कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा ‘जिन एक्सपर्ट’ मेसिन

दार्चुला — जिल्ला अस्पताल दार्चुलामा क्षयरोगको किटाणु पत्ता लगाउने अत्याधुनिक ‘जिन एक्सपर्ट’ मेसिन सञ्चालनमा ल्याइएको छ । मेसिनद्वारा क्षयरोगका अति शंकास्पद बिरामीको निःशुल्क परीक्षण गरिने भएको छ । जिन एक्सपर्ट मेसिनको महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले मंगलबार उद्घाटन गरे ।

क्षयरोगको किटाणु जिन एक्सपर्ट मेसिनबाट दुई घण्टामै परीक्षण गर्न सकिन्छ । यसअघि जिल्ला अस्पतालमा माइक्रोस्कोपी विधिबाट क्षयरोगको परीक्षण हुँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकराज जोशीले बताए । महाकाली नगरपालिकाको आर्थिक सहयोगमा जिन एक्सपर्ट मेसिन सञ्चालन ल्याइएको हो ।

यो मेसिन जडान भएसँगै क्षयरोगका बिरामीलाई निःशुल्क परीक्षण गरिनेछ । अस्पतालका ल्याब टेक्निसियन दीपक बिष्टका अनुसार माइक्रोस्कोपी विधिबाट गरिने परीक्षणपछि शतप्रतिशत क्षयरोगी बिरामी हो कि होइन भनेर यकिन गर्न भने फेरि जिन एक्सपर्ट मेसिनकै प्रयोग गर्नुपर्छ । बिष्टका अनुसार यसका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो । जिन एक्सपर्ट मेसिन भित्रिएसँगै सम्भावित रोगीहरूमा क्षयरोग हो कि होइन भनेर अन्तिम परीक्षण जिल्लामै हुने उनको भनाइ छ ।

राष्ट्रिय क्षयरोग निवारण केन्द्रका टेक्निसियन ईश्वरीप्रसाद भुसालले जिन एक्सपर्ट क्षयरोग निदानमा सबभन्दा नयाँ प्रविधि भएकाको बताए । उनले क्षयरोग शंका लागेका व्यक्तिहरूको माइक्रोस्कोपी विधिबाट परीक्षण गर्दा प्रतिएक सय जनामा ५०/६० जनामा मात्रै पत्तो लाग्ने गरकोमा जिन एक्सपर्ट मेसिनबाट परीक्षण गर्दा एक सयमा ९०/९६ जनामा देखिने गर्छ । खकार मेसिनमा राखेको २ घण्टामै क्षयरोग भए नभएको पत्ता लाग्छ ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?