दार्चुलामा लास्कु खोलाको बाढीले १३ घर बगायो, पहिरोमा दुई जना बेपत्ता- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा लास्कु खोलाको बाढीले १३ घर बगायो, पहिरोमा दुई जना बेपत्ता

चित्रांग थापा

धनगढी — दार्चुला सदरमुकाम नजिक लास्कु खोलामा शुक्रबार राति आएको बाढीले महाकाली नगरपालिकाको बांगाबगड र डुङरीसम्म खोला किनारको बस्तीका १३ घर बगाएको छ । राति ११ बजेतिर खोलामा आएको बाढी र जिल्लाकै नौगाड गाउँपालिकामा पहिरोमा परी २ जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार सदरमुकाम नजिक महाकाली नदीमा मिसिने लास्कु खोलामा राति ११ बजेदेखि आएको बाढीले १२/१३ घर बगाएको हो । ‘राति २ बजेदेखि नै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली परिचालन गरी उद्धार कार्यमा खटिएको छ,’ प्रजिअ उपाध्यायले भने, ‘बाढीबाट प्रभावित लास्कु खोला किनारको महाकाली नगरपालिकाको बांगाबगर र डुङरीमा १ जना बेपत्ता भएको जानकारी आएको छ ।’ साथै शुक्रबार राति नै नौगाड गाउँपालिका १ सल्लि भन्ने ठाउँमा पहिरोमा पुरिएर अन्य अन्य १ जना बेपत्ता भएको खबर प्राप्त भएको प्रजिअ उपाध्यायले बताए ।

वर्षासँगै रातिको समयमा एक्कासि लास्कु खोलामा आएको बाढीले खोला किनारमा घरहरु बगाउँदा भएको क्षतिको विवरण प्राप्त भएको छैन । तीनवटै सुरक्षा निकाय र स्थानीयवासी उद्धारकार्यमा खटिएका छन् । लास्कु खोला सदरमुकाम नजिक महाकाली नदीमा मिसिन्छ ।

प्रकाशित : भाद्र २५, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

चित्रांग थापा

धनगढी — कार्टुनिस्ट क्लव अफ नेपालको आयोजनामा शुक्रबार धनगढीमा भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न 'निसाना' शिर्षकमा कार्टुन प्रदर्शनी भएको छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालका अग्रज र नयाँ पुस्ताका गरी ३६ जना कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन गरिएको छ ।

पहिलो पटक राजधानी काठमाडौं बाहिर सातै प्रदेशमा यस प्रकारको प्रदर्शनी गरिएको कार्टुनिस्ट क्लव अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले बताए । गत वैशाख ४ गते कामाडौंबाट सुरु भएको प्रदर्शनीको अन्तिम प्रदर्शन शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुगेर समापन हुन लागेको हो ।

कैलालीको जन पुस्तकालयको सभाकक्षमा आयोजित प्रदर्शनीमा क्लवका अध्यक्ष वासु क्षितिजले यसप्रकारको प्रदर्शनी केवल प्रदर्शनी मात्र नभइ भ्रष्टाचारविरुद्धका सिर्जनात्मक अभियानको सुरुवात भएको बताए ।

‘हामीले यस पटक भ्रष्टाचारविरुद्धमा निसाना गरेर यसलाई सांकेतिक रुपमा प्रदर्शनीमा ल्याएका हौं,’उनले भने, ‘यो संकेतलाई वास्तविकतामा उतार्न सम्पूर्ण कार्टुनप्रेमी भ्रष्टाचारविरोधीहरूमा आग्रह पनि गर्दछौं ।’

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला जोशी बडालले उद्घाटन गरेको प्रदर्शनी हेर्न धनगढीका विभिन्न विद्यालयका विद्यार्थीलगायत नागरिक समाज, राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरू पुगेका थिए ।

प्रकाशित : भाद्र २४, २०७९ १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×