कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
महाकाली सिँचाइ आयोजना

नहर परीक्षण भयो, पानी आएन

भवानी भट्ट

कञ्चनपुर — महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरको परीक्षण भएको तीन महिना भयो । परीक्षणपश्चात् पनि नहरमा पानी सञ्चालन हुन सकेको छैन । नहरको औपचारिक उद्घाटन नभएका कारण पानी सञ्चालन हुन नसकेको हो ।

नहर परीक्षण भयो, पानी आएन

असार तेस्रो साता धान दिवसका अवसरमा निर्माणाधीन नहरको परीक्षण गरिएको थियो । वेदकोट नगरपालिका ४ बगुनमा सोही नहरबाट ल्याइएको पानीले रोपाइँ पनि गरिएको थियो । तर त्यसयता भने नहरमा पानी छैन ।

भारतीय पक्षले नहरको औपचारिक उद्घाटनपछि मात्रै पानी सञ्चालन गर्ने भनेको छ । तर हालसम्म उद्घाटनको मिति तय भएको छैन । दुवैतर्फबाट संयुक्त रूपमा उद्घाटन गर्ने भनिए पनि हालसम्म त्यसबारे तयारी भएको छैन । गत वर्ष प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने तयारी थियो । तर कोरोना संक्रमणका कारण प्रधानमत्रीको भ्रमण स्थगित भएपछि उद्घाटन पनि रोकिएको हो । ‘अहिले तत्काल उद्घाटनको कुनै तयारी छैन, यस विषयमा कुनै छलफल पनि भएको छैन,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले भने, ‘उच्च स्तरबाटै उद्घाटन गराउने भन्ने छ, तर अहिले नै तय भएको छैन ।’

आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । थप १० किलोमिटर नहर निर्माणाधीन अवस्थामा छ । चालु आर्थिक वर्षमा नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहरको निर्माण कार्य पनि सुरु गर्ने आयोजनाको तयारी छ । जसका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको सीडीई पण्डितले बताए । अहिले पानी सञ्चालन भएमा बढी भएको पानी मुसेपानी र स्याली खोलामा फाल्न सकिनेछ । यसबाहेक सिँचाइका पुराना संरचनाहरू प्रयोग गरेर कृषकहरूको खेतमा पनि पुर्‍याउन सकिने पण्डित बताउँछन् । नियमित पानी सञ्चालन हुन सके नहरको अवस्था थाहा हुनुका साथै सानोतिनो टुटफुट भएमा मर्मत पनि गर्न सजिलो हुने उनले बताए ।

आर्थिक वर्ष ०६३/०६४ मा निर्माण सुरु भएको आयोजनामा सुरुका केही वर्ष मुआब्जा विवाद र बजेट अभावका कारण कामले गति लिन सकेन । दुई वर्षअघि आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि बजेट बढेको हो । अहिले आयोजनाका लागि वार्षिक बजेट एक अर्ब हाराहारीमा आउने गरेको छ । आवश्यकताअनुसार थप पनि हुने गरेको छ । एकीकृत महाकाली सन्धिमा टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि पानी पाउने व्यवस्था छ । जसका लागि नेपाल–भारत सीमासम्मको १२ सय मिटर मूल नहर भारतीय पक्षले नै निर्माण गर्नुपर्ने व्यवस्था छ । सन्धि भएको डेढ दशकपछि नेपालले नहर निर्माण थालेको गियो भने भारतले त्यसको पनि एक दशकपछि आफ्नो भूभागमा नहर निर्माण गरेको हो । भारतीय पक्षले नहर निर्माण गरेपछि नेपालतर्फ पनि अब निर्माण कार्यलाई तीव्रता दिनुपर्ने दबाब बढेको छ ।

आयोजनाअन्तर्गत १५१ किलोमिटर मूल नहर निर्माण हुनेछ । आयोजना सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । सोही आयोजनाअन्तर्गत महाकालीपारिको दोधारा चाँदनीमा सिँचाइका लागि नहर निर्माण गर्नुपर्नेछ । उक्त क्षेत्रमा सिँचाइका लागि भारतीय पक्षले शारदा नहरबाट पानी उपलब्ध गराउनुपर्ने एकीकृत सन्धिमा उल्लेख छ । यस वर्ष दोधारा चाँदनीतर्फ पनि नहर निर्माणको काम सुरु गर्ने तयारी रहेको सीडीई पण्डितले बताए । उनका अनुसार दोधारा चाँनीमा गत वर्ष सर्भेको काम भइसकेको छ । उक्त क्षेत्रमा पनि नेपाल–भारत सीमासम्म भारतीय क्षेत्रमा करिब १२ सय मिटर मूल नहर भारतले नै निर्माण गर्नुपर्नेछ । भारतलाई दबाब दिन पनि दोधारा चाँदनीतर्फ नहर निर्माणको काम तत्काल सुचारु गर्नुपर्ने आयोजनाका अधिकारीहरू बताउँछन् ।

शारदा नहरबाट नेपालले दोधारा चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी पाउनेछ । यसका लागि १६ किलोमिटर मूल नहर निर्माण गर्नुपर्नेछ । उक्त नहरबाट ३१ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । दोधारा चाँदनी धान, गहुँ र तरकारी खेतीका लागि निकै उपयुक्त मानिन्छ । सिँचाइकै अभावमा यहाँ उत्पादन वृद्धि हुन नसकेको कृषकहरू बताउँछन् ।

प्रकाशित : आश्विन ११, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?