कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडा क्लिनिकले रोग पहिचानमा सहज

एकै महिनामा लिए ४ हजारभन्दा बढीले विशेषज्ञ स्वास्थ्य उपचार सेवा
मोहन बुडाऐर

धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीकी ४१ वर्षीया मनमाया आचार्यले गत साउन ११ मा आफ्नो पाठेघरमा क्यान्सर भएको थाहा पाइन् । आर्थिक अभावको कारण उनी अस्पताल पुग्न सकेकी थिइनन् । उपमहानगरद्वारा सञ्चालित निःशूल्क विशेषज्ञ सेवासहितको वडा स्वास्थ्य क्लिनिकमा ‘भीआईईए’ जाँच गर्दा चिकित्सकले पाठेघरमा क्यान्सर भएको हुनसक्ने बताएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।

वडा क्लिनिकले रोग पहिचानमा सहज

क्लिनिक सञ्चालन समितिका फोकल पर्सन योगेश अवस्थीले ‘भीआईईए’ जाँचबाट क्यान्सरको आशंका भएपछि उनलाई क्यान्सर अस्पताल जान सिफारिस गरिएको बताए । आर्थिक अभावमा अस्पतालसम्म पुग्न नसकेर गाउँघरका थुप्रै महिला र पुरुषले जटिल रोग पालेर बसेको क्लिनिक सञ्चालन भएपछि थाहा भएको अवस्थीले बताए । गम्भीर रोग पुष्टि भएपछि साउनमा क्लिनिकले १ सय ५ जनालाई अन्यत्र अस्पतालमा रेफर गरेको उनले जनाए । ‘उपचार गर्नुपर्ने बिरामी घरमै पीडा खपेर बसेको अवस्थामा क्लिनिक रोग निदानमा सहयोगी सावित भएको छ,’ उनले भने, ‘क्लिनिकबाट ग्रामीण विपन्न परिवारका महिलाले बढी लाभ लिएका छन् ।’

औषधिसहित निःशूल्क उपचार सेवा दिने भएकाले लुकाएर राखेको रोग जँचाउन आउने क्रम पनि बढेको उनको भनाइ छ । उनका अनुसार साउनमा मात्रै उपमहानगरले १९ वटै वडामा सञ्चालन गरेको क्लिनिक सेवाबाट ३ हजार ३६ महिला र १ हजार ३३ पुरुषले सेवा पाएका छन् । क्लिनिक कार्यक्रममा सहयोगी सस्थांहरूबाट ५ लाख ३९ हजार र उपमहानगरको स्वास्थ्य शाखाले करिब ५० हजार बराबरको औषधिसमेत बिरामीलाई निःशूल्क दिइएको छ ।

क्लिनिकमा पुग्ने बिरामीमध्ये मुटुरोग, ग्याष्ट्रिक, हाडजोर्नी, उच्च रक्तचाप, भाइरल ज्वरो, चिनीरोग, दम, कान र घाँटीसम्बन्धी समस्या र महिलाहरूमा तल्लोपेट दुख्ने र पाठेघरको समस्या बढी देखिएको उनले जानकारी दिए । क्लिनिकमा, रगत, पिसाब, दिसा जाँच, ईसीजी, भिडियो एक्सरे जाँचसमेत निःशूल्क उपलब्ध गराइएको छ । ‘एउटा बिरामी रेफर गर्ने अवस्थामा पुग्दा पनि अस्पताल किन पुग्न नसकेको हो त?,’ उपमहानगर प्रमुख गोपाल हमालले भने, ‘आर्थिक अभाव प्रमुख कारण थियो । त्यसैले नगरको स्वास्थ्य समस्याको समाधानमा वडा स्वास्थ्य क्लिनिक सेवाले महत्वपूर्ण योगदान दिन्छ जस्तो लागेर सञ्चालनमा ल्याइएको हो ।’

उनले क्लिनिक सञ्चालनबाट नगरवासीमा के–कस्तो स्वास्थ्य समस्या छ भन्ने बारे पनि थाहा भएको बताए । ‘नाक, कान, घाँटी, हाडजोर्नी, आँखासम्बन्धी विशेषज्ञ चिकित्सक क्लिनिक सेवामा छैनन्,’ उनले भने, ‘यसका लागि विभिन्न स्वास्थ्य संस्था र सम्बन्धित निकायसंँग समन्वय गरी २/३ महिनामा शिबिर सञ्चालन गर्ने तयारीमा छौं ।

उपमहानगरको नीति तथा कार्यक्रममा प्राथमिक योजनाका रुपमा समेट्दै क्लिनिक सेवालाई चालु आर्थिक बर्षको पहिलो दिनमा शुभारम्भ गरिएको थियो । मुख्यमन्त्री त्रिलोचन भट्टले गत साउन १ मा वडा–१६ बाट क्लिनिकको सेवाको उद्घाटन गरेका थिए । उपमहानगर प्रमुख हमालले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक साझेदारी योजनाको रुपमा सञ्चालनमा ल्याएको बताएका छन् । उनले आफनो कार्यकालको ५ वर्ष निरन्तर क्लिनिक सञ्चालनमा रहने पनि स्पष्ट पारेका छन् ।

वडा क्लिनिकमा २ जना फिजिसियन र स्त्रीरोग विशेषज्ञको व्यवस्था गरिएको छ । चिकित्सकको मासिक पारिश्रमिक भाटभाटेनी सुपर मार्केटले ५ वर्षसम्मका लागि व्यहोर्ने सम्झौता गरेको छ । प्रदेशको समाजिक बिकास मन्त्रालयले २५ लाख बराबरको उपकरण उपलब्ध गराएको छ ।

प्रकाशित : भाद्र ६, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?