कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

उकुसमुकुसमा बेपत्ता परिवार

‘शान्ति सम्झौता भएको २० वर्ष भयो, तीन/तीन पटक संसदीय निर्वाचन पनि भयो तर हाम्रो पीडा अहिले पनि जहाँको त्यही छ’
भवानी भट्ट

कञ्चनपुर — ६८ वर्षीया पुनिया डगौंरा बेलाबेलामा छोराको यादमा झस्किन्छिन् । मध्यरातमा बिउझेर बाबु कहाँ गयो ? भन्छिन् । २१ वर्षअघि बेपत्ता भएको छोराको सम्झानामा बेहोसी जस्तै बनेकी छिन् । यति हुँदा पनि उनले छोरा फर्किने आस भने मारेकी छैनन् । 

उकुसमुकुसमा बेपत्ता परिवार

कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ की पुनियाका कान्छा छोरा हरि चौधरी २०५८ चैतमा सुरक्षाकर्मीले घरबाटै नियन्त्रणमा लिएका थिए । त्यतिबेला हरि ९ कक्षामा अध्ययनरत थिए । उनको घर कृष्णपुरकै देखतभुलीमा पनि थियो । देखतभुलीबाट हरि र उनका दाइ कालुरामलाई इलाका प्रहरी कार्यालय कृष्णपुरको टोलीले नियन्त्रणमा लिएको हो । कालुरामलाई इप्रकाबाटै छाडियो । तर हरिलाई भने त्यहाँ कहाँ लगे केही पत्तो भएन ।

‘हामीले खोजीका लागि विभिन्न संघ संस्था गुहार्‍यौं, आफूले भने डरले कही जान सकेन,’ कालुरामले भने, ‘शान्तिसम्झौता भएको २० वर्ष भयो, तीन/तीन पटक संसदीय निर्वाचन पनि भयो तर हाम्रो पीडा अहिले पनि जहाँको त्यही छ ।’ उनले अब भाइ जिउँदै पाउने आस नभए पनि कम्तीमा उसको अवस्थाबारे जानकारीसम्म पाए चित्त बुझाउन सकिने बताए ।

‘भाइकै यादमा आमा बिरामी हुनुभयो,’ कालुरामले भने, ‘हामीलाई पनि बेलाबेलामा उसकै सम्झनाले उकुसमुकुस बनाउँछ ।’ भाइ जिउँदै छ कि मृत्यु भयो भन्ने कुराले उकुसमुकुस हुने गरेको उनले बताए । पाँच भाइमध्ये बेपत्ता भएका हरि कान्छा हुन् । भाइ जिउँदै नफर्किए पनि भाइको अवस्थासँगै बेपत्ता पार्नेमाथि कारबाही गरिएमा चित्त बुझाउन सकिने कालुराम बताउछन् । दुई दशकसम्म न्याय नपाएको उनी निराश पनि छन् । दोषीलाई कारबाही त के पहिचान सम्म हुन नसकेको उनको गुनासो छ ।

शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका नरेन्द्र चौधरीले पनि अब भाइ जिउँदै फर्किने आस मारिसके । एउटै घरमा पढिरहेको आफ्नै भाइसँगै काकाकी छोरी र मामाका छोरासहित तीन भाइबहिनी सुरक्षाकर्मीले नियन्त्रणमा लिएर बेपत्ता पारेको थियो । चौधरीका भाइ सुन्दर, बहिनी मधु र मामाका छोरा प्रकाशलाई २०५९ भदौ २९ गते घरभित्रै पढिरहेका बेला नेपाली सेनाको टोलीले पक्राउ गरेको हो । त्यतिबेला चौधरी भूमिगत थिए । उनीहरूलाई माओवादीको भाइ भन्दै पक्राउ गरेको चौधरीले बताए । ‘स्कुल पढ्ने भाइबहिनीको के दोष थियो ?’ चौधरीले भने, ‘म भूमिगत भए मेरा भाइबहिनीलाई बेपत्ता पारियो ।’

चौधरीका बुवाआमासँंगै काकाकाखी र मामामाइजू सबै अहिले पनि छोरा छोरीको यादमा टोलाइ रहन्छन् । कतिपय बेला बेहोस जस्तै हुने गरेको उनले बताए । भाइबहिनीको अवस्था सार्वजनिकसम्म भइदिए यस्तो अवस्थाबाट मुक्ति हुने उनले बताए । ‘आसैआसमा टोलाउनुपर्ने अवस्था हुँदैनथ्यो,’ उनले भने, ‘आमाबुवा बाटो हेरेरै बसेका छन्, त्यो पनि सकिन्थ्यो ।’

कृष्णपुर नगरपालिका ३ देखतभुलीकी लक्ष्मी चौधरी भने छोरी फर्किनेमा आशावादी छिन् । उनी सरकारले जसरी पनि छोरी खोजेर दिनुपर्ने बताउँछिन् । ‘यतिका वर्ष भए हामीलाई सन्तानको बारेमा जानकारी दिनु पर्दैन ?’ उनले भनिन्, ‘जसरी भए पनि छोरी खोजिदिनुपर्‍यो, हामीलाई न्याय चाहियो ।’

चौधरीकी छोरी परमलौटीलाई २०५८ फागुन १३ गते विद्यालयबाट घर फर्किने बेला नेपाली सेनाको टोलीले पक्राउ गरेर बेपत्ता पारेको हो । उनीसंँगै सेनाले ५ जनालाई पक्राउ गरेको थियो । सबै बेपत्ता नै छन् ।

छोरी बेपत्ता भएपछि परमलौटीले इलाका प्रहरी कार्यालय कृष्णपुरसँगै जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेक सबै ठाउँमा धाइन् । एक ठाउँबाट अर्को ठाउँ पठाएको भन्दै उनलाई फिर्ता पठाइयो । ‘एक/डेढ महिनासम्म प्रहरी सेनादेखि सबै ठाउँमा पुगे,’ चौधरीले भनिन्, ‘छोरीको पत्ता कहिकतै लागेन, उल्टै डरधम्कीमात्रै खानुपर्‍यो ।’

पछिल्लो समय सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका र हत्या गरिएको परिवारलाई न्याय दिन गठन भएका सत्य निरूपण तथा मेल मिलाप आयोग र बेपत्ता खोजबिन आयोग निष्क्रिय हुँदा पीडितहरू झनै निराश बनेका छन् । पीडकहरूलाई उन्मुक्ति दिन विभिन्न किसिमका चलेखेल भइरहेको उनीहरूको आरोप छ । ‘पीडकलाई उन्मुक्ति दिएर हाम्रो पीडामाथि झन् पीडा थप्ने काम भइरहेको छ,’ चौधरी भन्छिन्, ‘बेपत्ताको अवस्था सार्वजनिकसँगै पीडकमाथि कारबाही हुनुपर्छ ।’

कञ्चनपुरमा सशस्त्र द्वन्द्वका बेला राज्यपक्ष र विद्रोही पक्षबाट बेपत्ता हुनेको संख्या ३० थियो । तर पछिल्लो समय राहत लिन कतिपयले मृत्युदर्ता गरिसकेका छन् । कतिपयले घरायसी समस्याका कारण पनि मृत्यु दर्ता गराएको कालुराम बताउँछन् । उनका अनुसार अंशबन्डादेखि जमिन नामसारीमा समस्या भएपछि मृत्यु दर्ता गर्न थालिएको हो ।

प्रकाशित : भाद्र १५, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?