सरकारी कर्मचारी बने नमुना किसान- सुदूरपश्चिम - कान्तिपुर समाचार

सरकारी कर्मचारी बने नमुना किसान

‘नेता तथा कर्मचारीको चाकडी गरेर समय खेर फाल्नुभन्दा माटोमा श्रम गरे स्वावलम्बी बनिन्छ’
मोहन शाही

डोटी — पेसाले कर्ण मलासी ओभरसियर हुन् । हिक्मत साउद कृषि प्राविधिक । दुवै जना दिपायल सिलगढी नगरपालिकामा कार्यरत छन् । मलासीले जागिर प्रवेश गरेको १९ वर्ष भयो भने साउदले १३ वर्ष । सरकारी कर्मचारी भए पनि यी दुईले जिल्लामा आफ्नो पहिचान बेग्लै बनाएका छन् । कृषि पेसा निरुत्साहीत बन्दै गइरहेका बेला मलासी र साउद भने किसानहरूका लागि प्रेरणाका स्रोत बनेका छन् ।

दिपायल सिलगढी नगरपालिका ५ चिसापानीका मलासी एक दशकदेखि टनेलमा बेमौसमी तरकारी नियमित उत्पादन गर्दै आएका छन् । बिहान ४ बजे उठेर नित्यकर्मपछि उनी बारीमा पस्छन् । टनेलमा रहेका आलु, टमाटर, बन्दा, खुर्सानीलगायत साग तरकारी गोडमेल र खनजोत आफैं गर्छन् । ६ रोपनी जमिनमा तरकारी खेती गरेर वार्षिक लाखौंको कारोबार गरिरहेको मलासीले बताए । फलफूल, बाख्रापालनसमेत गर्न भ्याएका छन् ।

फिता, स्केल र कम्प्युटरमा सिपालु रहेका मलासी खेतबारीमा कुटो, कोदालो र हलो चलाउन पोख्त छन् । ‘दिउँसो कार्यालयको कामपछि साँझबिहान खेतबारीमै रमाउने बानी परिसक्यो,’ मलासीले भने, ‘जागिरको कमाइभन्दा खेती किसानीबाट हुने आम्दानीले छोराछोरीको उच्चशिक्षामा लगानी गर्न सहज बनेको छ ।’ इमानदार सरकारी कर्मचारीको आम्दानीले परिवार पाल्न सहज नभएको बताउँदै मलासी कृषितर्फ आकर्षित भएको बताउँछन् । मलासीले गायत्री कृषि फर्मबाट बाख्रापालन गर्दै आएपनि हालसम्म सरकारी अनुदान नलिएको बताउँछन् । कृषि कर्मबाट प्रेरित भएर उनका छिमेकी पनि व्यावसायिक कृषि गर्न थालेका छन् । छिमेकी रवि श्रेष्ठ कानुन व्यवसाय छोडेर गाईपालन गर्दै आएका छन् । मलासीले धानगहुँ लगाउने खेतमा बेमौसमी तरकारी लगाएर आम्दानी गरेको देखेपछि आफूले गाईफर्म सञ्चालन गरेको श्रेष्ठ बताउँछन् । सरकारी तथा दातृ संस्थाका अनुदान ल्याएर दुरुपयोग भइरहेको प्रति मलासीको दुखेसो छ । उनी त्यस्तो दुरुपयोग गर्नेलाई माटोको श्राप लाग्ने विश्वास गर्छन् । ‘नेता तथा कर्मचारीको चाकडी गरेर समय खेर फाल्नुभन्दा माटोमा श्रम गरे स्वावलम्बी बनिन्छ, अनुदानप्रति व्यंग्य गर्दै उनले भने, ‘झन्झटिलो प्रक्रियामा अल्झने काम अल्छीहरूको हो ।’

उता कृषि प्राविधिक साउद दुई वर्षदेखि बाँझो रहेको २० रोपनी जमिनमा तरकारी खेती गरिरहेका छन् । कर्मचारी समायोजनपछि ३ वर्षअघि दिपायल सिलगढी नगरपालिकामा सरुवा भइआएका साउदले दोस्रो वर्षबाट बाँझो जमिनमा बेमौसमी तरकारी लगाउन सुरु गरेका थिए । ‘जागिरका क्रममा देशभर डुल्दा कृषि पेसा नै सबैभन्दा उत्तम लाग्यो, अरूलाई भन्नुभन्दा आफैं सुरुवात गर्छु भनेर आलुखेती सुरु गरें,’ खुसी बाँड्दै साउदले भने ।

