२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उम्मेदवारी नटुंगिँदै प्रचार

‘सांसदको टिकट लिन भनेर आएका थियौं, बसको टिकट पनि नपाएर रोकिएका छौं’
वसन्तप्रताप सिंह

बझाङ — पार्टीले आधिकारिक रूपमा उम्मेदवारको टुंगो नलगाउँदै नेकपा एमाले बझाङले प्रचार थालेको छ । एमालेले जिल्लाको विकट साइपाल गाउँपालिकाबाट औपचारिक रूपमा चुनावी प्रचार सुरु गरेको हो । अनेरास्वियुका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय कमिटी सदस्य ऐन महरलाई प्रतिनिधिसभा उम्मेदवारको रूपमा अघि सार्दै एमालेले प्रचार सुरु गरेका छ । महरसहित जिल्ला अध्यक्ष दमन भण्डारीसहितको टोली मंगलबार साइपाल गाउँपालिकामा प्रचारका लागि हिँडिसकेको छ ।

उम्मेदवारी नटुंगिँदै प्रचार

अध्यक्ष भण्डारी पनि प्रदेशसभाको उम्मेदवारका दाबेदार हुन । उनीहरूको टोलीले करिब हप्ता दिनसम्म साइपाल गाउँपालिकामा घरदैलो गर्ने एमालेका नेताहरू बताउँछन् । ‘बाहिर घोषणा नभएपनि उहाँहरूको टिकट पक्का जस्तै हो । केन्द्रीय नेताहरूले भनेर नै उहाँहरू प्रचारमा हिँड्नुभएको हो,’ एमालेका जिल्ला कमिटी सदस्य दीपक रोकायाले भने, ‘प्रचार अभियानको सुरु जिल्लाको विकट पालिकाबाट नै गरौं भनेर साइपाल छानिएको हो ।’ उनले महरको टोली साइपालबाट फर्किए लगत्तै उम्मेदवारी दर्ता गरेर प्रचार अभियानलाई घनीभूत बनाउने बताए ।

यता प्रदेशसभा सदस्यकै दाबेदार रहेका संविधानसभा सदस्य अफिलाल ओखेडाले भने उम्मेदवारी निश्चित नभए पनि प्रचार अभियान भने सुरु भइसकेको बताए । ‘समय कम भएकोले संघको उम्मेदवारले पछि साइपाल जान सक्ने सम्भावना कम छ,’ उनले भने, ‘टिकट पाए उम्मेदवारका रूपमा नभए नेताको रूपमा भए पनि एकपटक पुग्नुपर्छ भनेर सल्लाहमै उहाँहरू जानुभएको हो । प्रचार अभियान त बझाङमा मात्रै होइन देशैभरि सुरु भइसक्यो नि ।’ उनले जिल्लाका अरु पालिकामा पनि स्थानीय नेताकार्यकर्ताले प्रचार थालिसकेको बताए ।

गठबन्धनसँग प्रमुख प्रतिस्पर्धीको रुपमा रहेको एमाले प्रचार अभियानमा जुटिसकेको भए पनि गठबन्धन आबद्ध दलहरूमा भने अन्योल नै देखिन्छ । सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसको जिल्ला नेतृत्व पंक्ति गठबन्धनको सिट बाँडफाँटप्रति पनि असन्तुष्ट देखिन्छ । भागबन्डामा प्रतिनिधिसभा निर्वाचनका लागि एउटा मात्रै क्षेत्र रहेको बझाङ समाजवादीको भागमा पर्ने थाहा पाएपछि असोज ३ गते कांग्रेस बझाङका सभापति खड्क बोहराले विज्ञप्ति नै निकालेर माओवादीसँग गठबन्धन गरी, समाजवादीसँग प्रतिस्पर्धा गर्ने बताएका थिए ।

यद्यपि भागबन्डाको आधिकारिक निर्णय बाहिर नआएकाले अहिले नै यो विषयमा थप केही भन्न नसक्ने उनको भनाइ छ । ‘भागबन्डाको कस्तो निर्णय आउँछ, त्यसपछि जिल्लामा गएर छलफल गर्छौं,’ काठमाडौंमा रहेका उनले प्रतिनिधिसभाको सिट समाजवादीले पाउने सम्भावनाप्रति व्यंग्य गर्दै भने, ‘सांसदको टिकट लिन भनेर आएका थियौं । बसको टिकट पनि नपाएर यतै रोकिएका छौं ।’ आफू जिल्ला फर्केर दसैपछि पार्टीको बैठक बोलाउने र त्यसपछि मात्रै प्रचार र चुनावी रणनीतिको टुंगो लाग्ने बताउँदै उनले कार्यकर्ताको असन्तुष्टि सम्बोधन गर्न नसकिने अवस्थामा रहेको बताए । ‘उहाँहरू (समाजवादी) को मुठी भोटमा हामीले मुरी खन्याउनुपर्ने छ । कसरी मिलाउने हो गाह्रो छ,’ उनले भने ।

यता नेकपा एकीकृत समाजवादीले भने बझाङको प्रतिनिधिसभाको टिकट आफ्नो भागमा परिसकेको बताउँदै असोज १६ गतेबाट प्रचार अभियान सुरु गरिने बताएको छ । समाजवादीका जिल्ला कमिटी सचिव लक्ष्मी जोशीले गठबन्धनको तर्फबाट पूर्वमन्त्रीसमेत रहेका समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी उम्मेदवार हुने बताए । ‘सिट बाँडफाँटको कुरा मिलिसकेको छ । पूर्वमन्त्रीज्यू नै उम्मेदवार हो,’ उनले भने, ‘१६ गते उहाँ बझाङ आएपछि प्रचार अभियान सुरु हुन्छ ।’ उनले गठबन्धनको ठूलो दल कांग्रेसमा भागबन्डाप्रति असन्तुष्टि हुनु स्वाभिवकै भएको र विस्तारै सबै ठीक भएर जाने बताए ।

सुदूरपश्चिममा साढे १६ लाख मतदाता

धनगढी– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् । यस प्रदेशअन्तर्गत रहेको नौ जिल्लामा गरी प्रतिनिधिसभातर्फ १६ र प्रदेशसभातर्फ ३२ वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता तराईमा पर्ने कैलालीमा छन् । कैलालीमा ५ लाख ५ सय १४ जना मतदाता छन् । सुदूरपश्चिममा सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला पनि कैलाली नै हो । कैलालीमा प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ १० वटा निर्वाचन क्षेत्र छन् ।

कैलालीपछि कञ्चनपुरमा छन् । कञ्चनपुमा ३ लाख २ हजार ५०९ मतदाता रहेका छन् । डडेल्धुरामा ९१ हजार २०१, बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दार्चुलामा ८९ हजार १५४, डोटीमा १ लाख २४ हजार ८७०, बझाङमा १ लाख २२ हजार ३७६ मतदाता रहेका छन् । अछाममा १ लाख ५८ हजार ५७ मतदाता छन् ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा यस प्रदेशको कूल मतदाता संख्या १६ लाख ३२ हजार १५० थियो । ०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यस प्रदेशमा १४ लाख ३५ हजार ६७४ मतदाता थिए ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आचारसंहिता जारी भइसकेको र निर्वाचन तयारीका अन्य कामहरू पनि धमाधम भइरहेको बताए ।

उनले निर्वाचन अधिकृतको कार्यालय स्थापना, तालिम र प्रशिक्षण लगायतका तयारी भइरहेको बताए  ।

प्रकाशित : आश्विन १४, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?