२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

आरोपितमध्ये एक जना फरार रहेका छन् ।
अर्जुन शाह

धनगढी — कैलालीको सुखडमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । गत मंगलबार देउडा मेला गएकी किशोरीलाई चार जना स्थानीय युवाले बलात्कार गरेका हुन् । घटनाको दोस्रो दिन प्रहरीले तीन जना आरोपितलाई पक्राउ गरेको छ । फरार एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी लक्ष्मण शाहीले बताए । 

देउडा हेरेर राति १२ बजेतिर एक जना साथीसँगै घर फर्किन लागेकी किशोरीलाई स्थानीय एक युवकले ‘भोक लाग्यो होला, नास्ता खान जाऊँ’ भनेर नजिकको होटलमा लगे । प्रहरीसमक्ष पीडित किशोरीले दिएको बयानअनुसार त्यहाँ अरू तीन जना केटा पनि थिए । उनीहरूले चाउमिन अर्डर गरे । चाउमिनसँग केटाहरूले बियर खान थाले । किशोरीलाई पनि बियर खान कर गरे । ढिला भएको भनेर किशोरी घर जान उठिन् र साथीसँगै हिँडिन् । चारमध्ये चिनजानका युवकले उनलाई ‘म बाइकमा पुर्‍याइदिन्छु,’ भने । मोटरसाइकलमा बसाएपछि घरको साटो फेरि होटलमै लगे ।

त्यही होटल देखेपछि किशोरीले पस्न मानिनन् । त्यसपछि युवकले पीपलडाँडा भन्ने ठाउँमा साथीको डेरामा लिएर गए । कोठाभित्र थुनेर किशोरीमाथि बलात्कार गरे । त्यसपछि अर्का युवक आए । उनले पनि बलात्कार गरे । उनीपछि चौथो आए र उनले पनि बलात्कार गरे । त्यतिन्जेल बिहान ३ बजिसकेको थियो । पीडितलाई त्यही युवकले मोटरसाइकलमा राखेर उनको घर पुर्‍याउन हिँडे । घरको ढोका बन्द थियो । ती युवकले किशोरीलाई अलि पर कोही नबस्ने खाली घरमा लगेर उनीसहित एक अर्को युवकले फेरि बलात्कार गरेर त्यहीँ छोडिदिए । बुधबार दिउँसो उनको होस खुल्यो । उनले घर जान आँट गरिनन् । साढेपानीमा रहेको साथीको घर गएर सबै घटना बताइन् । प्रहरीमा उजुरी गर्ने सल्लाह भयो । त्यस दिन उनी साथीकै घर बसिन् ।

बिहीबार बिहान उनलाई साढेपानीकी साथीले घर पुर्‍याइन् । घर पुग्नेबित्तिकै उनले मर्न भनेर सेनिटाइजर खाइन् । सेनिटाइजरले मरिन्न कि भन्ठानेर उनी घरबाट निस्केर नजिकैको पसलमा विष खोज्न हिँडिन् । तर उनको स्वास्थ्य शिथिल थियो । उनी अर्धचेत थिइन् । पसल नजिकै उनी बेहाल अवस्थामा देखेपछि स्थानीयले चासो राखे । उनलाई प्रहरीले अस्पताल पुर्‍यायो ।

सुखडका डीएसपी शाहीका अनुसार चिकित्सकले किशोरीमाथि बलात्कार भएको हुन सक्ने देखिएको भनेपछि प्रहरी सोधीखोजीमा लागेको थियो । राति ३ बजेतिर उनको होस आयो । त्यसपछि किशोरीले आफू बलात्कृत भएको प्रहरीलाई बताइन् । उनले चिनेका र संलग्न युवकको घरमा प्रहरी राति नै पुगेकाले घटनामा संलग्नहरू तीन जना उम्किन पाएनन् । अन्य एक जनालाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । ‘उनलाई अस्पताल पुर्‍याउँदासम्म हामीलाई घटना विवरण प्रस्ट थिएन,’ डीएसपी शाहीले भने, ‘घटना खुलेपछि हामीले आरोपितलाई पक्राउ गरेका हौं । अनुसन्धान भइरहेको छ ।’ पीडितलाई हाल एक गैरसरकारी संस्थाको संरक्षणमा राखिएको छ ।

प्रकाशित : भाद्र २४, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?