कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा बदर मत ८ प्रतिशत

भवानी भट्ट

कञ्चनपुर — स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो थियो । एउटै मतपत्रमा धेरै छाप लगाउनुपर्ने थियो । जसका कारण बदर मतको संख्या पनि बढी थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतपत्र सानो छ । निर्वाचन चिह्न पनि थोरै छन् । तर पनि बदर मतको संख्या भने ८ प्रतिशतका हाराहारी छ ।

कञ्चनपुरमा बदर मत ८ प्रतिशत

तीन वटा विर्नाचन क्षेत्र रहेको कञ्चनपुरमा मंगलबार दिउँसोदेखि मतगणना सुरु भएको छ । बुधबार साँझसम्म भएको मतगणनामा झण्डै ७ प्रतिशत मत बदर भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा ४५ हजार मतगणना भएको छ । जसमा ३ हजार ४ सय १७ मत बदर भएको छ ।

क्षेत्र नं. १ मा ७ हजार ९७७ मत गणना हुँदा बदर मतको संख्या ४३७ छ । बदर मतको संख्या अन्य क्षेत्रको तुलनामा क्षेत्र नं.२ मा बढी छ । उक्त क्षेत्रमा १६ हजार ४९५ मतगणना हुँदा १ हजार ४६८ मत बदर भएको छ ।

यसैगरी क्षेत्र नं. ३ मा २१ हजार ३१६ मतगणना हुँदा १ हजार ५१२ मत बदर भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतमा दोहोरोतेहोरो छाप लागेका छ । कतिपय क्षेत्रमा धेरै मत खाली छन् । एउटा चिह्नमा छाप लगाउन खोज्दा अर्कोमा परेको मतको संख्या भने निकै कम छ । ‘धेरै मतपत्र खाली आएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ताराप्रसाद शर्माले भने, ‘एउटै मतमा तीन/चारसम्म छाप लागेका मत पनि देखियो ।’

धेरै मतपत्र खाली देखिनु नो भोटको अभियानले समेत काम गरेको अनुमान गरिएको छ । कसैलाई मत नदिएर धेरै मतदाताले यो संकेत देखाएको शर्माले बताए । उनले स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्र सानो भएका कारण बदर कम हुनुपर्ने भए पनि मतदाता शिक्षाको अभाव तथा गठबन्धनका कारण मतदाता अल्झिएर बढी बदर भएको हुन सक्ने बताए । ‘एउटै मतपत्रमा धेरै छाप लगाएको मतपत्र धेरै आएको छ,’ क्षेत्र नं. १ का निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले भने, ‘पट्याउन नजानेर दुईतिरै लतपतिएर पनि मत बदर भएको छ ।’ उनका अनुसार ग्रामीण भेगमा मतदाता शिक्षाको अभावका कारण समेत बढी मत बदर भएको हो । ३ लाख बढी मतदाता रहेको कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा करिब ६२ प्रतिशत मतदान भएको छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?