कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आठ वर्षदेखि पुल अधुरै

पुल नबन्दा जोखिम मोलेर वर्षात्मा खोला तर्नुपर्ने बाध्यता
तृप्ति शाही

बैतडी — बैतडीको पाटन नगरपालिका क्षेत्रमा दुई वटा पुल सम्झौता भएको ८ वर्षसम्म पनि पूरा भएका छैनन् । सम्झौताको दुई वर्षभित्र पूरा भइसक्नुपर्ने पुलको पटकपटक म्याद थपेर पनि निर्माण हुन सकेको छैन ।

आठ वर्षदेखि पुल अधुरै

०७१ साउन ६ गते निर्माण सम्झौता भएको पाटनबाट सकार र कैलपाल जोड्न सूर्नया नदीमाथि निर्माण हुने १ सय ५० मिटरको पक्की पुल अझै बन्न नसकेको हो । एडभान्सर कन्ट्रक्सनले पुल निर्माण सम्झौता गरेर स्थानीय एसके निर्माण सेवालाई जिम्मा दिएको थियो । २ करोड ९१ लाख २७ हजार रकममा सम्झौता भएको पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको पुल हेर्ने डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर बर्खबहादुर कठायतले बताए ।

दुई वटा स्ल्याव हाल्नुपर्ने पुलको एक स्थानमा हालिसकेको र अर्को यो वर्षभित्र हालिसक्ने प्रतिबद्धता निर्माण गर्ने ठेकेदारले जनाएको छन् । ‘ठेकेदारकै लापरबाहीले गर्दा पुल अहिलेसम्म पनि बन्न सकेन,’ कठायतले भने, ‘सुरुको वर्ष यहाँसम्म जानेबाटै नभएर ढिलो भयो, पछि फेरि समयमै काम नगरेकाले ढिलो भयो । अनि फेरि कोरोनाले काम गर्न नसकेको भनेर भन्दै आइरहेका छन् ।’ गतवर्षबाट भने काम अगाडि बढाएको उनले बताए । यो वर्ष सक्ने जनाएको पनि उनले बताए ।

यस्तै पाटन नगरपालिकाभित्रै पार्ने अर्को गोइडाखोला पुल पनि निर्माण सम्झौता भएको ६ वर्ष भइसक्दासम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । २०७३ पुस १२ गते सम्झौता भएको पाटन—पञ्चेश्वर सडक खण्डमा पर्ने पुल अझै बन्न नसकेको हो । ५० मिटरको पुल रसीना एण्ड कन्सट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको थियो । यसले पनि स्थानीय एसके निमार्ण सेवालाई नै जिम्मा दिएको थियो छ । २ करोड ७० लाखको लागतमा सम्झौता भएको पुलको ६ वर्षसम्म दुईवटा पिल्लर मात्र उठेको छ । अहिलेसम्म पुलको ६१ प्रतिशत मात्र प्रगती भएको छ । अरू काम गर्न बाकि रहेको इन्जिनीयर कठायतले बताए ।

पुल नबन्दा त्यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन । वर्षातमा पाटनबाट सकारदेखि कैलपाल जोड्ने सडक यही अधुरो पुलका बार लगाउने काम बन्द हुने गरेको छ । ‘पुल नबन्दा स्थानीयवासीलाई समस्या भएको छ । वर्षा हुनासाथ परेर सुर्नया नदीको बहाव बढेर गाडी चल्दैनन्,’ स्थानीय कपिल केसीले भने, ‘यात्रुहरू पैदल हिँडेर यात्रा गर्न बाध्य छन् । पुल नहुँदा बिरामी परेमा स्थानीयले उपचारको लागि पाटन, जिल्ला अस्पताल वा बाहिर लैजान नसक्ने अवस्था छ ।’ पुमेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिका जानका लागि यो बाटो प्रयोग गर्नुपर्ने हुन्छ । पुल नबन्दा जोखिम मोलेर वर्षात्मा खोला तर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : भाद्र २८, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?