कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयमा प्याड व्यवस्थापन समस्या

तृप्ति शाही

बैतडी — बैतडीका अधिकांश विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा किशोरीहलाई समस्या हुने गरेको छ । महिनावारी भएको समयमा विद्यालयले किशोरीलाई प्याड उपलब्ध गराउने भएपनि अधिकांश ठाउँमा प्याड व्यवस्थापनको समस्या किशोरीहरूले भोगिरहेका छन् ।

विद्यालयमा प्याड व्यवस्थापन समस्या

महिनावारी भएको समयमा विद्यालयबाट प्याड पाइने भए पनि प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने ठाउँ नभएको डिलाशैनीस्थित सरस्वती मावि नानराकी छात्रा अनुष्का भट्टले बताइन् । ‘महिनावारीको बेला विद्यालयबाट प्याड पाइन्छ तर फेर्ने र फाल्ने ठाउँ नै हुदैन’ उनले भनिन्, ‘यसले हामीलाई सास्ती भएको छ ।’

प्रयोग गरेको सेनेटरी प्याड चार/ चार घण्टामा फेर्नुपर्ने भए पनि छात्रामैत्री शौचालय नहुँदा विद्यालयमा अध्ययन गर्ने किशोरीहरूलाई समस्या हुने गरेको छ । प्याड फेर्न र प्रयोग गरेको प्याडलाई व्यवस्थापन गर्न साह्रै समस्या हुने गरेको दुर्गा मावि सिमारकी छात्रा सुस्मिता बोहराले बताइन् । ‘छात्रा मैत्री शौचालयहरू विद्यालयमा छैनन् । शौचालयहरू फोहोरले भरिएका हुन्छन् । पानीसमेत हुँदैन, उनले भनिन्, ‘हामीलाई महिनावारी भएको बेला धेरै समस्या भोग्नुपर्छ । बीचमै विद्यालय छोडेर आउनुपर्ने अवस्था पनि छ ।’

प्याड व्यवस्थापनका लागि आवश्यक संरचना निर्माण नहुँदा छात्राहरूलाई समस्या हुने गरेको जगदम्बा मावि खलिगाडकी छात्रा सरिता जोशीले बताइन् । महिनावारी सरसफाइका विषयमा थाहा भए पनि प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या भएको छ । उनले भनिन्, ‘महिनावारीको प्याड फेर्न र प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा हामीहरूलाई समस्या छ । यसले पढाइमा बाधा पुग्ने गरेको छ ।’

अधिकांश विद्यालयमा छात्राहरूले यो समस्या भोगिरहेको वीरेन्द्र मावि शाहीले बैतडीकी शिक्षिका शान्ति चन्दले बताइन् । यसले छात्रालाई मात्र नभएर महिला शिक्षकहरूलाई पनि समस्या हुने गरेको उनले बताइन् । महिला शिक्षकहरू त जसरी तसरी व्यवस्थापन गर्ने भए पनि छात्राहरूले यसले धेरै समस्या भोगिरहेका उनको भनाइ छ । विद्यालय व्यवस्थापनको कमजोरीकले दुःख पाइरहेका उनले बताइन् ।

बैतडीका विभिन्न स्थानीय तहमा रूपान्तरण कक्षामार्फत महिनावारी सरसफाइका बिषयमा छलफल हुने गरेको छ । किशोरकिशोरी समूहमा हुने छलफलमार्फत सेनेटरी प्याडको प्रयोग र यसको व्यवस्थापनका विषयमा जानकारी दिने गरिएको सहजकर्ता हरू भट्टले बताइन् । यी कक्षाहरूमा हुने छलफलबाट आफूहरूले विद्यालयमा समेत आवाज उठाउने गरेको उनले बताइन् । उनले भनिन्, ‘अधिकांश विद्यालयमा प्याड व्यवस्थापनमा समस्या भएकोले व्यवस्थापन गर्ने ठाउँ बनाउन आग्रह गरेका छौं ।’ सेनेटरी प्याड व्यवस्थापनका लागि गाउँपालिकाभरिका विद्यालयहरूको अवस्थाका बारेमा जानकारी लिने र त्यसपछि आवश्यक योजना बनाउने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । ‘हामीले छात्राहरूको समस्या थाह पाएका छौं, उनले भने, ‘यो समस्या समाधानका लागि पहल गर्छौं ।’

प्रकाशित : मंसिर १४, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?