कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

कस्तो होला लेखक र पालको प्रतिस्पर्धा ?

कञ्चनपुर–३ का उम्मेदवार कांग्रेसका रमेश लेखक र एमालेकी निरूदेवी पाल दुवै शीर्ष नेताका विश्वासपात्र हुन् 
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा दुई युवा नेता प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसका रमेश लेखक र एमालेकी नीरुदेवी पालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।लेखक कांग्रेसमा बौद्धिक नेताका रूपमा चिनिन्छन् । शान्ति प्रक्रियादेखि संविधान निर्माणका काममा उनले विभिन्न समितिमा बसेर काम गरेका छन् । यतिमात्रै होइन उनी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन् । उनी पटकपटकमन्त्री समेत भइसकेका छन् । 

कस्तो होला लेखक र पालको प्रतिस्पर्धा ?

०७४ को निर्वाचनमा एमालेका दीपकप्रकाश भट्टसँग पराजित लेखक यतिबेला गुमेको विरासत फर्काउने प्रयासमा छन् । लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार भएकाले पनि उनले गत निर्वाचनभन्दा केही सहज महसुस गरेका छन् ।

एमालेबाट उम्मेदवारी दिएकी पाल पनि एमाले अध्यक्ष केपी ओलीकी विश्वासपात्र हुन् । उनी युवा संघ हुँदै पछिल्लो पटक संसद्को महिला तथा सामाजिक समितिकी सभापति भएकी थिइन् ।

०७४ को निर्वाचनमा समानुपातिक सांसद भएर अस्पतालको स्तरोन्नतिदेखि विभिन्न काम गरेका कारण पाल यसपालि प्रत्यक्षतर्फ निर्वाचित हुने दाबी गर्छिन् । क्षेत्र नं. ३ मा गत निर्वाचनमा एमाले विजयी भएका कारण त्यसलाई निरन्तरता दिँदै पहिलो पटक प्रत्यक्षबाट निर्वाचितभएर संसद भवन छिर्ने दाउमा छिन् । उनी ०६४ मा कञ्चनपुरको तत्कालिन क्षेत्र नं. ४ (अहिले ३) मा पहिलो संविधान सभाको उप निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचन लडेकी थिइन् ।

त्यतिबेला माओवादीका हरिस ठकुल्ला विजयी भएका थिए । मतका आधारमा पाल तेस्रो स्थानमा पुगेकी थिइन । त्यतिबेला कांग्रेसका शेर बहादुर देउवा डडेलधुरा र कञ्चनपुर ४ बाट गरी दुई ठाउँबाट निर्वाचित भएका थिए । उनले कञ्चनपुर ४ छाडेपछि उपनिर्वाचन भएको थियो ।

क्षेत्र नं. ३ मा महाकालीपारिको दोधारा चाँदनी नगरपालिकासंँगै भीमदत्त नगरपालिकाका सबै १९ वडा र बेदकोट नगरपालिकाको वडा नं. ८ पर्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिकामा २६ हजार ८१२, बेदकोट ८ मा २ हजार ५५२ र भीमदत्त नगरपालिकामा ६८ हजार ४५८ गरी क्षेत्र नं. ३ मा ९७ हजार ८२२ मतदाता छन् ।

कांग्रेस उम्मेदवार लेखकले आफ्नो पहिलो प्राथमिकता कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने रहेको बताए । भारतबाट नेपाल हुँदै चीनसम्म व्यापारिक केन्द्र बनाउन सकिने उनको धारणा छ । व्यापारिकसँगै धार्मिक र पर्यटनको समेत केन्द्र बनाउन सकिने उनले बताए । ‘बन्द रहेको मझगाउँ विमानस्थलको काम तत्काल सुचारु गरिनेछ र विमानस्थल सञ्चालनमा ल्याइनेछ,’ लेखकले भने, ‘महाकालीको बाँधलाई पनि मर्मतसँगै जोगबुडा नदीको बाँधको काम पनि पूरा गरिनेछ ।’ उनले महाकाली प्रादेशिक अस्पतालको सेवालाई पनि स्तरोन्नति गरिने बताए ।

एमाले उम्मेदवार पालले बन्द भएको महकाली करिडोरको काम र मझगाउँ विमानस्थलको काम सुचारु गर्ने आफ्नो प्रमुख चुनावी एजेन्डा भएको बताइन् । उनले एमाले सरकारका बखत सुरु भएको करिडोर र विमानस्थलको काम अहिलेको सरकारले स्थगित गरेको भन्दै त्यसलाई सुचारु गर्ने बताइन् । यसैगरी महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नति, भीमदत्त नगरपालिकाको ८३ किलोमिटर बाह्य चक्रपथ निर्माण, दोधारा चाँदनीलाई नमुना नगर बनाउने र चुरे फेदीमा खानेपानीको व्यवस्थासँगै खहरे खोलाको कटान नियन्त्रणलाई प्रमुख चुनावी एजेन्डा बनाएकी छन् । महाकालीमा पक्की तटबन्ध निर्माण पनि प्राथमिकतामा रहने उनले बताइन् ।

गत निर्वाचनमा एमाले र माओवादीको गठबन्धन हुँदा लेखक झिनो मत अन्तरले पराजित भएका थिए । यस पटक कांग्रेस र माओवादी समाजवादीलगायतको गठबन्धन भएका कारण एमालेलाई विगतको भन्दा बढी चुनौती देखिन्छ । तर कांग्रेसकै महाधिवेशन प्रतिनिधि दीपक सिंह र शारदा चन्द प्रतिनिधिसभामा बागी उम्मेदवार भएका कारण लेखकलाई पनि चुनौती छ ।

दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमाओवादी नेता भीम कुमालले प्रतिनिधिसभामा पनि उम्मेदवारी दिएका छन् । एमालेले पनि क्षेत्र नं. ३ मा राप्रपासँग तालमेल गरेको छ । जिल्लाको अन्य क्षेत्रको तुलनामा भीमदत्त र दोधारा चाँदनीमा राप्रपाको सांगठनिक अवस्था केही बलियो छ ।

स्थानीय तहको निर्वाचनलाई हेर्दा दुई पालिकामध्ये दोधारा चाँदनीमा एमाले विजयी भएको छ । भीमदत्त नगरपालिकामा कांग्रेस विजयी भएको छ । ०७९ को स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ३ मा पर्ने वडाध्यक्षहरूको पाएको मतलाई अनुसार एमालेले १६ हजार १२५, कांग्रेसले २१ हजार ७७६, माओवादी केन्द्रले ५ हजार ९८१, राप्रपाले ६ हजार ३८३ र एकीकृत समाजवादीले ३ हजार १२७ मत ल्याएका थिए ।

प्रकाशित : कार्तिक ५, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?