साउदको घर रहेको दिपायल सिलगढी नगरपालिका वडा नं. ३ बाफिगाउँमा आर्थिक रूपले विपन्न परिवारको बाहुल्य छ । अधिकांश परिवारले उब्जनी राम्रो नहुने भएपछि जमिनसमेत बाँझो राख्दै आएका थिए । साउदले बाफीमा तरकारीखेती थालेपछि अहिले अरू ४५ परिवार पनि आकर्षित भएर खेती गर्न थालेका छन् । अहिले गाउँ नै बेमौसमी तरकारीका लागि अवलोकन गर्ने थलो बनेको छ । बारीमा आलु, काउली, बन्दा, लसुन, प्याज, मुला, टमाटर फलाएका छन् । ‘मेरो २० रोपनी र अन्य ४५ परिवारको गरी ६५ रोपनीमा बेमौसमी तरकारी लगाएका छौं,’ साउदले भने, ‘रिसाएर, सम्झाएर फकाएर भए पनि आफ्नै टोलका किसान भएकाले कृषिमा आकर्षित गर्न सफल भएकाले खुसी छु ।’

प्रकाशित : मंसिर २५, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

अदुवाले मूल्य पाएन

मोहन शाही

डोटी — स्थानीय अदुवाले उचित बजार र मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । डोटीको जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउँ, लाना, छेडा, घागल र मानाकापडी क्षेत्र अदुवा उत्पादनको पकेट क्षेत्र हो ।


बिचौलियाहरूले गतवर्षभन्दा सस्तो मूल्यमा पनि अदुवा खरिद गर्न नमान्दा किसानहरू समस्यामा छन् । खुद्रा मूल्यमा केही उत्पादन स्थानीय बजारमा खपत भए पनि ठूलो परिमाणमा बिक्री हुन नसकेपछि अदुवा किसानहरूले सुठो बनाएका छन् ।

भारतीय व्यापारीहरू बर्सेनि अदुवा खरिदका लागि डोटी आउने गर्छन् । तर यसपटक भारतमै अदुवाको राम्रो उत्पादन भएकाले व्यापारीहरू खरिदका लागि नआएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले गतवर्ष १३ हजार २११ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष १४ हजार मेट्रिक टन अदुवा उत्पादन भएको बताए ।

बडीकेदार गाउँपालिका ४ रनुकाँडास्थित सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले गतवर्ष ५० हजार आम्दानी गरे पनि यस वर्ष २५ हजारको पनि बिक्री गर्न नसकेको दुखेसो पोखे । गतवर्ष व्यापारीले प्रतिकिलो ५० रुपैयाँदेखि ६० सम्मका दरले खरिद गरेका थिए । यो वर्ष प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गरेको किसान बताउँछन् ।

‘लगानीअनुसारको मूल्य किसानले पायो भने आर्थिक समृद्धिमा ठूलो टेवापुग्ने थियो तर उचित मूल्य नै नपाउँदा समस्या भयो,’ बडीकेदार गाउँपालिका अध्यक्ष भैरव साउदले भने, ‘प्रशोधन गरेर नेपालबाट बाहिर निर्यात गर्न सकेमा किसानले उचित मूल्य पाउँछन् ।’ पालिकाबाट बजारीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याइरहेको अध्यक्ष साउदले बताए । बर्सेनि किसानहरू बजार मूल्य नपाएकै कारण पीडित हुँदै आए पनि सरकारले बजार व्यवस्थापनमा सहजीकरण गर्न सकेको छैन । अदुवाको बजारीकरण गर्न विभिन्न दातृसंस्थाले करोडौं खर्च गरे पनि किसानहरूले मूल्य पाएका छैनन् । प्रदेश सरकारले अदुवा नमुना गाउँ कार्यक्रमअन्तर्गत किसानलाई उत्पादनमा सहयोग गर्दै आएको छ । अदुवालाई सुठो बनाउने सोलार डायर मेसिन प्रदेश सरकारले किसानलाई उपलब्ध गराएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ ११:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×