कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाले पौष्टिक आहार पाएनन्

पहिरो र बाढीका कारण सडक बन्द भएपछि असारयता सामान ढुवानी हुन सकेको छैन
मनोज बडू

दार्चुला — दार्चुलाको उत्तरी भेगमा पर्ने दुहु र व्यास जोड्ने टिंकर सडक अझै सुचारु हुन सकेको छैन । असारदेखिको बन्द सडकका कारण ढुवानी रोकिएपछि दुहु र व्यासका २७ सय बालबालिकाले पौष्टिक आहार (खाजा) समेत खान पाएको छैनन् ।

बालबालिकाले पौष्टिक आहार पाएनन्

पहिरो र बाढीका कारण सडक बन्द भएपछि असारयता विद्यालयका बालबालिकालाई दिइने पौष्टिक आहारसमेत ढुवानी हुन नसकेको हो । विभिन्न दैनिक उपभोग्यवस्तु ढुवानी हुन सकेको छैन । व्यास र दुहु गाउँपालिकाका ४३ विद्यालयका दुई हजार ७ सय बालबालिकाले दिउँसोको खाजा खान पाएका छैनन् ।

नर्सरीदेखि ५ कक्षासम्मका बालबालिकाको पढाइमा सुधारका लागि पौष्टिक आहार (खाजा) दिने व्यवस्था गरिएको हो । पौष्टिक आहारको खाजा कार्यक्रममा व्यास गाउँपालिकाका २४ र दुहु गाउँपालिकाका १९ विद्यालयमा लागू रहेको परियोजना इकाइ कार्यालयका दार्चुलाका पोषण सम्पर्क व्यक्ति एकेन्द्रबहादुर बमले बताए । उनका अनुसार सडक अवरुद्ध हुनु अघिसम्म दुई पालिकाका ४३ विद्यालयमा दुई हजार ७ सय बालबालिकालाई खाजा उपलब्ध गराइएको थियो ।

असारको अन्तिमतिर ठेकेदारले दार्चुला सदरमुकामसम्म पौष्टिक आहारको खाद्यान्न ढुवानी गरेका थिए । खाद्यवस्तु पुग्नेबित्तिकै दार्चुला–टिंकर सडक बन्द भएपछि ढुवानी हुन सकेको छैन । ठेकेदार नियमित सम्पर्कमा रहेकाले सडक खुल्नेबित्तिकै सदरमुकाम रहेको पौष्टिक आहारको खाद्यवस्तु ढुवानी गरिने पोषण सम्पर्क व्यक्ति बमले बताए । विश्व खाद्य कार्यक्रमले अनुदानको रूपमा देशभरका अधिकांश विद्यालयमा खाजा कार्यक्रम लागू गरेको छ । विश्व खाद्य कार्यक्रमले नै खाद्यवस्तु ढुवानीका लागि ठेकेदार छनोट गरिने हुँदा इकाइ कार्यालयको समन्वयमा स्थानीय तहका वितरण केन्द्रसम्म ठेकेदारले नै ढुवानी गर्ने बमले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा दुहु र व्यास गाउँपालिकाका विद्यालयमा अध्ययनरत बालबालिकाले तीन महिना बढीदेखि खाजा पाउन सकेका छैनन् । व्यास गाउँपालिका–६ वसन्तपुर माध्यमिक विद्यालयका नर्सरीदेखि ५ कक्षासम्मका बालबालिकाले जेठसम्म दिउँसोको समयमा खाजा पाएका थिए । त्यसयता घरबाट नै खाजा लिएर विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक दौलतसिह खातीले बताए । उनका अनुसार ७३ विद्यार्थीलाई नियमित रूपमा खाजाको व्यवस्था गरिए पनि असारदेखि विद्यार्थीहरूको कोटाको खाद्यवस्तु विद्यालयमा पुगेको छैन । उनले जेठसम्म कोटा विद्यालयलाई उपलब्ध भएको छ । त्यसयता पाउन नसकेको बताए ।

