महिना भारत पस्ने नेपालीमा खासै कमी आएको छैन,’ उनले भने, ‘कति भारत गइरहेका छन्, कतै गाउँ पूरै रित्तिएको जस्तो पनि लाग्छ ।’ उनले उमेर समूहका हिसाबले कामकै लागि भनेर १२ वर्षदेखि ७० वर्षसम्मका नेपाली भारत पसिरहेको बताए । महिलाको संख्या पनि उत्तिकै बढी रहेको उनको भनाइ छ । ‘आफ्नो पुरुषसंग जाने परिवारबाहेक कामका लागि सिंगल भारत जाने महिला, किसोरी पनि देखिन्छन्,’ उनले भने, ‘नेपालको बेरोजगारीको अवस्था नाकामै देखिन्छ ।’

प्रकाशित : पुस १४, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?