कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँघरमै चहलपहल

मेनुका ढुंगाना

अछाम — दसैं सुरुभएसँगै अछामका स्थानीय बजार र गाउँमा चहलपहल बढेको छ । दसैं–तिहार मान्न घर फर्कनेको भीडले मंगलसेन बजार क्षेत्र बिहानैबाट भरिभराउ हुने गरेको छ । शुक्रबार बैंक, पसल, बसपार्कमा चहलपहल बाक्लो देखियो ।

गाउँघरमै चहलपहल

धनगढी, काठमाडौं, नेपालगन्जदेखि आउनेमात्र नभई मंगलसेन, साँफेबगरमा अस्थायी बसोबास गरिरहेकासमेत आफ्नो गाउँ फर्कंदै छन् । दसैंले व्यापार व्यवसाय बढेका व्यवसायीहरू बताउँछन् । चाडबाडका बेला खाद्यान्न, लत्ताकपडा, सुनचाँदी, पुस्तक, खेलकुद, अटोपार्ट्सलगायत सामग्रीको बिक्री बढ्ने हुनाले व्यवसायीहरू उत्साहित छन् ।

दसैं आगमनको चहलपहलका कारण यहाँका साना तथा ठूला होटल व्यवसायलाई फाइदा पुगेको छ । यसअघि कोरोनाका कारण लगातार तीन वटा चाडपर्व ढुक्कले मनाउन नपाएकाहरू पनि यो पटक भने हर्षोल्लाससाथ दसैं मनाउने तयारीमा देखिन्छन् ।

यातायात व्यवसायीहरूको पनि कमाइ बढेको छ । यात्रुहरू गन्तव्यमा पुर्‍याउन उनीहरूलाई भ्याइनभ्याई छ । अछाममा सुदूरपश्चिम, मालिका, महाकाली, कर्णाली रिभर यातायातले सेवा दिइरहेका छन् । सुदूरपश्चिम बस व्यवसायी समितिले पहाडी जिल्लामा गाडी अपुग भए पनि थप व्यवस्थापन गरेको बताएको छ ।

कर्णाली रिभर यातायातले मध्यपश्चिम यातायात बस व्यवसायी समितिले यात्रुलाई सहज गन्तव्य पु‍र्‍याउन गाडीको संख्या थप गरेको जनाएको छ । अछाममा सिन्डिकेट समस्या नहुँदा यात्रुहरूलाई सहज भएको समितिको दाबी छ ।

घर फर्किनेको लर्को

कमलबजार नगरपालिका–६ का नरेन्द्र शाही दसैं मनाउन खाडी मुलुकबाट घर फर्किएका छन् । उनी तीन वर्षअघि मजदुरीका लागि कतार पुगेका थिए । यसपाली परिवारसँग बसेर दसैं मनाउन तीन वर्षपछि फर्किएको शाहीले सुनाए । उनीमात्र होइन जिल्लाबाहिर र वैदेशिक रोजगारीमा गएका पनि धमाधम घर फर्कन थालेपछि दसैंको रौनक गाउँघरमा रौनक बढेको हो ।

‘देश बाहिर भएकै बेला स्थानीय तहको चुनाव भयो । तर आउन पाइएन । दसैंले मौका जुरायो । बद प्रदेश संघको चुनावमा भोट पनि दिन पाइने भयो,’ शाहीले भने, ‘आफ्नो सीपअनुसारको काम पाए अब विदेश नजाने सोच बनाएको छु ।’

आफूले जस्तै थुप्रै युवाले स्वदेशमा नै काम गर्न चाहेको उनको भनाइ छ । घर आउनेको भीडले गर्दा गाडी र जहाजको टिकट पाउन मुस्किल भएको स्थानीयले बताए । व्यापार र जागिरका लागि बाहिर अस्थायी बसोबास गर्दै आएका स्थानीय पनि जन्मथलो जान थालेका छन् । दसैंमा सदरमुकामभन्दा गाउँबस्तीमा रमाइलो हुने उनीहरू बताउँछन् ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?