स्थानीय तहको वितरण केन्द्रसम्म दातृ निकाय विश्व खाद्य कार्यक्रमले ठेकेदारमार्फत ढुवानीको व्यवस्था मिलाइएको छ । वितरण केन्द्रदेखि विद्यालयसम्म विद्यालयमा गठन भएका खाजा व्यवस्थापन समितिले ढुवानीको व्यवस्थापन गर्ने पौष्टिक आहार परियोजना इकाइ कार्यालयका दार्चुलाका पोषण सम्पर्क व्यक्ति बमले बताए । ठेकेदारले व्यास गाउँपालिकाको वितरण केन्द्र सुन्सेरा र दुहु गाउँपालिकाको धारीसम्म ढुवानी गर्दै आएको छ । दुहु व्यास जोड्ने टिंकर सडक सदरमुकाम नजिकको लास्कु खोलादेखि बन्द छ ।

आवतजावतमा सास्ती

दुहु र व्यास गाउँपालिका जोड्ने दार्चुला–टिंकर सडक असारयता बन्द भएपछि यहाँका स्थानीयलाई आवतजावतमा समेत सास्ती भएको छ । दैनिक उपभोग्यवस्तु आपूर्तिका लागि सदरमुकाममा आश्रित यहाँका स्थानीयले सडक खण्ड बन्द भएपछि जोखिमपूर्ण बाटोमा पिठ्युँमा बोकेर लैजानुपर्ने अवस्था छ । अति आवश्यक सरसामान स्थानीय आफैंले सदरमुकामबाट नै बोकेर घरसम्म लैजाने गरेका छन् । गाउँमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान सकिएको एक महिनाबढी हुँदासमेत स्थानीय तहहरूले खाद्यान्नको व्यवस्थापनमा ध्यान नपुर्‍याएको स्थानीयको गुनासो छ ।

वर्षात्भरि सडक मार्ग अवरुद्ध भएका कारण दुहु र व्यासमा दैनिक उपभोग्य वस्तु ढुवानी तथा बिरामीलाई अस्पताल लैजान साह्रै समस्या भएको दुहु गाउँपालिका–२ का पदम बडालले बताए । ‘सबैभन्दा ठूलो समस्या बिरामीलाई बोकेर अस्पताल पुर्‍याउन समस्या हुने गरेको छ,’ उनले भने, ‘बिरामीलाई एक्लै बोक्न अप्ठ्यारो हुन्छ । साँघुरो एवं भीरपाखाको बाटो भएर हिँड्नुपर्दा साह्रै समस्या छ ।’ पिठ्युँमा बोकेर बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटोमै ज्यान गुमाउने बाध्य रहेको उनको दुःखेसो छ ।

स्थानीय खोलाहरूमा पुल निर्माण नभएपछि नदीहरूमा पानी सतह बढी हुँदा तत्काल यातायात सञ्चालनमा समस्या देखिएको छ । दुहु गाउँपालिकाले दार्चुला–टिंकर सडक योजनालाई पटक–पटक लिखित र मौखिक रूपमा सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भए पनि खोलामा पानीको सतह बढी हुँदा समस्या देखिएको छ । दसैंअगावै दुहुसम्म सडक सञ्चालनमा ल्याउन स्काइभेटर लगाएर सडक सफा गर्ने र नदीहरूमा पानीको सतहलाई फराकिलो बनाएर ट्र्याक्टरसम्म चल्ने बनाउने प्रयास गरिरहेको दुहु गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर बडालले बताए । उनले पालिकाको स्काइभेटर दार्चुला–टिंकर सडक योजनासित सम्झौता गरेर काम भइरहेको छ । निजाङ खोला र लास्कु खोलामा सम्याउने काम भइरहेको अध्यक्ष बडालको भनाइ छ ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?